केपीले भन्नुभयो– सम्झाउनोस् त्यसलाई

केपीले भन्नुभयो– सम्झाउनोस् त्यसलाई

केपी ओलीले भन्नुभयो, ‘त्यसको कुनै काम छैन । चाहिने–नचाहिने कुरामा बाठो भएर हुन्छ ?’ २ हप्ताअगाडि नेपालगञ्जमा राप्रपा महामन्त्री तथा त्यहाँका मेयर धवलसमशेर राणासँग भेट हुँदा एमाले अध्यक्ष ओलीले राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनबारे यस्तो टिप्पणी गर्नुभएको हो ।

‘झापाबाट मैले जिताएर ल्याएँ । अहिले मैँसँग जोरी लागेर के पाउँछु भन्ने सोचेको होला ?’ ओलीले भन्नुभयो, ‘सम्झाउनुस् त्यसलाई, केही बिग्रिएको छैन, फेरि पनि मिलेर जाउँला !’ धवलले व्यक्तिगत रूपमा एमालेसँग मिलेर जाने कुरामा आफ्नो सहमति भए पनि सिंगो पार्टीको लाइनबारे अहिल्यै केही बोल्न नसक्ने जवाफ दिए ।

उता, पार्टी फुटाएका कमल थापासँग भने चुनावी तालमेलका लागि केपी ओलीको सहमति भइसकेको छ, एमालेकै चुनाव चिह्नमा जाने गरी ।

०७४ मा हृदयेश त्रिपाठी र बृजेशकुमार गुप्ताहरूलेझैँ यसचोटि कमल थापा त्यो अभ्यासमा जाने निश्चित भएको स्रोत बताउँछ । अनुमान छ– यदि यस्तै भयो भने अहिले लिङ्देन नेतृत्वको राप्रपामा रहेका थुप्रै नेताको ओइरो कमल थापातिर लाग्नसक्छ ।

लिङ्देन नेतृत्वको राप्रपामा कमल थापाका मान्छे भरिभराऊ छन् । बुद्धिमान तामाङ, विक्रम पाण्डे, धु्रवबहादुर प्रधान, कुन्तिकुमारी शाहीसहित राप्रपाको मूलधारमा कमल थापापक्षीय नेताहरूकै वर्चस्व छ । त्यसमाथि लिङ्देनले उनै कमलका मान्छेहरू बोक्नाले उनका खास मान्छेहरू अहिले बिच्किएका छन् ।

दिलविकास राजभण्डारी, काठमाडौंका पूर्वमेयर राजाराम श्रेष्ठसहित लिङ्देनको भित्रिया भनिएका नै उनीसँग बेखुश छन् । कमलका मान्छे च्यापेर मात्रै हैन, ओलीले करिश्मा र कोमललाई दायाँबायाँ राखेझैं रेखा थापालाई चाहिनेभन्दा बढी उचालेको देखेर पनि बूढाखाडाहरू रुष्ट छन् ।

भनिन्छ, केपीले यसचोटिको चुनावमा सकभर दुबै राप्रपालाई प्रयोग गर्छन्, त्यसमध्ये बढीचाहिँ कमल थापासँग मिल्ने अवस्था छ । ओलीले कमलका दाइ नेत्रबहादुरलाई दुई–दुईपटक राष्ट्रपतिको सुरक्षा सल्लाहकार बनाउनु यो कुरालाई पुष्टि गर्ने एउटा आधार हो । लिङ्देन पक्षले पनि केही–केही ठाउँमा एमालेसँग तालमेल गर्ने सम्भावना देखिन्छ ।

केपी र कमलबीच कुरा मिल्नुको आधार हो, पूर्वराजा ज्ञानेन्द्रप्रतिको धारणामा समानता । यी दुबैले सकेसम्म ज्ञानेन्द्रको साथ–सहयोग खोजे, तर ज्ञानेन्द्रका कुरालाई ध्यान नदिने, आफ्नैमात्रै चिन्ता गर्ने हुँदा उनीहरू टाढिएको राप्रपाका नेताहरू बताउँछन् ।

अहिले धवलसमशेर कता–कता धर्मराई रहेका छन् । ज्ञानेन्द्रपक्षीय राप्रपा नेताहरूले भन्न थालेका छन्, ‘धन्न धवललाई अध्यक्ष बनाइएनछ, नत्र बर्बाद हुने रहेछ !’

टिप्पणीहरू