जात्रामय भक्तपुर, आज थिमिमा सिन्दुरे जात्रा

जात्रामय भक्तपुर, आज थिमिमा सिन्दुरे जात्रा

विस्का अर्थात् विस्केट जात्राको छैठौं दिन आज मध्यपुर थिमिमा सिन्दुर जात्रा मनाइएको छ । पहिले ३२ वटा खटसहितको सिन्दुर जात्रा मनाइन्थ्यो । तर केही वर्षयता खटको संख्यामा कमी हुँदै आएको छ ।

देवतालाई खटमा राखी धिमेबाजाका साथ चिराग बालेर यो जात्रा मनाइने परम्परा छ । जात्रा थिमिका प्रत्येक चोक, चौबाटो र नगरपरिक्रमा गदै घरको झ्याल, कौसी र छतबाट अबिर छर्ने, फूल बर्साएर स्वागत गर्ने प्रचलन छ ।

जात्रामा कायाबाजा, भुस्याबाजा, धिमेबाजा बजाएर देवताका खटलाई हर्षोल्लासका साथ एकापसमा सिन्दुर दलेर नगर परिक्रमा गर्ने परम्परा छ ।

सिद्धिकालीको खट ल्याएर आफ्ना गणहरूसहित बालकुमारी प्रवेश गराएपछि यो जात्रा सुरु हुन्छ । जात्रामा थिमिको बालकुमारी, दक्षिणबाराही, विष्णुवीर, सिद्धिकाली, नगदेशको सिद्धिगणेश, बोडेको महालक्ष्मी र टिगनीको नीलबाराही मन्दिरका देवताका नेतृत्वमा खट बोकेर टोलटोलमा सिन्दुर खेल्दै बाजागाजासहित सिन्दुर जात्रा मनाइने चलन छ ।

भक्तपुरमा साना बालबालिकादेखि वृद्धवृद्धासम्म सबैलाई जात्रा लागेको छ ।

टिप्पणीहरू