काँग्रेसको अलमलले गठबन्धनमा गडबड

काँग्रेसको अलमलले गठबन्धनमा गडबड

संघीयता कार्यान्वयनपछि स्थानीय पालिकाहरुको दोस्रो कार्यकालको निर्वाचन हुन अब एक महिना मात्र बाँकी छ । निर्वाचन आयोगले आचारसंहिता लागू गरिसकेको छ । तर प्रदेश १ मा अझै गठबन्धनमा आवद्ध दलहरुले उम्मेदवार तोक्न सकेका छैनन् । तालमेललाई कार्यान्वयन गराउने औपचारिक निर्णय पनि भएको छैन ।

दलहरुले आ-आफनो पकड भएका पालिकाहरुमा आफूखुशी दाबी गरिरहेका छन् । एमालेले राप्रपा र लोकतान्त्रिक समाजवादी पार्टीसँग गठबन्धन गरेर चुनाव लड्ने तयारी गरिरहेको छ । तर, सत्ताधारी पाँचदलीय गठबन्धनले भने अझै संयुक्त तालमेलको ठोस निर्णय दिन सकेका छैनन् । खासगरी सत्ताधारी दल काँग्रेसले आफ्नो पकड भएका पालिकाहरुमा एक्लै निर्वाचन लडेर जीत सुनिश्चित गराउने तर अल्पमतमा रहेका पालिकाहरुमा मात्र तालमेल गर्ने स्थानीय निर्णय गराइरहेको छ ।

पाँचदलीय गठबन्धनमा रहेका काँग्रेस बाहेक माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी र संयुक्त लोकतान्त्रिक मञ्चले भने काँग्रेसले केन्द्रको निर्णयलाई बेवास्ता गर्दै तालमेललाई कार्यान्यवन नगरे आफूहरु चारदलीय गठबन्धन गर्न बाध्य हुने चेतावनी दिइरहेका छन् । यद्यपि राजनीतिक गज्याङगुजुङ कायम रहेकाले अहिले नै गठबन्धनको अवस्था के होला भन्नसक्ने अवस्था प्रदेश नम्बर १ मा देखिँदैन । तर गठबन्धनबीच तालमेल नभएमा एमाले नै प्रदेश १ मा बलियो हुने अवस्था स्पष्ट देखिएको छ । काँग्रेसबाहेकका चार दलीय गठबन्धन भएमा सबैभन्दा धेरै क्षति नेपाली काँग्रेसलाई पुग्ने निश्चित छ ।

प्रदेश १ को जिल्लागत अवस्था यस्तो छ :

सोलुखुम्बु
हिमाली जिल्ला सोलुखुम्बुमा पाँचदलीय संयन्त्र निर्माण भए पनि औपचारिक तालमेल भइसकेको छैन । यहाँ काँग्रेसले पहिले एउटा नगरपालिका,माओवादी केन्द्रले तीन वटा गाउँपालिका,एमालेले चार गाउँपालिका जितेको थियो । त्यसैले माओवादी केन्द्रले सबै पालिकामा गठबन्धन हुनुपर्नेमा जोड दिइरहेको छ । तर काँग्रेसले भने आफूलाई पायक नपर्ने केही पालिकाहरुमा मात्र तालमेल हुनुपर्ने अडान लिइरहेकाले समस्या उत्पन्न भएको हो । १ नम्बर प्रदेशमा तालमेल भएमा एमाले कमजोर हुने अवस्था पनि प्रष्ट छ ।
ताप्लेजुङ
हिमाली जिल्ला ताप्लेजुङमा एक नगर र सात गाउँपालिका छन् । जसमा काँग्रेसले चार र एमालेले चार जितेको थियो । माओवादीले एक मात्र फुङलिङ नगरपालिकामा उपमेयर प्राप्त गरेको थियो । उक्त जिल्लामा पनि अझै तालमेल भइसकेको छैन । गठबन्धनबीच तालमेल भएमा एमाले स्वतः कमजोर हुने स्थिति त्यहाँ पनि छ । तर नभएमा काँग्रेस र एमालेबीच मुख्य प्रतिस्पर्धा हुने देखिन्छ ।

ओखलढुङ्गा
पहाडी जिल्ला ओखलढुङ्गामा एउटा नगरपालिका र सात वटा गाउँपालिका छन् । तीमध्ये माओवादीले एउटा गाउँपालिका, काँग्रेसले चार वटा गाउँपालिका र एमालेले एउटा नगर र एउटा गाउँपालिका जितेका छन् । यहाँ पनि तालमेलको अन्तिम सहमति भएको छैन । गठबन्धन र तालमेल नभए एमाले बलियो देखिन्छ ।

पाँचथर
पहाडी जिल्ला पाँचथरमा एमालेले चार, माओवादीले एक र काँग्रेसले तीन गाउँपालिका जितेका छन् । तालमेल भयो भने यहाँ पनि एमाले पछाडि पर्ने देखिन्छ । तर एक्लै चुनाव लडेमा काँग्रेस र माओवादीले यसअघि पाएको समेत गुमाउने छ ।

इलाम
इलामका १० पालिकामध्ये एमालेले चार नगरपालिका र तीन गाउँपालिकाको नेतृत्व गरिरहेको छ । काँग्रेसले तीन वटा गाउँपालिकाको नेतृत्व गर्दैछ । माओवादीले कुनै पनि पालिकामा जीत सुनिश्चित गराउन पाएको थिएन । यहाँ पनि तालमेल भएमा मात्र एमालेलाई पराजित गराउन सकिने अवस्था देखिन्छ ।

सुनसरी
तराईको सुनसरीमा चार नगरपालिका र आठ गाउँपालिका छन् । यहाँ पहिले एमालेले बराहक्षेत्र नगरपालिका र इटहरी उपमहानगरपालिकामा मात्र जितेको थियो । बाँकी सबैमा काँग्रेसले जितेको हो । यहाँ पनि अहिलेसम्म तालमेलको अन्तिम सहमति भइसकेको छैन । तालमेल भएमा मात्र सुनसरीमा पनि गठबन्धनले अपेक्षाअनुसारको परिणाम ल्याउने छ । अन्यथा,एमाले नै अगाडि देखिएको हो ।

मोरङ
तराईको जिल्ला मोरङका एक महानगरपालिका, चार नगरपालिका र पाँच गाउँपालिकामा काँग्रेसले नेतृत्व लिएको थियो । एमालेले दुई नगरपालिका र दुई गाउँपालिका, जसपाले एउटा गाउँपालिका र माओवादीले एउटा नगरपालिका हात पारेको थियो । तर माओवादीबाट विजयी रंगेली नगरपालिकाका प्रमुख र उपप्रमुख दिलिप बगडिया एमाले प्रवेश गरेका छन् ।

यहाँ काँग्रेसले कतै पनि तालमेल नगर्ने आन्तरिक निर्णय गरेको छ । तर तालमेल नगरेमा काँग्रेसलाई पहिले झैं जीत सुनिश्चित गराउन हम्मे पर्नेछ । काँग्रेसले तत्कालीन विजय गच्छदारको फोरम लोकतान्त्रिक अलग्गै रहेको र एमाले पनि बलियो भएको अवस्थामा जीत सुनिश्चित गराउन सफल भएको थियो । त्यसैले अहिले झन् सबै पालिकामा जित सुनिश्चित हुने दाबी गरेको छ ।

तर मोरङमा काँग्रेसले तालमेल नगरेमा पाँच दलको गठबन्धनमा रहेका चार दल माओवादी,जसपा, नेकपा एकीकृत समाजवादी र संघीय लोकतान्त्रिक मञ्चले गठबन्धन गर्न बाध्य हुने बताइरहेका छन् । यसो भएमा काँग्रेसलाई जीत सुनिश्चित गराउन सहज हुने छैन । अझै उम्मेदवारी छनौटमा गुटगत कार्यबाट काँग्रेसमा अन्तर्घात भएका प्रशस्त उदाहरण छन् ।

उदयपुर
तराई र पहाडी जिल्ला उदयपुरमा चार वटा नगरपालिका र चार वटा गाउँपालिकामध्ये तीन वटा नगरपालिका र एउटा गाउँपालिका एमालेले,एउटा माओवादीले र बाँकी काँग्रेसले जितेको हो । तर एमालेबाट जितेका सदरमुकामस्थित त्रियुगा नगरपालिकाका अध्यक्ष नेकपा एकीकृत समाजवादीमा गइसकेका छन् । यहाँ पनि तालमेल भइसकेको छैन । तालमेल नभएमा एमाले बलियो रहेको बताइन्छ ।

झापा
तराईको जिल्ला झापामा काँग्रेसले पाँच,एमालेले छ र राप्रपाले तीन पालिका जितेका थिए । यहाँ पनि हालसम्म तालमेलको कुनै सुरसार छैन । गठबन्धनमा रहेका दलहरुबीच आफनो दाबी चलिरहेको छ । गठबन्धनबीच तालमेल नभएमा राप्रपासँग तालमेल गरेर एमाले झन् बलियो हुनसक्ने देखिँदैछ । तर गठबन्धनमा आवद्ध दलहरुले पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीको गृह जिल्ला झापामा पनि हालसम्म तालमेलको कुनै सुरसार छैन । गठबन्धनमा रहेका दलहरुबीच आफ्नो दाबी चलिरहेको छ । गठबन्धनबीच तालमेल नभएमा राप्रपासँग तालमेल गरेर एमाले झन् बलियो हुनसक्ने देखिँदैछ । तर गठबन्धनमा आवद्ध दलहरुले पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीको गृहनगर दमकमा राप्रपालाई समेत गठबन्धनमा सामेल गराउने प्रयत्न गरिरहेको बताइन्छ ।

धनकुटा
पहाडी जिल्ला धनकुटाम तीन नगर र चार गाउँपालिका सबै एमालेले जितेको थियो । यहाँ पनि अझै तालमेलको कुनै सुरसार भएको छैन । तालमेल नभएमा एमाले कमजोर हुने पक्का छ । तर, एक्लाएक्लै चुनावमा प्रतिस्पर्धा गरेमा परिणाम अहिले पनि एमालेकै पोल्टामा जानसक्ने अड्कल लगाइएको हो ।

तेह्रथुम
पहाडी जिल्ला तेह्रथुममा काँग्रेसले एउटा नगरपालिका मात्र जितेको छ । बाँकी एउटा नगर र चार वटा गाउँपालिका एमालेले नै जितेको थियो । एमालेबाट विजयी आठराई गाउँपालिका नेकपा एकीकृत समाजवादीको पकडमा भए पनि अन्य पालिकामा अझै एमालेको दह्रो उपस्थिति छ । यहाँ माओवादीको अवस्था निकै कमजोर देखिन्छ । गठबन्धनबीच तालमेल भएमा एमालेलाई जीत सुनिश्चित गराउन हम्मे पर्ने पक्का छ ।

संखुवासभा
पहाडी र हिमाली जिल्ला शंखुवासभामा १० पालिकामध्ये पाँच एमाले र पाँच काँग्रेसले जितेको थियो । यहाँ पनि तालमेलको कुनै सुरसार गरिएको छैन । खाँदबारी नगरपालिकाका उपप्रमुखलगायत जनप्रतिनिधिहरु नेकपा एकीकृत समाजवादीमा गएका छन् । तालमेल भएमा यहाँ पनि एमाले स्वतः कमजोर हुने अवस्था छ । अन्यथा, चुनावमा काँग्रेस र एमालेकै प्रतिस्पर्धा हुने छ ।

भोजपुर
पहाडी यो जिल्लामा एमालेले चार, काँग्रेसले दुर्य र माओवादीले एउटा पालिकाम जीत सुनिश्चित गराएका थिए । यहाँ पनि गठबन्धनबीच तालमेलको कुनै निर्णय भएको छैन । गठबन्धन नभएमा अन्यत्रझैँ भोजपुरमा पनि काँग्रेस र एमालेको चर्को प्रतिस्पर्धा हुनेछ ।

खोटाङ
खोटाङमा दुई वटा नगर र आठ गाउँपालिकामध्ये एमाले पाँच, काँग्रेसले चार र माओवादीले एउटा पालिका जितेका थिए । यहाँ पनि अहिलेसम्म तालमेल भएको छैन तर चर्चा भने भएको छ । गठबन्धन नभए यहाँ पनि एमाले र काँग्रेसकै प्रतिस्पर्धा हुनेछ ।

प्रदेश १ मा ३३ लाख ४७ हजार ३ सय ८४जना मतदाता

आगामी निर्वाचनका लागि प्रदेश १ मा १८ वर्ष पूरा भएका ३३ लाख ४७ हजार ३ सय ८४ जना कुल मतदाता छन् । जसमा पुरुष १६ लाख ९९ हजार ८ सय र महिला १६ लाख ४७ हजार ५ सय ६१ जना छन् ।

मतदाता सबैभन्दा बढी मोरङमा र सबैभन्दा कम तेह्रथुममा

प्रदेश १ मा सबैभन्दा बढी मोरङमा ७ लाख १५ हजार २ सय २३ जना मतदाता छन् । सबैभन्दा कम तेह्रथुममा ७२ हजार ८ सय ९५ मतदाता छन् । पहाडी जिल्ला सोलुखुम्बुमा ८० हजार १९ जना, ताप्लेजुङमा ८९ हजार ६ सय ८० जना, खोटाङमा १ लाख ४३ हजार ७ सय ५२ जना मतदाता छन् ।

त्यसैगरी संखुवासभामा १ लाख १७ हजार ७ सय ३१, भोजपुरमा १ लाख २५ हजार ९ सय २६ र धनकुटामा १ लाख १५ हजार ९ सय ६४ जना, खोटाङमा १ लाख ४३ हजार ७ सय ५२ जना, पाँचथरमा १ लाख ४० हजार २ सय २४ र इलाममा २ लाख २४ हजार ७ सय ४८ जना मतदाता छन् । प्रदेश १ को तराइका जिल्लाहरु सुनसरीमा ५ लाख ३४ हजार ७ सय ६५, झापामा ६ लाख ४६ हजार २ सय ३४ जना मतदाता छन् ।

टिप्पणीहरू