पाकिस्तानको सर्वोच्च अदालतले आज निर्णय सुनाउने

पाकिस्तानको सर्वोच्च अदालतले आज निर्णय सुनाउने

पाकिस्तानको सर्वोच्च अदालतले प्रधानमन्त्री इमरान खानले गर्नुभएको संसद विघटनको सिफारिस र राष्ट्रपतिले गर्नुभएको अनुमोदनविरुध्द जारी बहस सकाएर आज निर्णय सुनाउने सम्भावना बढेको छ । हिजो हुने भनिएको उक्त निर्णय र आदेश आजसम्मको लागि सारिएको थियो ।

प्रधानमन्त्री खानले आगामी ९० दिनभित्र चुनाव गराउने भन्दै गरेको संसद विघटनविरुध्द विपक्षी दलहरुले संसदमा पेश भएको अविश्वासको प्रस्तावमाथि छलफल नगरी संसद विघटन गर्नु गैरसंवैधानिक भन्दै आपत्ति जनाएका थिए । उता,राष्ट्रपतिले गए राति १२ बजेसम्म विपक्षी दल र तिनका नेतालाई प्रधानमन्त्री खानको विकल्पमा नयाँ प्रधानमन्त्रीको निम्ति सर्वसम्मत उम्मेदवारको नाम सिफारिस गर्न समयसीमा दिएका थिए ।

पाँच सदस्यीय संवैधानिक इजलासले संसदका उपसभामुखले अविश्वास प्रस्तावमाथि छलफल नगराएर त्यसबीचमा संसद विघटन गराएको भन्ने विपक्षीहरुको आरोपलाई संवैधानिक हिसाबले व्याख्या गर्ने अनुमान गरिएको छ ।

हिजोको बहसमा राष्ट्रपति आरिफ अल्भीको तर्फबाट सहभागी वकिल अलि जाफरले विपक्षीहरुले विदेशीको उक्साहटमा मुद्दा दायर गरेको जिकीर गरेका थिए ।

टिप्पणीहरू