कोलम्बसको कान्छी औंला-सफल हुन चाहनु हुन्छ भने रगड्नुस्

कोलम्बसको कान्छी औंला-सफल हुन चाहनु हुन्छ भने रगड्नुस्

मानिसहरु धेरै किसिमको किम्बदन्तीमा विश्वास गर्दछन् । विभिन्न ठाउँको मूर्ति,मन्दिर तथा सम्पदाहरुमा यस्तो आस्था झल्किएको पाइन्छ । पुरानो काष्ठमण्डपभित्र एउटा स्तम्भ छ,जहाँ आफ्नो ढाड रगडियो भने सोसम्बन्धी कुनै पनि समस्याबाट मुक्त होइने ठानिन्छ । त्यस्तै,साँखूको बज्रयोगिनी जाने बाटोमा पर्ने एउटा कुटी र त्यहाँ रहेको सानो प्वालबाट छिर्न सक्ने जति धर्मात्मा हुन्छन् भन्ने जनविश्वास छ भने स्वयम्भू पछाडिको प्रवेशद्वारमा रहेको पानीपोखरीवीचमा अवस्थित बुद्ध मूर्तिमा मुद्रा फ्याँक्ने होडबाजी भैरहन्छ । र,भनिन्छ यदि पैसा माथि नै अड्कियो भने भाग्योदय हुन्छ।

“यो मूर्ति हेर्दा भित्तामा टाँसिएको झैं देखिन्छ तर सो को कान्छी औंला बाहिरपट्टि निस्केको छ भने औंलाको रंग हरेक बाटो हिंड्ने मान्छेले रगड्दा खुइलिएर फिक्का भएको छ । “

हो,यस्तै किसिमको किम्बदन्ती इटालीको ट्यूरिन शहरस्थित मध्यभाग पियाजा कास्टेलोमा तामाबाट बनेको विश्वप्रसिद्ध अन्वेषक क्रिस्टोफर कोलम्बसको सानो मूर्ति सम्बन्धमा पनि छ। यो मूर्ति हेर्दा भित्तामा टाँसिएको झैं देखिन्छ तर सो को कान्छी औंला बाहिरपट्टि निस्केको छ भने औंलाको रंग हरेक बाटो हिंड्ने मान्छेले रगड्दा खुइलिएर फिक्का भएको छ।

यो मूर्तिको कान्छी औंलामा आफ्नो औंला रगड़ेमा परीक्षामा उत्तीर्ण होइन्छ भन्ने विश्वास विद्यार्थीहरुमा छ भने धेरैजसो आगन्तुकचाहिँ भाग्य बलियो हुन्छ वा सफलता प्राप्त हुन्छ भन्ने कुरामा विश्वास गर्दछन् । केहि बर्षअगाडिको भ्रमणमा यो पंक्तिकारले पनि उक्त मूर्तिको कान्छी औंलामा औंला मिलाउने अवसर पाएको थियो।

टिप्पणीहरू