लुम्बिनीमा केपी ओली र कमल थापा आजदेखि सँगसँगै

लुम्बिनीमा केपी ओली र कमल थापा आजदेखि सँगसँगै

दुई तिहाइ बहुमतको सरकारबाट हटेपछि संगठन विस्तारमा लाग्नुभएका नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आज भैरहवा र तौलिहवामा अन्य दलका केही नेता तथा कार्यकर्तालाई पार्टी प्रवेश गराउँदै हुनुहुन्छ । पछिल्लो निर्वाचनमा सूर्य चिन्ह लिएर उठेका सांसद बृजेशकुमार गुप्ताको नेतृत्वमा मधेशवादी दल र नेपाली काँग्रेसका नेताहरु एमाले प्रवेश गर्न लागेको बताइएको छ ।

यता सँगैको रुपन्देहीमा आगामी निर्वाचनलाई ध्यानमा राखेर राजनीतिक जोडघटाउको काम थालिएको छ । सत्तारुढ गठबन्धन एक ढिक्का हुने देखिएपछि विशेषगरी लुम्बिनी प्रदेश र रुपन्देही जिल्लामा एमाले र राप्रपा मिलेर दिपक बोहोरालाई अघि सार्न खोजिएको हो । बोहोरालाई गृहमन्त्री तथा नेपाली काँग्रेसका नेता बालकृष्ण खाँणसँग भिडाएर जिताउने भनिएको छ ।

उता एमालेमा रहेका घनश्याम भुसाललाई पनि भित्रभित्रै हराउने रणनीति बनाइएको छ । एमाले उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णु पौडेलसमेत उक्त रणनीतिमा पहिलेदेखि सहमत रहनुभएको एमाले स्रोतले बताएको छ ।

त्यहाँका १६ वटा पालिकामध्ये आगामी निर्वाचनलाई ध्यानमा राखेर स्थानीय तहमा पनि बाँडफाँडको गृहकार्य थालिएको छ । राप्रपाले २०७४ सालको चुनावमा अन्तिम क्षणमा आएर एमालेसँग तालमेल गर्ने प्रस्ताव राखेको थियो । एमाले नेता घनश्यामले भैरहवा क्षेत्र नछाडेका कारण उक्त प्रस्ताव तुहिएको हो ।

“भैरहवामा राप्रपाका दिपक बोहोरालाई एमालेले सघाउने र गृहमन्त्री खाँणलाई हराउने भनिएको हो ।”

भैरहवाका वर्तमान मेयर हरि अधिकारीलाई भुसाल निकट भनिएकाले आगामी निर्वाचनमा टिकट नदिने पक्का छ । अर्कोतर्फ राप्रपासँग तालमेल गर्ने भएकाले पनि भैरहवा एमालेले नपाउने राप्रपा स्रोत बताउँछ । त्यहाँ पूर्व मेयर सागर राणालाई दिनेगरी कुरो अघि बढेको हो ।

राणा पञ्चायतकालमा भैरहवा नगरपञ्चायतका मेयर हुन् । यसरी तालमेल गर्दा लुम्बिनीका बुटवल, तिलोत्तमा र सैनामैना नगरपालिका एमालेले लिने छ । बुटवलमा पार्टीको जिल्ला अध्यक्ष तेजेन्द्र केसी, तिलोत्तमामा वासु घिमिरे र सैनामैनामा चित्र कार्कीको चर्चा चलाइएको छ ।

आगामी संसदीय निर्वाचनमा एमाले उपाध्यक्ष पौडेललाई जिताउन राप्रपाले बुटवलमा सघाउने पनि कन्फर्म देखिएको छ । त्यसको सट्टा भैरहवामा राप्रपाका दिपक बोहोरालाई एमालेले सघाउने र गृहमन्त्री खाँणलाई हराउने भनिएको हो । लुम्बिनीको निर्वाचन क्षेत्र नम्बर १ मा एमालेका छविलाल विश्वकर्मालाई उठाइने पक्कापक्की छ ।

पहिले पनि यहि रणनीति बनाइएको थियो । तर अन्तिम समयमा कुरो नमिलेकाले तालमेल हुन सकेको थिएन । अघिल्लो पटकको संविधान सभा निर्वाचनमा बालकृष्ण खाँणसँग एमाले नेता भुसाल ८४ मतले पराजित भएका थिए ।

पछि खाँण नेपाली काँग्रेसको समानुपातिक सांसद बनेका हुन् । अहिले राप्रपाका हस्तिहरु निरञ्जन थापा र बोहोराको टोली भैरहवामा केन्द्रित भएको छ । पञ्चायतकालका गृह राज्यमन्त्री रहेका थापासँगै आजदेखि कमल थापा पनि भैरहवा पुग्दैछन् । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन पनि आजभोलिमा भैरहवा पुग्ने कार्यक्रम रहेको स्रोतले बताएको छ ।

टिप्पणीहरू