सम्भव होला त चुनाव सर्न ?

सम्भव होला त चुनाव सर्न ?

स्थानीय चुनावताका गठबन्धनमा देखिन सक्ने तिक्तता र एकअर्काप्रति गरिने गालीगलौजका कारण प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनमा असर पुग्ने आशंकाको कारण प्रधानमन्त्री शेरबहादुर देउवाले कतै केही निहुँ पारेर स्थानीय चुनाव सार्ने तहैन ? यस्तो आशंका जिउँदै छ ।

वैशाख ३० गते हुने भनिएको निर्वाचनमा गठबन्धनका दलहरूबीच उम्मेदवारीमा तालमेल कठिन हुने, भैहाले पनि कांग्रेसका कार्यकर्ताले ‘रूखलाई नभए पनि चारतारे अर्थात् कनुै बागीलाई भोट हाल्ने’ कुरा गरेपछि गठबन्धनको टिकाउपनमा टिप्पणी उठ्न थालेको स्रोतले जनाएको छ ।

त्यसैगरी, कम्युनिष्टका कार्यकर्ताले ‘सकेसम्म आफैंलाई भोट हाल्ने, नभए घरमै बस्ने गरे’ भने एमालेलाई त फाइदा हुन्छ नै यसले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको बेला गठबन्धन तोडिने खतरा पनि रहन्छ । यो खतरा मोल्न प्रधानमन्त्री तथा कांग्रेस अध्यक्ष शेरबहादुर देउवा तयार नरहेको स्रोतको दाबी छ । अन्य दल पनि सकेसम्म गठबन्धन तोड्न तयार नभएको बताइन्छ ।

कांग्रेसका केही नेताले कम्युनिष्ट पार्टी फुटेको अवस्थालाई उपयुक्त अवसर ठान्दै गठबन्धन तोडेर एक्लै चुनाव लड्ने जिकिर गरे पनि धरातल भने त्यस अनुरुप पार्टीभित्र बनि नसकेको देखिन्छ ।

एमाले सत्तामा हुँदा बाँडिएका वचन, सम्बृद्धिका नाममा भ्युटावर र सभासम्मेलन केन्द्र निर्माणतिरको एकोहोरो खर्च, जनताका सुखसुविधाप्रतिको बेवास्ता, उदाएका नवधनाढ्य र नीतिगत भ्रष्टाचारबाट आर्जित अकुत रकमका कारण चुनावमा जति पनि खर्च गर्न सक्ने अवस्था छ । यसको हकमा भने गठबन्धन कमजोर देखिएको छ ।

तुलनात्मक रूपले गाउँघरमा देखिएका एमालेका कार्यकर्ताले मतदातालाई फेरि सम्मोहित गर्न सक्ने स्थिति पनि उत्तिकै प्रबल छ । तल्लो तहमा रहेका एमाले जनप्रतिनिधिले प्रयोग गर्ने स्रोत–साधनले पनि चुनावमा निकै ठूलो असर पार्न सक्ने विश्लेषण गरिएको छ । त्यसैले पनि स्थानीय तहभन्दा अघि प्रतिनिधि सभा र प्रदेश सभाको चुनाव गर्नुपर्ने प्रधानमन्त्री देउवा निकटले निश्कर्ष निकालेको बताइन्छ ।

यसैगरी, एमसीसी पारित गर्न कांग्रेसले एमाले जस्तै खेलेको भूमिकाका कारण माओवादी केन्द्र र एसका कार्यकर्ता रुष्ठ देखिन्छन् । एमालेलाई भोट हाल्न नसक्ने र कांग्रेसको रूख छापमा पनि छाप हान्न हात नउठ्ने भन्दै त्यस्ता कार्यकर्ता नो भोटको अवस्थामा घरमै बस्न सक्ने खतरा छ ।

अर्कोतर्फ कुनै बेला वामपन्थी एक जुट हुन सक्ने खतरा देखेका प्रधानमन्त्री देउवा एक्लै चुनाव लड्न हच्किएका हुन् । यो खतरालाई नबुझेका कांग्रेसका अन्य नेता भने ‘फुटको बेला लुट’ ठानेर एक्लै चुनाव लड्ने बताउन थालेका छन् । एमाले अध्यक्ष ओलीले व्यक्तिगत इगो त्याग्नेबित्तिकै वामपन्थी एकजुट भएर संघ र प्रदेशको चुनावी मैदानमा आउन सक्ने सम्भावना पनि छ ।

वामपन्थी पार्टीबीच तत्काल एकता हुन नसके पनि चुनावी मोर्चा बन्न सक्ने सम्भावना मरिसकेको छैन । यस्तो हुँदा कांग्रेसको ०७४ सालको निर्वाचनमा जस्तै दोस्रो स्थान आउन बेर लाग्दैन । त्यसैले पनि कांग्रेसको नेतृत्व गठबन्धनबारे संवेदनशील रहेको दाबी गरिएको छ ।

टिप्पणीहरू