हलो अड्काएर हेर्‍याहेर्‍यै

हलो अड्काएर हेर्‍याहेर्‍यै

निकाल्नुपर्ने मान्छेलाई मन्त्रीले नै अरु प्रक्रियामा हलो अड्काएर धाप मारिरहँदा देख्नेहरू अचम्मित हुने नै भए । पर्यटन बोर्डमा यस्तै भइरहेको छ ।

बोर्डका सिइओ धनञ्जय रेग्मीले विदेशबाट रक्सी ओसार्दा विमानस्थलस्थित अध्यागमन कर्मचारीमाथि दुव्र्यवहार गरेको, सुन तस्करी गरेको फौजदारी अभियोगमा सजायँ तोकिएकोजस्ता विवादास्पद विषय उठेपछि उनलाई कारवाही गर्ने तयारी भयो ।

त्यसका लागि एउटा समिति पनि बन्यो । तर, उनलाई सिइओबाट निकाल्नुपर्ने बोर्ड बैठक नै अस्तव्यस्त हुँदा न उनी निकालिए, उल्टै मन्त्रीले पो धाप मार्न थाले  पर्यटन बोर्डको सदस्य रहेका दुई जनाको कार्यकाल सकिएपछि त्यो ठाउँमा नियुक्त पनि गरिए ।

तर, शुरुमा मदन आचार्य गएनन्, नियुक्त भएका अर्का विवादास्पदलाई मन्त्रीले तत्कालै राजीनामा दिन लगाए । यसरी तीनजना मात्रै भएको बैठकमा कोरम पुगेन । यसपछि धनञ्जयलाई कारवाही गरिनुको सट्टा उनी निर्धक्क बोर्डमा हाजिर भएर काम गरिरहेका छन् । अर्को बैठकमा नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक पुगे । तर, उनी कर्मचारी न परे, यता न उता हुँदा फेरि रेग्मी जोगिएका छन् ।

भनिन्छ, नारायणहिटी र पशुपति धर्मशालाबाट बतास समूहलाई हटाएर वाहवाही कमाएका मन्त्री प्रेम आले धनञ्जयसँग तर्सिएका हैनन्, ढंग मिलाउन नजानेका हुन् ।

अर्कातिर, पर्यटक आगमनमा कमी भएपछि बोर्डको बजेटमा पनि कमी आएको छ । वार्षिक एक अर्ब बजेट हुने उक्त बोर्डले प्रति पर्यटक ११ सय रूपैयाँ उठाउने गरेको छ । त्यसबाहेक ट्रेकिङ जानेहरूले रुटअनुसार हजारदेखि २ हजारसम्म तिर्नुपर्छ, जुन रकम पर्यटन बोर्डको खातामा जान्छ ।

‘बा’ को बेमतलब

धनञ्जय रेग्मीका कारण पर्यटन बोर्डमा मौलाएको विसंगति उजागर गर्ने एमाले नेतामाथि स्वयं केपी ओलीबाट अन्याय भएको छ । बोर्ड उपाध्यक्षसमेत रहेका चन्द्र रिजालको संयोजकत्वमा गठित छानवीन समितिले रेग्मीबाट व्यापक आर्थिक अनियमितता भएको प्रतिवेदन बुझाएको थियो । उनैमाथि एमाले अध्यक्ष केपी ओलीको कुदृष्टि परेको हो ।

धनञ्जयले बोर्डको कार्यकारी समिति र बजेट तथा कार्यक्रमले डब्लुटिएमजस्ता अन्तर्राष्ट्रिय मेलाहरूमा सहभागी हुँदा कम्तीमा १० जना व्यवसायीको सहभागिता सुनिश्चितता गर्न दिएको निर्देशनमाथि अटेर गरेको कुरा रिजालले उजागर गरेका थिए । रेग्मीले आवश्यकता, औचित्य र प्रभावकारिता विश्लेषण नगरी डब्लुटिएममा ६ जना व्यवसायी मात्रै सहभागी गराए । त्यस्तो गर्दा एक करोडभन्दा बढी रकम फजुल खर्च भएको थियो ।

जियोग्राफिकल इन्फर्मेसन सिष्टम (जिआइएस) परियोजना कार्यान्वयन गर्दा आर्थिक अनियमितता गरेको अर्को आरोप धनञ्जयमाथि छ । बोर्डको कार्यकारी समितिबाट पारित बजेट तथा कार्यक्रमले गरेको व्यवस्थाअनुरूप कार्यसम्पादन नगरेको र तोकिएभन्दा कम काम गर्ने गरी त्रिभुवन विश्वविद्यालयसँग चार करोड ७३ लाख ४८ हजारमा सम्झौता गरेर बोर्डलाई आर्थिक नोक्सान पु¥याएको पनि रिजालको प्रतिवेदनमा उल्लेख थियो । रेग्मीले होटल, रेष्टुरेण्टतिर मोजमस्तीका बिल पनि कार्यालय प्रयोजनका नाममा स्वीकृत गराएका थिए ।

यिनै गोपनीयता उजागर गरेर बोर्डको साख जोगाउन पहल गर्ने रिजाललाई केपी ओलीले पार्टीको केन्द्रीय सदस्य बनाउन बचन दिएर पनि पत्रु बनाउनुभएको छ । जबकि, केन्द्रीय सदस्य बनाइएका कमला बोहोराहरूकै सामुन्ने ओलीले उनलाई आश्वासन दिनुभएको थियो । यस्तो हुनुका पछाडि सूर्य थापाको सकुनी चाल रहेको एमालेस्रोत बताउँछ । चन्द्र रिजाल पहिला सूर्य थापा निकट भनेरै चिनिन्थे ।

त्यसो त उनी राजनीतिक पृष्ठभूमिले सूर्यभन्दा सिनियर हुन् । सूर्य प्रचार विभागको सदस्य नहुँदा नै अखिलको नेता भइसकेका चन्द्र पछिल्लो समय सूर्य पर्यटन विभागको प्रमुख हुँदा सचिव थिए । तर, सूर्यका माग र चाहनाहरू पूरा गर्न नसकेपछि चन्द्रविरुद्ध सूर्य हात धोएर लागेको चर्चा एमालेमा छ । उनैले ओेलीको कान फुकेर पक्कापक्की भएको केन्द्रीय सदस्य चैट पारेको भनिन्छ । चन्द्र अहिले पेशागत प्रदेशको सचिव छन् । तर, उक्त जिम्मेवारीमा कुनै भूमिका निभाएका छैनन् ।

टिप्पणीहरू