काङ्ग्रेसले देशभर एमसिसी पढाउने

काङ्ग्रेसले देशभर एमसिसी पढाउने

सत्तारुढ दल नेपाली कांग्रेसले देशभरका जनतालाई अमेरिकी सहयोग परियोजना एमसीसी पढाउने भएको छ ।

हालै प्रतिनिधिसभाबाट अनुमोदित एमसीसीबारे जनतामा उठेका प्रश्न र संशयले आसन्न स्थानीय तह चुनावको परिणाम प्रभावित हुने आंकलन गरेको कांग्रेसले ‘एमसीसी अनुदान सहायता सम्झौता : भ्रम र यथार्थ’ नामक पुस्तिका प्रकाशित गरेर पढाउन लागेको हो ।

स्थानीय तह चुनावको पूर्वसन्ध्यामा एमसीसीलाई चुनावी अभियानमा जोडेर कांग्रेस केन्द्रीय कार्यालयले एक लाख पुस्तिका गाउँ-गाउँमा पठाएको छ । २२ पृष्ठको पुस्तिकामा एमसीसी एक अनुदान सहायता मात्रै भएको र नेपालका कम्युनिष्ट पार्टीहरुले राजनीतिकरण गरेको आरोप लगाइएको छ ।

पुस्तिकामा एमसीसीबारे दुई खण्डमा बिस्तृतमा ब्याख्या गरिएको छ । पहिलो खण्डमा ‘अन्तर्राष्ट्रिय सहयोग र एमसीसी’ शीर्षकमा एमसीसी सम्झौताको पृष्ठभूमि र यसको औचित्यबारे लेखिएको छ भने दोस्रो खण्डमा एमसीसी सम्झौतामा रहेका विवादित प्रावधानबारे प्रश्नसहित त्यसको जवाफ दिइएको छ ।

‘एमसीसी अनुदान सहायता सम्झौता : भ्रम र यथार्थ’ शीर्षक यो खण्डमा एमसीसीबारे आम रुपमा उठेका विषयलाई प्रश्नोत्तर शैलीमा प्रस्तुत गरिएको छ ।

कांग्रेस सुरुआतदेखि नै एमसीसीको पक्षमा थियो । उसकै अडानका कारण एमसीसी संसदबाट अनुमोदन भएको हो । तर,जनतामा भने अझै पनि एमसीसीप्रति सकारात्मक धारणा बनेको छैन । यसले पार्टीलाई स्थानीय चुनावमा क्षति पुग्नसक्ने अनुमान गरेर कांग्रेसले स्पष्टीकरणसहितको पुस्तक निकालेको हो ।

कांग्रेसले एमसीसीको विरोध गरेर जनतामा भ्रम फैलाउन खोजिएको भन्दै बारम्बार प्रतिवादसमेत गर्दै आएको छ ।

टिप्पणीहरू