आजै माधव नेपालको भविष्य फैसला गर्न अदालतद्वारा अस्वीकार,२० गते फेरि सुनुवाइ « Jana Aastha News Online
Logo
९ आश्विन २०७९, आईतवार
|  Sun Sep 25 2022
Logo
९ आश्विन २०७९, आईतवार
|  Sun Sep 25 2022

आजै माधव नेपालको भविष्य फैसला गर्न अदालतद्वारा अस्वीकार,२० गते फेरि सुनुवाइ

प्रकाशित मिति :  २९ फाल्गुन २०७८, आईतवार १६:४९


माधव नेपालसहित नेकपा (एकीकृत समाजवादी) का १४ जना सांसदको पद खाइदिने गरी एमाले अध्यक्ष केपी ओलीले सर्वोच्च अदालतमा दायर गरेको रिटको अन्तिम टुंगो आज पनि लागेन ।

पटक-पटक स्थगित हुँदै आएको मुध्दाको १२ औं पेशी आज न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र डा.कुमार चुडालको संयुक्त इजलासमा परेको थियो । आजै फैसला सुनाउने चर्चाका बीच रिटलाई पूर्ण सुनुवाइमा पठाउने आदेशले मुध्दाको अन्तिम किनारा पछि धकेलिएको हो ।

यसअघि ओलीको तर्फबाट बहस गरेका अधिवक्ता रमेश बडाल र बाबुराम दाहालले आजै निर्णय सुनाउनुपर्ने माग गरेका थिए । ओली प्रधानमन्त्री हुँदा महान्यायाधिवक्ता रहेका बडाल र कानुनी सल्लाहकार रहेका भुसालको आजै फैसला गराउने जोडबलका बाबजुद रिट पूर्ण इजलासमा गएको हो ।पक्ष र विपक्ष दुवैतर्फबाट लिखित जवाफ पेश भैसकेको र मुद्दाको अङ्ग पुगेकाले फैसला केन्द्रित सुनुवाइका लागि पेशी तोक्न पूर्ण सुनुवाईमा लैजान इजलासले आदेश गरेको हो ।

ओलीले नेपालसहित तत्कालीन एमालेका १४ जना सांसदमाथि कारवाहीको सूचना सभामुखले नटाँसेको र उनीहरुले सांसदकै हैसियतमा एकीकृत समाजवादी दल दर्ता गरेको भन्दै त्यसविरुध्द रिट हाल्नुभएको थियो ।

अन्तरिम आदेशमार्फत १४ भाइको पद खुस्काउन र एकीकृत समाजवादीलाई वैधानिकता नदिन माग गरिएको भएपनि सो अनुसारको आदेश दिन अदालतले नमानेको हो ।

अब पूर्ण सुनुवाइका लागि चैत २० गतेको मिति तोकिएको छ । विपक्षी (१४ भाइ) का तर्फबाट अधिवक्तात्रय रमण श्रेष्ठ,गोविन्द बन्दी र अमर राउतले बहस गरेका थिए ।


प्रतिक्रिया दिनुहोस !