एमसीसी अभियान लिएर कांग्रेस नेता पर्सिदेखि गाउँ पस्ने

एमसीसी अभियान लिएर कांग्रेस नेता पर्सिदेखि गाउँ पस्ने

सत्तारुढ दल नेपाली कांग्रेसले अमेरिकी सहयोग परियोजना एमसीसीबारे जनतालाई प्रशिक्षित गर्न केन्द्रीय सदस्यहरुलाई जिल्ला-जिल्लामा खटाउने भएको छ । एमसीसी र आफ्नोबारे फैलाइएका भ्रम चिर्न कांग्रेसले केन्द्रीय सदस्यलाई जिल्लामा खटाउने भएको हो ।

पार्टी कार्यालयमा बुधबार आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता डा. प्रकाशशरण महतले एमसीसी, गठबन्धन र कांग्रेसबारे फैलाइएको भ्रम चिर्न देशभर केन्द्रीय सदस्यलाई खटाउन लागेको जानकारी दिनुभयो । उहाँका अनुसार शुक्रबार ७७ जिल्लामा ७७ जना केन्द्रीय सदस्य पुग्ने र आइतबारबाट काम थाल्ने छन् ।

‘एमसीसी, गठबन्धन र कांग्रेसबारे फैलाइएको भ्रम चिर्न पर्सि ७७ जिल्लामा ७७ जना केन्द्रीय सदस्य जानुहुन्छ,’ महतले भन्नुभयो, ‘२९ फागुनबाट उहाँहरूले औपचारिक रूपमा काम गर्नुहुन्छ ।’ अभियान एक महिनासम्म जारी रहने उहाँले जानकारी दिनुभयो । पालिका, वडा र टोलमा संगठन गर्ने र भ्रम चिर्ने गरी काम गर्न नेताहरूलाई आग्रह गरिएको महतको भनाइ छ ।

आउँँदो ३० वैशाखमा हुन लागेको स्थानीय तहको निर्वाचनका लागि तयारीमा जुटेको कांग्रेसले चुनावी घोषणापत्र पनि बनाउने बताइएको छ । सत्तारुढ गठबन्धन स्थानीय तहको निर्वाचनसम्म रहने बताउनुभएका प्रवक्ता डा. महतले त्यसबारे टुंगोमा पुग्न भने बाँकी रहेको जानकारी दिनुभयो । कांग्रेसले ‘घरघरमा जाऔँ, कांग्रेस जिताऔँ’ अभियानका साथ चुनावी तयारी शुरु गरेको हो ।

टिप्पणीहरू