सम्भावित क्षतिबाट मुलुकलाई जोगाइएको नेकपा एकीकृत समाजवादीको निचोड

सम्भावित क्षतिबाट मुलुकलाई जोगाइएको नेकपा एकीकृत समाजवादीको निचोड

नेकपा एकीकृत समाजवादीले एमसीसी सम्झौतालाई संसदबाट अनुमोदन गर्ने विषयमा पार्टीले सुझबुझपूर्ण निर्णय गरेको निश्कर्ष निकालेको छ । हिजो सम्पन्न पार्टीको पोलिटब्युरो बैठकले यस्तो निश्कर्ष निकालेको हो ।

व्याख्यात्मक घोषणासहित एमसीसी पारित हुँदा पार्टीले उठाइरहेको सवाल राष्ट्रिय अडानको रुपमा परिणत भएकाले मुलुकमा हुनसक्ने सम्भावित क्षति रोकिएको महासचिव वेदुराम भुसालले जारी गरेको प्रेस नोटमा उल्लेख छ । एमसीसीलाई सफल अवतरण गराएर पार्टी र देशमा हुनसक्ने सम्भावित क्षति रोकिएको दाबी समाजवादीले गरेको छ ।

त्यसअघि बैठकमा राजनीतिक प्रतिवेदन पेश गर्दै अध्यक्ष माधवकुमार नेपालले एमसीसी सम्झौता संसदबाट अनुमोदन गर्दा पार्टीको अडान नछोडेको बरु देशको परिस्थितिलाई मध्यनजर गर्दै गठबन्धनलाई साझा निर्णयमा उभ्याउन सफल भएको बताउनुभएको थियो । ‘हाम्रो पार्टी न कसैसँग झुक्छ, न कुनै कुरामा बहकिन्छ, जहिले पनि देशको हितलाई केन्द्रबिन्दुमा राखेर काम गर्छ’, उहाँले भन्नुभएको थियो ।

गठबन्धन बनाउन र निरन्तरता दिन पार्टीले खेलेको भूमिकाबारे अध्यक्ष नेपालले चर्चासमेत गर्नुभएको थियो । पोलिटब्युरो बैठकमा अध्यक्ष नेपालले पार्टीको सम्पूर्ण शक्तिलाई पूर्ण उत्साहका साथ क्रियाशील हुन र आफूले प्राप्त गरेका उपलब्धिप्रति गौरव गर्न पनि आग्रह गर्नुभएको थियो । उहाँले सम्पूर्ण पार्टी पंक्तिलाई आसन्न स्थानीय तहको निर्वाचनमा परिचालित हुन आह्वान गर्नुभयो ।

भोलि र पर्सि बस्ने केन्द्रीय कमिटी बैठकमा पेश गर्ने राजनीतिक प्रतिवेदनमाथि हिजोको पोलिटब्युरो बैठकमा छलफल भएको बताइएको छ । नेपालले पेश गरेको राजनीतिक प्रतिवेदनमा ३७ जना सदस्यहरुले टिप्पणी गरेका थिए । प्रतिवेदनमाथि टिप्पणी गर्दै सदस्यहरूले संगठनलाई व्यवस्थित गर्न पार्टी तथा जनवर्गीय संगठन सबैलाई सक्रिय बनाउनुपर्नेमा जोड दिएको बैठकमा सहभागी एक नेताले बताएका छन् । एमसिसीबारे मतभेद भए पनि पार्टी निर्णयलाई आत्मसात् गर्दै अगाडि बढ्न सदस्यहरूले सुझाव दिएको उनले जानकारी दिए ।

बैठकमा अध्यक्ष नेपालले पार्टी पुनर्गठनदेखि हालसम्मका संगठनात्मक कार्यहरुको समीक्षा, वर्तमान राष्ट्रिय राजनीतिक परिस्थितिको विश्लेषण, आगामी निर्वाचन र आगामी कार्ययोजना समेटिएको राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । पोलिटब्युरो सदस्यहरुले दिएका सुझावको आधारमा अध्यक्ष नेपालले राजनीतिक प्रतिवेदन परिमार्जनसहित केन्द्रीय कमिटी बैठकमा पेश गर्ने कार्ययोजना छ ।

टिप्पणीहरू