सशस्त्र प्रहरीको परीक्षामा अनियमितता, परीक्षार्थीहरु निलम्बित

सशस्त्र प्रहरीको परीक्षामा अनियमितता, परीक्षार्थीहरु निलम्बित

सशस्त्र प्रहरी बलका प्रहरी जवानको निम्ति लिइएको लिखित परीक्षामा अनियमितता गरेको आरोपमा पाँच जना परीक्षार्थीलाई निलम्बन गरिएको छ । उत्तर पुस्तिकामा आफ्नो विवरण केरमेट गरेर अर्को परीक्षार्थीको विवरण राखेको र चिट चोरेको पाइएपछि ती परीक्षार्थीको लिखित परीक्षा रद्द गरिएको हो ।

लोकसेवा आयोगले लिएको उक्त परीक्षामा सहभागी उनीहरुलाई आगामी एक वर्षसम्म आयोगबाट सञ्चालन हुने परीक्षामा सहभागी हुन नदिने निर्णय भएको छ । रामेछापको उमाकुण्ड गाउँपालिकाका प्रकाश श्रेष्ठले उत्तर पुस्तिकामा आफ्नो विवरण केरमेट गरी अर्को परीक्षार्थीको विवरण लखेको पाइएको आयोगले जनाएको छ ।

त्यस्तै, सर्लाहीका रवि रञ्जनले चिट चोरेको पाइएको छ भने जाजरकोटका जयबहादुर बुढाले सिँगो पानाको चिट मूल उत्तर पुस्तिकामा स्टिच गर्न खोजेका थिए । सुर्खेतका भूपेन्द्र वलीले सुरुमा आफ्नो विवरण लेखेर परीक्षा दिएका थिए । तर, उत्तरपुस्तिका बुझाउँदा केरमेट गरेर गणेश वलीको नाम लेखेको पाइएको छ ।

सोही ठाउँका गणेश वलीले भने उत्तर पुस्तिका केरमेट गरेर भूपेन्द्र वलीको नाम लेखेर उत्तर पुस्तिका बुझाएको पाइएको छ । आयोगले गत पुस १७ गते सशस्त्र प्रहरी जवानको लिखित परीक्षा लिएको थियो ।

टिप्पणीहरू