काँग्रेसले गठबन्धनको झोले भनेपछि एमालेका सांसदको ताली परर्र

काँग्रेसले गठबन्धनको झोले भनेपछि एमालेका सांसदको ताली परर्र

प्रदेश १ को सत्ता गठबन्धनमा खटपट शुरु भएको छ । सरकारको नेतृत्व गरेको एकीकृत समाजवादी र साझेदार दल माओवादी केन्द्रले सत्ता सञ्चालनमा एकलौटी गरेको भन्दै नेपाली काँग्रेस असन्तुष्ट भएपछि गठबन्धनमा खटपट बढेको हो ।

प्रदेश १ मा एकीकृत समाजवादीको नेतृत्वमा काँग्रेस, माओवादी केन्द्र, जनता समाजवादी र संघीय लोकतान्त्रिक मञ्चको गठबन्धन सरकार छ । तर, पछिल्लो समय काँग्रेसका सांसदहरु बिच्किन थालेका छन् । फागुन १५ गते काँग्रेस संसदिय दलको बैठक बसेर गठबन्धन सरकारले जनताको पक्षमा प्रभावकारी काम गर्न नसकेको निश्कर्ष निकालेको थियो ।

मुख्यमन्त्री राजेन्द्रकुमार राई र आर्थिक मामिलामन्त्री ईन्द्रबहादुर आङ्बोले एकलौटी सरकार चलाएको आरोप काँग्रेसको छ । तर, गठबन्धन सरकारमा सबैभन्दा धेरै मन्त्री काँग्रेसकै छन् । काँग्रेस संसदीय दलका मुख्य सचेतक केदार कार्की आन्तरिक मामिला मन्त्री छन् भने हिमाल कार्की शहरी विकास तथा भौतिक मन्त्री छन् । शेखरचन्द्र थापा वन तथा जलाधार संरक्षण अनि ओमप्रकाश सरावागी भूमि मन्त्री छन् ।

सबैभन्दा बढि मन्त्री पाएर पनि भागबण्डामा असन्तुष्ट रहेको काँग्रेसका सांसदहरु अहिले सार्वजनिक रुपमै सरकारको विरोधमा बोल्न थालेका छन् । फागुन १६ गतेको प्रदेशसभाको बैठकको शून्य समयमा बोल्दै काँग्रेस सांसद ज्योति सुब्बाले काँग्रेस गठबन्धनको झोले बनेको भन्दै आक्रोश पोखेकी थिइन् । उनले आक्रोश पोख्दा मुख्य विपक्षी दल एमालेका सांसदहरुले परर्र ताली बजाउँदै रमाएका थिए ।

मंसिर १ गते स्थगित भएको प्रदेशसभाको हिउँदे अधिवेशनको बैठक साढे तीन महिनापछि फागुन १५ गतेदेखि सुरु भएको छ । तर, सरकारले बिजनेस दिन नसकेको र प्रदेश नामाकरणको प्रस्ताव पनि दर्ता नभएकोले यो अधिवेशन मुश्किलले फागुनभर मात्र चल्ने अवस्था छ ।

टिप्पणीहरू