एमसीसीले माओवादीमा रडाको, प्रचण्डको निर्णय नमान्ने चेतावनी

एमसीसीले माओवादीमा रडाको, प्रचण्डको निर्णय नमान्ने चेतावनी

विवादास्पद एमसीसी सम्झौता संसदबाट अनुमोदन गर्ने नेकपा माओवादी केन्द्रको निर्णयप्रति नेता-कार्यकर्ताले चर्को विरोध जनाएका छन् । यथास्थितिमा एमसीसी सम्झौता संसदमा टेबल गर्नै नदिने यसअघिको अडान विपरित आज बिहान पूर्वस्थायी कमिटी सदस्यहरुको बैठकले ब्याख्यात्मक घोषणासहित अनुमोदनको निर्णय गरेपछि असन्तुष्टि चर्किएको हो ।

पछिल्लो निर्णयलाई लिएर माओवादी केन्द्रका नेताहरुले महाधिवेशनको म्याण्डेटविपरित अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमसीसीमा घुँडा टेकेको भनी टिप्पणी गरेका छन् । माओवादी केन्द्रको हालै सम्पन्न आठौँ महाधिवेशनले ‘यथास्थितिमा एमसीसी सम्झौता पारित नगरियोस्’ भन्ने प्रस्ताव नै पारित गरेको थियो ।

त्यसयमा पनि माओवादीले औपचारिक रुपमै संशोधन बिना एमसीसी जबर्जस्ति पास गर्न खोजे प्रतिवाद गर्ने र सरकारबाट पनि बाहिरिने निर्णय गरेको थियो । त्यहि निर्णयका आधारमा कार्यकर्ता एमसीसीविरुध्द सडकमा समेत ओर्लिएका हुन् ।

‘एकातिर केन्द्रीय समितिकाे बैठक बसाल्दै नबसाल्ने, अर्कोतिर एमसीसीजस्ताे मुलुकलाई दीर्घकालीन असर पार्ने गम्भीर बिषयमा अध्यक्षले एकल निर्णय गर्दै पार्टीलाई कांग्रेस,एमालेजस्तै राष्ट्रघाती पार्टीको कित्तामा उभ्याउने ?’,

तर,आज बिहान बसेको बैठकले ब्याख्यात्मक घोषणासहित एमसीसी अनुमोदनको निर्णय गरेपछि नेता-कार्यकर्ता रुष्ट भएका हुन् । नेता नारायणकाजी श्रेष्ठले ब्याख्यात्मक घोषणासहित एमसीसी संसदबाट अनुमोदन गर्ने निर्णयप्रति गम्भिर असहमति जनाउनु भएको छ । ‘पाँचदलीय गठबन्धनमा अध्यक्ष प्रचण्डले ब्याख्यात्मक घोषणासहित एमसीसी सम्झौता अनुमोदन गर्ने जानकारी गराउनु भएको छ । यो निर्णयप्रति मेरो गम्भीर असहमति र आपत्ति रहेको छ,’उहाँको भनाइ छ ।

माओवादी केन्द्रले एमसीसी सम्झौताको केही बुँदा संशोधन गरेर मात्र अनुमोदन गर्ने अडान लिएको थियो । तर,प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसीको बिपक्षमा मतदान गरे गठबन्धन तोड्ने बताएपछि प्रचण्ड गलेको नेताहरुको बुझाइ छ । ‘आज बिहानको छलफलमा मलगायत केही कमरेडले मतभेद राखिसकेका छौं । यो महाधिवेशनको बिरुध्द छ र गलत छ,’ श्रेष्ठले भन्नुभएको छ ।

एमसीसी सम्झौताको दफा-दफामा बहस गर्दै आउनुभएका नेता लीलामणि पोखरेलले पनि व्याख्यात्मक टिप्पणीसहित एमसीसी अनुमोदन गर्ने पार्टीको निर्णयमा स्पष्ट असहमति प्रकट गर्नुभएको छ । उहाँले टिप्पणीसहितको सम्झौताको अर्थ नहुने पनि बताउनुभयो । एमसीसीमा टिप्पणीसहितको सम्झौता गर्ने भनिए पनि त्यो सिधै सम्झौता ठहर्ने नेता पोखरेलको भनाई छ ।

अर्का नेता लेखनाथ न्यौपानेले त आज बिहानको निर्णयको वैधानिकतामाथि नै प्रश्न उठाउनुभएको छ । महाधिवेशनबाट केन्द्रीय समिति र त्यसपछि अध्यक्षमात्रै निर्वाचित भएकाले अन्य कमिटीले गरेका निर्णयको वैधानिकता नहुने भन्दै उहाँले अस्वीकार गर्ने बताउनुभएको छ । यसअघि एक सञ्चारमाध्यमलाई अन्तर्वार्ता दिने क्रममा उहाँले माओवादी एमसीसीको पक्षमा नजाने प्रष्ट पार्दै कोही नेताले जवर्जस्ती निर्णय गरे जुत्ता हान्ने चेतावनी दिनुभएको थियो ।

पटक-पटक केन्द्रीय समितिकाे बैठक स्थगित गरेर मुलुकलाई दीर्घकालीन असर पर्ने निर्णयमा अध्यक्षले एकलौटी गरेको न्यौपानेको आरोप छ । ‘एकातिर केन्द्रीय समितिकाे बैठक बसाल्दै नबसाल्ने, अर्कोतिर एमसीसीजस्ताे मुलुकलाई दीर्घकालीन असर पार्ने गम्भीर बिषयमा अध्यक्षले एकल निर्णय गर्दै पार्टीलाई कांग्रेस,एमालेजस्तै राष्ट्रघाती पार्टीको कित्तामा उभ्याउने ?’, उहाँको प्रश्न छ, ‘यसकाे मारमा देश,जनता,पार्टी र पार्टीका कार्यकर्ता पर्नुपर्ने । हालकाे नेकपा माओवादी केन्द्रमा केन्द्रीय समितिकाे निर्णयबाहेक अरुले गर्ने निर्णय अधिकारिक हुँदैन । आज बिहान बसेकाे भनिएकाे बैठककाे कुनै बैधानिकता छैन ।’

महाधिवेशनमा प्रचण्डको प्रस्तावविरुध्द अलगै प्रस्ताव ल्याउनुभएका न्यौपाने माओवादीमा आलोचनात्मक चेत भएको युवा नेताका रुपमा चिनिनुहुन्छ । नेतृत्वका विषयमा समेत प्राय: खरो टिप्पणी गर्ने न्यौपानेले माओवादी पार्टी राष्ट्रघात गर्ने र एकाध व्यक्तिको निजी क्लबजस्तो नभएको बताउनुभएको छ

टिप्पणीहरू