श्रीमतीलाई जवर्जस्ती करणी गरेवापत अष्ट्रेलिया बस्ने नेपाली वकिल विमानस्थलबाट पक्राउ

श्रीमतीलाई जवर्जस्ती करणी गरेवापत अष्ट्रेलिया बस्ने नेपाली वकिल विमानस्थलबाट पक्राउ

अष्ट्रेलियामा बस्दै आएका एक जना कानुन व्यवसायीलाई नेपाल प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमनबाट पक्राउ गरेको छ । पक्राउलगत्तै प्रहरीको महिला सेल पुर्याइएका उनलाई बयानपछि जिल्ला अदालतमा मुद्दा दायर गरिएको र तीन दिन थुनिएपछि एक लाख रुपैयाँ धरौटीमा छुुटेको जिल्ला अदालत बबरमहलको प्रशासन श्रोतले बताएको छ ।

आफ्नै श्रीमतीलाई जबर्जस्ती गरेको अभियोगमा काठमाडौं विमानस्थल टेक्नासाथ समातिने वकिल खिलेन्द्रराज तिम्सिना हुन् । उनलाई दुई वर्षअघि श्रीमतीले इच्छाबेगर शारीरिक सम्बन्ध राखेको अभियोगमा गरेको उजुरको आधारमा पक्राउ गरेर अदालत पुर्याइएको हो । जाहेरी २०७६ जेठ ३१ गते कालिमाटीको महिला सेलमा दर्ता गरिएको थियो ।

यसअघि अष्ट्रेलियन नागरिक बनिसकेका उनी उता पनि विवादास्पद भएपछि अष्ट्रेलियन सरकारले कारबाही गरेको छ । तिम्सिना अष्ट्रेलिताबाट आउँदै गर्दा माघ ७ गते अध्यागमनमा समातिएका हुन् । लगत्तै उनलाई सोझै महिला सेलमा पुर्याइएको थियो ।

“उनी सिड्नी र पूरै अष्ट्रेलियामा पारपाचुके (डिभोर्स) गराउन प्रोत्साहित र माहिर वकिलका नामले प्रख्यात छन् ।”

प्रहरीले बयान र अनुसन्धानपछि उनीविरुध्द माघ १० गते जिल्ला अदालत,काठमाडौंमा मुद्दा दायर गरेको थियो । माघ १२ गते उनी एक लाख रुपैयाँ धरौटीमा छुटेका छन् ।उता अष्ट्रेलियामा पनि उनी कारबाहीमा परेको देखिएको छ । २ जुन २०२० मा अष्ट्रेलियाको आन्तरिक मन्त्रालयले उनको एउटा लाइसेन्स खोसेको छ । नक्कली कागजात बुझाएको आरोप लागेपछि उनले गर्दै आएको व्यवसायको प्रमाणपत्र रद्द गरिदिएको छ ।

अष्ट्रेलियामा आप्रवासनसम्बन्धी परामर्श प्रदान गर्नेहरुको नियमनकारी निकाय माईग्रेसन एजेन्ट्स रजिष्ट्रेसन अथोरिटी (मारा) ले तिम्सिनालाई लाइसेन्स लिनबाट ५ वर्षका लागि प्रतिबन्ध लगाइदिएको हो । माराले विभिन्न सेवाग्राहीहरुको उजुरीपछि सन् २०१६ देखि अनुसन्धान थालेर दुई वर्षअघि कारवाही गरेको हो ।

सन् २०१७ मा माराले आफ्नो आचरणको सम्बन्धमा अनुसन्धान शुरु गरेपछि,तिम्सिनाले माइग्रेशन एजेन्टको रूपमा दर्ता नवीकरण नगरी खारेजीको निवेदन दिएका थिए । सन् २०२० जुन २ मा अनुसन्धान सकाएर सरकारी निकायले उनलाई माइग्रेसन एजेन्टको रूपमा दर्ता गर्न प्रतिबन्ध लगाएको हो ।

खिलेन्द्रराज तिमल्सिनाले क्यानबेरा र नर्दन टेरिटोरी डार्बिनमा स्टेट स्पोन्सर भीसाका लागि आवेदन दिने क्रममा झण्डै एक दर्जन व्यक्तिको नक्कली कागजात पेश गरेको अभियोग लागेको थियो । उनको कारवाहीबारे माईग्रेसन एजेन्ट्स रजिष्ट्रेसन अथोरिटीको वेवसाइटमा विस्तृत रुपमा उल्लेख छ ।

उनले आफ्नै एकाउन्टेन्ट नेपाली युवकसँग पीआर दिलाइदिने प्रलोभनमा १५ हजार डलर लिएको र विभिन्न व्यक्तिलाई नक्कली प्रमाणपत्र दिलाइदिएको तथा कतिपयको रकमसमेत फिर्ता नगरेको आरोप लागेपछि अष्ट्रेलिया सरकारको सम्बन्धित निकायले आवश्यक कदम चालेको हो ।

एक पटक क्यानबेराको स्टेट स्पोन्सरशिपका लागि आवेदन दिँदा क्यानबेरामा बसोबास नै नगरेको व्यक्तिलाई समेत नक्कली कागजात पेश गराइदिएका थिए । यस्तो फर्जी काम गरिदिएवापत १२ हजारभन्दा बढी डलर लिएको सरकारी अनुसन्धानले पत्ता लगाएको हो ।

उनी सिड्नी र पूरै अष्ट्रेलियामा पारपाचुके (डिभोर्स) गराउन प्रोत्साहित र माहिर वकिलका नामले प्रख्यात छन् । त्यो कामको निम्ति तिम्सिनाले सन् २०१२ देखि ईपी माईग्रेसन नामक संस्था सञ्चालन गर्दै आएका थिए ।

टिप्पणीहरू