कालोमोसो दलिएका कर्मचारीले गृहमन्त्री गुहारे

कालोमोसो दलिएका कर्मचारीले गृहमन्त्री गुहारे

पछिल्लो समय नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा कार्यकर्ताले भ्रष्टाचारको आरोपमा सरकारी कर्मचारीहरुलाई कालोमोसो दल्न थालेपछि उनीहरुले गृहमन्त्री गुहारेका छन् । आज सिंहदरबारमा गृहमन्त्री बालकृष्ण खाँणलाई भेटेर उनीहरुले अमानवीय कार्यमा रोक लगाउन माग गरेका हुन् ।

राजनितिक नेतृत्व र अराजक समूहको नाममा कालोमोसो दल्ने प्रवृत्ति बढेपछि उनीहरुले गृहमन्त्रीको ध्यानाकर्षण गराएका छन् । नेपाल निजामती कर्मचारी युनियनले महोत्तरी, धनकुटा, बझाङ, पर्सा, सिन्धुपाल्चोक, सोलुखुम्बुलगायतका जिल्लामा कर्मचारीमाथि भएका आक्रमण र दुव्र्यवहारका घटनाका दोषीलाई कानुनी कारवाहीको माग गरेका छन् पछिल्लो समय विशेषतः प्राविधिक कर्मचारीहरु विप्लवसहितका समूहको आक्रमणमा परेको बताइन्छ । कतिपय कर्मचारीहरुमाथि घुस लिएको, विकास आयोजनाबाट कमिसन खाएको र ठेकेदार तथा जनप्रतिनिधिसँग मिलेर भ्रष्टाचार गरेको आरोप लगाइएको छ । डिभिजन वन कार्यालय पहलमानपुर कैलालीअन्तर्गतको सव–डिभिजन वन कार्यालय पचमुडियामा कार्यरत सहायक वन अधिकृत विश्वराज पण्डितलाई मोसो दलिएको छ ।

शिक्षा समन्वय इकाइ सोलुखुम्बुका सव–इञ्जिनियर पवनकुमार यादवलाई पनि विप्लव कार्यकर्ताले कार्यालयमै मोसो र जुत्ताको माला लगाएका हुन् । छलफलबाट समाधान गर्न सकिने विषयमा विप्लवका कार्यकर्ताले आक्रमण गरेको युनियनको ठहर छ ।

टिप्पणीहरू