राष्ट्रियसभामा एमालेलाई सात घाटा, राष्ट्रपतिबाट फालिएका फर्किए

राष्ट्रियसभामा एमालेलाई सात घाटा, राष्ट्रपतिबाट फालिएका फर्किए

पाँच दलीय गठवन्धनविरुद्ध एक्लै चुनावमा उत्रिएको नेकपा एमालेलाई राष्ट्रियसभामा सात सीट घाटा लागेको छ । रिक्त १९ सीटका लागि भएको निर्वाचनमा जम्मा एक ठाउँमा मात्र आफ्ना उम्मेदवार जिताउन सकेको एमालेले यसअघि जितेका सात सीट गुमाउनुपरेको हो।

राष्ट्रियसभाका रिक्त १९ सीटमध्ये आठ वटामा एमाले र बाँकी ११ वटामा सत्ता गठबन्धनका सांसदहरुको कार्यकाल सकिएको थियो । त्यसका लागि आज भएको निर्वाचनमा प्रदेश १ मा एक सीट बाहेक अन्यत्र कतैपनि एमालेले जित्न सकेन । सबैतिर गठवन्धनले अपेक्षित बाजी मार्दा प्रदेश १ मा भने एमालेले एक सीट जोगाएको हो ।

एमालेलाई सात सीट घाटा लाग्दा कांग्रेसले भने ३ सीट थपेको छ । त्यस्तै, एकीकृत समाजवादी र माओवादीले एक-एक सीट थप्दा जनमोर्चाले पहिलो पटक राष्ट्रियसभामा स्थान बनाउन सफल भयो ।

प्रदेश १ मा अल्पसंख्यकतर्फ एमालेका उम्मेद्वार साेनाम गेल्जेन शेर्पा विजयी भए । उनले गठबन्धनका साझा उम्मेदवार जनता समाजवादी पार्टीका हेमराज राईलाई पराजित गरेका हुन् । तीन सीटका लागि भएको निर्वाचनमा प्रदेश १ मा दुई जना गठवन्धनका उम्मेदवार विजयी हुँदा एक जना भने पराजित भए ।

खुलातार्फ़ एमाले उम्मेदवार गुरू बराल र कांग्रेसका गोपाल बस्नेतले बराबर मत ल्याएपछि गोलाप्रथाबाट विजयी घोषणा गरिएको थियो । तर, गोलाप्रथा हुँदा पनि एमालेको पक्षमा नतिजा आएन, बस्नेतले बाजी मारे ।

बस्नेत शेरबहादुर देउवा अघिल्लो पटक प्रधानमन्त्री हुँदा मनोनित कोटामा राष्ट्रियसभा सांसदका लागि सिफारिसमा परेका थिए । त्यतिबेला राष्ट्रपतिले अस्वीकार गर्दा सांसद बन्नबाट बन्चित बहेका उनी यसपटक भने गोला तानेर भएपनि विजयी भए ।

गठवन्धनसँग झिनो अन्तरको मतभार रहेकाले प्रदेश १ मा जित निकाल्न सकिनेमा एमाले आशावादी थियो । तर, आफ्नै केही सांसदले भोटक्रस गरेका कारण अरु दुई सीट गुमाउनु परेको एमालेका एक स्थानिय नेताले दाबी गरे ।

उनका अनुसार एमालेको दुई भोट समाजवादीकी जयन्ती राईतिर गएको थियो भने एक भोट राप्रपाका उम्मेदवारलाई गएका कारण बराल पराजीत भएका हुन् ।

यता, गण्डकी प्रदेशमा भने पाँच दलीय गठबन्धनका मतदाताले भोटक्रस गरेको पाइएको छ । तीन सीटका लागि भएको मतदानको अन्तिम मतपरिणाम आउँदा गठवन्धनका सात जनाले एमालेका उम्मेदवारलाई मत दिएको पाइएको हो ।

दुई सांसद र स्थानीय तहका पाँच जना प्रतिनिधिले एमालेलाई भोट दिए पनि गठवन्धनका उम्मेदवार नै बिजयी भएका छन् । भोटक्रसका बाबजुत गठवन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका कमला पन्त, माओवादी केन्द्रका सुरेश आले मगर र भुवन सुनार विजयी भएका हुन् ।

गण्डकीमा गठबन्धनका ३१ सांसद थिए । जसमध्ये २९ सांसदको मात्र गठवन्धनका साझा उम्मेदवारलाई मत परेको हो । त्यस्तै, स्थानीय तहका ९९ जनप्रतिनिधि रहेकोमा गठबन्धनका उम्मेदवारलाई जम्मा ९४ मत खसेको थियो ।

गठबन्धनविरुद्ध एक्लै चुनावी मैदानमा उत्रेको एमालेका २७ सांसद र ६९ जनप्रतिनिधीहरु थिए । जसमध्ये एमालेका उम्मेदवारले ७४ जनप्रतिनिधीको मत पाएका छन् ।

बागमतीमा पनि गठवन्धनका दुवै उम्मेदवारले जित दर्ता गरे । आज विजयी कांग्रेसका कृष्ण पौडेल पनि यसअघि राष्ट्रपतिबाट अस्वीकार गरिएका थिए ।

टिप्पणीहरू