पत्रकार कल्याणका लागि महासंघमा चाहिएको पवन अधिकारी ‘डक्ट्रिन’

पत्रकार कल्याणका लागि महासंघमा चाहिएको पवन अधिकारी ‘डक्ट्रिन’

-विराट अनुपम

पत्रकार महासंघबारे लेखक तथा कूटनीतिक मामिलामा कलम चलाउने पत्रकार कमलदेव भट्टराईको धारणासँग म सहमत छु । भट्टराईले कतै कुनै प्रसंगमा मलाई भनेका थिए, ‘यो पत्रकार महासंघ राजनीतिक गर्ने थलो भएकोले जिन्दगीभर व्यावसायिक पत्रकारिता गर्नेलाई खासै काम छैन । तर, हाम्रो छाता संगठन यही भएकाले यसलाई अस्वीकार गर्न पनि सकिन्न ।’

दलीय लाइनमा गठित पत्रकारका संगठनहरूको मौसमी गठबन्धनको बलमा बन्ने नेतृत्व नै नेपाल पत्रकार महासंघको नेतृत्व हो । यसमा नेपाली कांग्रेसको पत्रकारको संस्था नेपाल प्रेस युनियन, नेकपा (एमाले) को प्रेस चौतारी, नेकपा (माओवादी केन्द्र) को प्रेस सेन्टरलगायत संस्थाकै कि दयामाया पाएर प्यानलमा पर्नेहरूले नै जित्ने हो ।

गत चुनावमा पहिलोपटक प्रत्यक्ष चुनाव हुँदासमेत प्यानलकै आधारमा भोट गरियो । कतिसम्म भने मतदानस्थलमै प्यानलको सूची लिएर जान पाइने । भोटिङ केन्द्रमा पनि प्यानलका लिस्ट यत्रतत्र पाइने । यस्तो छ नेपालको पत्रकारितामा राजनीतिक दलको प्रत्यक्ष साइनो ।

यो प्रत्यक्ष साइनोलाई अझ बलियो बनाउने तर्क पाँचदलीय गठबन्धनका नेता माधव नेपाल र प्रचण्डले वक्तव्य दिएर बलियो बनाए । उनीहरूले आफ्नो गठबन्धनका पत्रकारले जितेको खुलेआम भाषण गरे । त्यसमा पत्रकारहरूले कुनै आपत्ति जनाएनन् । एमाले खासगरी केपी ओली पक्षधरको हार र कांग्रेस नेतृत्वको गठबन्धन पक्षधरको जितको रूपमा लिइयो ।

हुन त नेपालको पत्रकारका संस्थाहरूको सञ्चालनको क्रममा शुरुमा आमपत्रकारको छाता संगठनको रूपमा मात्रै नेपाल पत्रकार संघ हुँदै नेपाल पत्रकार महासंघ भएको थियो । कृष्णप्रसाद भट्टराईको नेतृत्वमा २०१२ चैत १६ मा गठन भएको नेपाल पत्रकार संघ खोलिएको थियो । त्यही पछि गएर नेपाल पत्रकार महासंघ २०५३ जेठ २९ मा बन्यो ।

दलहरूको आफ्नै पत्रकारका संस्था खोल्ने पहिलो नेतृत्व नेपाली कांग्रेसले गरेको थियो । बहुदल आएपछि ०४८ जेठ १३ मा नेपाल प्रेस युनियन खोलियो । युनियन खोलिएको आठ वर्षपछि नेकपा (एमाले)ले प्रेस चौतारी नेपाल २०५६ माघ २२ मा खोल्यो । माओवादीले २०६१ माघ २१ गते क्रान्तिकारी पत्रकार संघ खोल्यो जुन अहिले प्रेस सेन्टरका रूपमा परिचित छ ।

दलीय राजनीतिक छायाको विगत बताउन माथिको संक्षिप्त इतिहासले केही तथ्य र तथ्यांक दिन्छ । यस्तो विगत भएपछि महासंघका उपाध्यक्षलगायतले कांग्रेस महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी दिनुदेखि पत्रकार मृत्यु हुँदा प्रेस चौतारी अध्यक्षले देउवा सरकारको दोष दिनु सामान्य हो ।

यत्ति हुँदाहुँदै व्यावसायिक पत्रकारको हकहितका लागि पत्रकार महासंघलाई उत्तरदायी बनाउन भने सबैको पहलकदमी र आवाज आवश्यक छ । दलीय लाइन हुँदाहुँदै पनि आममहत्वको काम गर्न कसरी सकिन्छ भनेर पत्रकार महासंघबाट दिने उदाहरण त्यत्ति धेरै छैनन् ।

कोभिड कालपछिका दिन हेर्दा त झनै छैनन् भन्दा पनि हुन्छ । यो परिदृश्यमा प्रेस युनियन सुनसरीको काम भने गज्जब देखिएको छ । भन्नमा व्यानरले प्रेस युनियनको काम भनिए पनि यो अध्यक्ष पवन अधिकारीको काम हो । प्रेस युनियनको काम भएको भए देशभरका युनियन शाखाले यस्तै काम गरेका हुन्थे ।

सुनसरीमा पत्रकार महासंघ र प्रेस चौतारीदेखि प्रेस सेन्टर मात्र हैन नेपाल पत्रकार महासंघ प्रदेश १ समितिलाई समेत माथ खुवाउने पत्रकार कल्याणका काममा पवन अधिकारी नेतृत्वको प्रेस युनियन सुनसरीले गरेको छ । म यसलाई पवन अधिकारी डक्ट्रिन भन्न रुचाउँछु ।

नेपालका पत्रकारलाई उनीहरूको लोकल्याणकारी काममा अहिलेको खुला बजार र पुँजीवाद प्रयोग गरेर सरकारको मुख नताकी कसरी राम्रो काम गर्न सकिन्छ भन्ने नजिर अधिकारीले पेस गरेका छन् ।

सबैभन्दा पहिले उनले कोभिडकालमा गरेको कामको चर्चा गरौँ–

कोभिडकालको पहिलो लकडाउनताका पत्रकार फ्रन्ट लाइनमा थिए । आतंकित थिए । आर्थिक सुरक्षा थिएन । त्यही बेला अधिकारीले सुनसरीका सबै पत्रकारको आइएमई जनरल इन्स्योरेन्स कम्पनीसँग मिलेर निःशुल्क कोभिड बिमा गराए । प्रेस युनियनको ब्यानरमा भए पनि उनले सबै आस्थाका सबै पत्रकारको बिमा गरे ।

३० जना कोभिडपीडित पत्रकारले जनही एक लाखका दरले तीस लाख रकम पनि पाए । उनले अजोड इन्स्योरेन्ससँग समन्वय गरेर सुनसरीका क्रियाशील सबै पत्रकारको दुर्घटना बिमा गरे । चार दुर्घटनामा परेका पत्रकारले त्यो सुविधा लिए ।

यसले उनीहरूको उपचार र अन्य आवश्यक सहयोगमा धेरै काम गर्यो । कोभिडकालमै अधिकारीले ‘मोबाइल डाक्टर’ अभियान चलाएर सुनसरीका कोभिडग्रस्त पत्रकारको घरघरमा डाक्टर लिएर पुगे ।

कोभिडकालमै ‘फुड बैंक’ अधिकारीले नै खोले । ४४ जना विपन्न पत्रकारलाई सहयोग गरे । अधिकारी नेतृत्वका अरू पनि जायज पत्रकार कल्याणका कामहरू छन् । यस वर्ष पनि सुनसरीका सुनसरीभित्र र बाहिर हुने पत्रकारको दुर्घटना बिमा फारमको काम हुँदै छ । बिमा कार्यक्रममा देशका मूलधारका मिडियामा काम गर्नेदेखि राजधानीमा हुने पत्रकारसम्म सहभागी छन् ।

सुनसरीका प्रेस युनियन अध्यक्ष पवन अधिकारीले प्रेस युनियनमा नजोडिएका प्रेस युनियनमा एक पैसा कुनै पनि बहानामा पैसा नतिरेकालाई समेत कल्याणका कार्यक्रममा सहयोग गरे । वर्षौंसम्म हजारौँ तिरेर नेपाल पत्रकार महासंघको सदस्य भएकाहरूलाई समेत नेपाल पत्रकार महासंघले यी सुविधा दिन सकेको छैन । जबकि महासंघलाई सरकार तथा विभिन्न दातृ निकायको समेत अनुदान तथा सहयोग छ ।

महासंघको कोष आफ्नै पनि बलियो छ । यति हुँदाहुँदै महासंघले यस्ता काम गर्न सकिरहेको छैन । निजी क्षेत्रसँगको समन्वयमा पवन अधिकारी नेतृत्वको प्रेस युनियन सुनसरीले भने यस्तो काम गर्न सफल भएको छ । रातो कार्ड नभएका, नियुक्ति पत्र नपाएका तर पत्रकारिता क्षेत्रमा व्यावसायिक रूपमा सक्रिय पत्रकारलाई विभिन्न बाहानामा कल्याणका कार्यक्रममा नपारिएको भन्दै अधिकारी आफूले कुनै बहानमा कसैलाई सेवा नरोकियोस् भनेर यस्ता कार्यक्रम ल्याएको बताउँछन् ।

अधिकारीको योजना नेपाल पत्रकार महासंघले सिक्न सक्छ । खुला अर्थतन्त्रदेखि संघीयताको फाइदा भनेकै यस्तै हुन् । जस्तो जहाँबाट पनि राम्रो काम गरेर उदाहरण पेस गर्न सक्छ । अधिकारीले यस्तो पेश गर्न सफल भए ।

अफ कुनै ‘इफ’ र ‘बट’ नलाइकन महासंघले यस्तै कार्यक्रम आफ्ना सदस्यमा मात्र हैन सम्पूर्ण क्रियाशील पत्रकारको कल्याणका लागि ल्याउन सक्छ । ल्याउन सक्दैन भने महासंघ नेतृत्व पत्रकारको कल्याणका लागि नभएर राजनीति गर्न मात्रै गएको छाता संस्था भनेर पत्रकारहरूले भन्नेछन् । अरूले नभने पनि कम्तीमा सुनसरीका पवन अधिकारी नेतृत्वमा आएका कल्याणका कार्यक्रमबाट लाभान्वितहरूले भने पक्कै भन्नेछन् ।

टिप्पणीहरू