विप्लव कार्यकर्ताद्वारा भक्तपुरमा तोडफोड, काठमाडौंमा नाराबाजी

विप्लव कार्यकर्ताद्वारा भक्तपुरमा तोडफोड, काठमाडौंमा नाराबाजी

पेट्रोलियम पदार्थमा हालै गरिएको मूल्यवृद्धि खारेजीको माग राख्दै नेत्र विक्रम चन्द विप्लव नेतृत्व निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले आज पनि राजधानीमा विरोध प्रदर्शन गरेको छ । उनीहरुले काठमाडौंको प्रदर्शनीमार्गस्थित आरआर क्याम्पस अगाडि विरोध गरेका हुन् ।

‘सम्पूर्ण वामपन्थी, प्रगतिशील, देशभक्त तथा जनतान्त्रिक विद्यार्थीहरू एकजुट होऔं’ भन्ने मूल नाराका साथ उनीहरुले प्रदर्शन गरेका हुन् । आजको विरोध प्रदर्शन अखिल क्रान्तिकारीका काठमाडौं जिल्ला इञ्चार्ज रबिन केसीको नेतृत्वमा भएको हो ।

प्लेकार्ड बोकेका उनीहरुले वैज्ञानिक समाजवाद जिन्दावाद, पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि फिर्ता गर, जनतामारा सरकार मुर्दावाद, अखिल क्रान्तिकारी जिन्दावाद, एकीकृत जनक्रान्ति जिन्दावाद, बढ्दो महँगी खारेज गर, कालो बजारी नियन्त्रण गरलगायत नारा समेत लगाएका थिए ।

उता भक्तपुरमा विवादास्पद मेडिकल व्यवसायी सुनिल शर्माको दुवाकोटस्थित कलेजमा केहीबेर अघि क्रान्तिकारी विद्यार्थी संगठनका कार्यकर्ताले ढुंगामुढा गरेका छन् । उनीहरुले नाराबाजी गर्दै कलेजमा ढुंगा हानेका हुन् । ढुंगा प्रहरबाट कलेजको सिसा फुटेको छ ।

विद्यार्थीहरुले ‘सुनिल शर्मा मूर्दावाद’, ‘दलालहरु होशियार’, ‘सुनिल शर्मा देश छोड’, ‘मेडिकल माफिया मूर्दावाद’ जस्ता नारा लगाएका छन् ।

टिप्पणीहरू