हिमालय एअरलाइन्स : आईएसओप्राप्त पहिलो नेपाली एअरलाइन्स

हिमालय एअरलाइन्स : आईएसओप्राप्त पहिलो नेपाली एअरलाइन्स

नेपाल–चीन संयुक्त लगानीमा स्थापित निजी क्षेत्रको हिमालय एअरलाइन्स् नेपालमै सर्वप्रथम आईएसओ ९००१:२०१५ प्राप्त गर्ने पहिलो विमान कम्पनी बनेको छ । आईएसओले गुणस्तरीय व्यवस्थापन प्रणालीको प्रमाणीकरण गर्छ । एअरलाइन्स्लाई तोकिएको मापदण्डअनुरुप व्यवस्थित भएको कारण आईएसओ ९००१:२०१५ बाट प्रमाणिकरण गर्दै गत डिसेम्बर २९, २०२१ मै सम्मानित गरिएको हो ।

हिमालय एअरलाइन्स्ले हवाई यात्रुहरु तथा हवाई परिवहन सम्बन्धी स्तरीय सेवा र उड्डयन क्षेत्रसँग सम्बन्धित विविध तालीमलगायतका गुणस्तरीय सेवाप्रणाली व्यवस्था गरे वापत उक्त प्रमाणीकरणको प्रमाणपत्र प्राप्त गरेको हो । एअरलाइन्स्ले यसअघि २०२० को अगष्ट मै हवाई जहाजमर्मत–सम्भार तथा उड्डयन सम्बन्धी इन्जिनियरिङ्ग सेवावापतसमेत आईएसओ मान्यता प्राप्त गरिसकेको छ ।

आईएसओ ९००१:२०१५ प्रमाण–पत्र नम्बर 120057/A/0001/UK/En संयुक्त अधिराज्यस्थित ‘युनाइटेड रजिस्ट्रार अफ सिस्टम्स्’ र ‘युनाइटेड किंगडम एक्रिडिटेसन सर्भिस (UKAS)’ द्वारा प्रदान गरिएको एअरलाइन्सले जनाएको छ । व्यवस्थापन प्रक्रियाका सुक्ष्म आयाम र मापदण्डहरु पूरा गर्दै कम्पनीले सफलतापूर्वक परिक्षणका सबै प्रक्रिया पूरा गरेको र एअरलाइन्सको समग्र व्यवस्थापन प्रणाली वैधानिक एवम् नियामकतासम्बन्धी महत्वपूर्ण सबै मापदण्डअनुरुप भएको प्रमाणित गर्दै यो प्रमाणीकरणको आधिकारिकता प्राप्त गरेको एअरलाइन्सले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

आफ्नो व्यवस्थापकीय समूहलाई बधाई ज्ञापन गर्दै हिमालय एअरलाइन्स्का अध्यक्ष झो एन्योङ्गले आफ्नो कम्पनीले उक्त प्रमाणीकरण प्राप्त गर्नु अत्यन्तै गर्वको अवसर भएको प्रतिक्रिया दिएका छन् । उनले भने, ‘यो सामूहिक प्रयासको उत्कृष्ट प्रतिफल हो । यसबाट सेवा र सुविधामा स्तरीय व्यवस्थापनमा थप जोड दिन हौसला मिलेको छ ।त्यसैगरी एअरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठले हिमालय व्यवस्थापन टोलीका लागि उक्त प्रमाणीकरण एउटा उल्लेखनीय उपलब्धी भएको बताए । कम्पनीका सबै तहमा उच्चस्तरको कार्य प्रणाली अपनाउँदै र तिनलाई कायम राख्दै सम्बद्ध सबैको संयुक्त योगदान र प्रयासबाट हिमालयले आईएसओ प्रमाणीकरणको आधिकारिक पत्र प्राप्त गर्न सफल भएको उनको दाबी छ ।

हिमालय एअरलाइन्स नेपाल–चीन संयुक्त उद्यमका रुपमा सन् २०१४ अगस्टमा स्थापना भएको हो । यो अन्तर्राष्ट्रिय उडान सेवा उपलब्ध गराउँदै आएको नेपालको निजी वायुसेवा कम्पनी हो । ‘हिमालय’ शब्दले नेपालको पहाडहरुलाई संकेत गरेको उल्लेख गर्दै यसले मुलुकको नाम उँचो बनाउन प्रतिबद्धता जाहेर गरेको छ ।

हिमालय एअरलाइन्स्ले उच्च उडानका साथ नामअनुसारको अन्तर्राष्ट्रियस्तरको बनाउने आकांक्षा राखेको बताइन्छ । सुरक्षा, भरपर्दाे र समयमै सेवा उपलब्ध गराउने उद्देश्यका साथ स्थापित एअरलाइन्स्ले छोटो समयमा नेपालमा आफ्नो उच्च पहिचान कायम गरिसकेको छ ।

एउटा विमान र एउटा गन्तव्यबाट सञ्चालन सुरु गरेको एअरलाइन्स्ले छोटो अन्तरालमै चारवटा जहाजबाट सात गन्तव्यमा उडान भर्दै आएको छ । एअरलाइन्स्ले आफ्नो पहिलो उडान मे ३१, २०१६ मा कतारको दोहाको लागि भरेको थियो । त्यसपछि विभिन्न एसियाली मुलुकहरुमा सञ्जाल विस्तार गरेको छ । हाल हिमालय एअरलाइन्स्ले चीनको साथै अबुधाबी, दमाम, ढाका, दोहा, दुबई, क्वालालम्पुर र रियाधमा उडान सञ्चालन गर्दै आएको छ । साउदी अरेबियाको दमाममा ऐतिहासिक सञ्जालविस्तार गरेर साउदी अरेबिया र नेपाललाई जोड्ने हिमालय एअरलाइन्स् एक मात्र एअरलाइन्स् बनेको छ । त्यसैगरी चीनमा उडान भर्ने पनि एक मात्र नेपाली एअरलाइन्स् हिमालय भएको छ ।

हिमालय एअरलाइन्ससँग अहिले १८० इकोनोमी क्लासका सीट भएका तीन एअरबस् ३२०–२१४ सिरिज र एक एअरबस् ३१९–११५ एअरक्राफ्ट छन् । निकट भविष्यमा एअरलाइन्स्ले चीनको ल्हासालगायत दक्षिण एसियाका अन्य प्रमुख शहरहरूमा सेवा सञ्चालन गर्ने योजना रहेको बताइन्छ ।

व्यावसायिक रुपमा सेवा सञ्चालन सुरु गरेको एक वर्षमै हिमालय एअरलाइन्स्ले सन् २०१७ मा दक्षिण एसियाली ट्राभल अवार्ड (साटा) को ‘लिडिङ न्यू इन्टरनेशनल एअरलाइन्स् इन साउथएशिया’ अन्तर्राष्ट्रिय अवार्ड प्राप्त गरेको थियो । अगस्त २०२० मा प्रतिष्ठित क्वालिटी म्यानेजमेन्ट सिस्टम (क्युएमएस) सँग सम्बन्धित आईएसओ ९००१–२०१५ हासिलगर्न सफल भएको हो । हिमालयको कार्बन डाइअक्साइड उत्सर्जन डाटा ICAO मान्यताप्राप्त CORSIA मार्फत् शुन्य डाटा ग्याप र शुन्य निश्कर्षहरू प्रमाणित गरिएको थियो । जसले वायुमण्डलमा कार्बन फुटप्रिन्ट घटाउनको लागि सक्रिय रूपमा योगदान पु-र्याएको छ ।

टिप्पणीहरू