चौरजहारीमा नयाँ अस्पताल बन्ने

चौरजहारीमा नयाँ अस्पताल बन्ने

रुकुम पश्चिमको चौरजहारीमा एक सय शैयाको नयाँ अस्पताल बन्ने भएको छ । चौरजहारी नगरपालिका ३ मा अस्पताल निर्माणको लागि जग्गा प्राप्तीको काम भइसकेको नगरपालिकाले जनाएको छ ।

आर्थिक वर्ष २०७८÷७९ मा प्राप्त योजनामध्ये चौरजहारीमा अस्पताल निर्माणको योजना परेकाले कार्यान्वयनको निम्ति नगरपालिकाले प्रक्रिया सुरु गरेको हो । नगर प्रमुख विशाल शर्माको अध्यक्षतामा बसेको बैठकले अस्पताल निर्माणको लागि प्रस्तावित ३५ रोपनी नम्बरी र २५ रोपनी ऐलानी जग्गाको निरीक्षण तथा नापजाँचसमेत गरिसकेको छ ।नगरपालिकाले अस्पतालको सम्पूर्ण पूर्वाधार निर्माणका लागि प्रस्ताव तयार गरेर सिफारिस गर्ने जनाएको छ । जग्गा प्राप्तीको काम पूरा भएकाले अस्पताल निर्माणको काम यथासक्य अगाडि बढाउन संघीय आयोजना कार्यान्वयन इकाई, सुर्खेत र सहरी विकास तथा भवन निर्माण विभागसमक्ष अनुरोध गरिएको नगर प्रमुख शर्माले जानकारी दिनुभयो ।

हाल नयाँ अस्पतालका लागि निरीक्षण गरिएको वडा नम्बर ३ को स्थान यसअघि सञ्चालनमा रहेको चौरजहारी अस्पतालदेखि ३ किलोमिटर टाढाको दूरीमा पर्छ ।

टिप्पणीहरू