आइसोलेसनबाट ओलीको आरोप : राज्यका तीनै अंग संकटमा

आइसोलेसनबाट ओलीको आरोप : राज्यका तीनै अंग संकटमा

नेकपा एमालेले वर्तमान सरकारका कारण राज्यका तीनवटै अंग संकटग्रस्त बनेको आरोप लगाएको छ । सरकारको ६ महिने कार्यकाल र मुलुकको पछिल्लो अवस्थाबारे पार्टीको धारणा सार्वजनिक गर्दै अध्यक्ष केपी शर्मा ओलीले राज्यका तीनवटै अंगका प्रमुखको असफलताले देश असफल राष्ट्र बन्ने खतरामा पुगेको दाबी गर्नुभएको हो ।

कोरोना संक्रमण देखिएपछि पूर्वनिर्धारित पत्रकार सम्मेलन स्थगित गरेर वक्तव्य जारी गर्नुभएका ओलीले प्रधानमन्त्री,सभामुख र प्रधानन्यायाधीशमाथि व्यवस्था सिध्याउन खोजेको आरोप लगाउनुभएको छ । शक्ति पृथकीकरण र राज्यका अंगहरुबीचको सन्तुलन र नियन्त्रण खल्बल्याएर राष्ट्रलाई असफल बनाउन खोजिएको ओलीको जिकिर छ ।

मुलुकको अर्थतन्त्र,वाह्य सम्बन्ध र शान्ति सुरक्षाको अवस्था गम्भीर रुपले समस्याग्रस्त बनेको भन्दै वक्तव्यमा न्यायाधीश र केही नेताको स्वार्थका कारण परमादेशबाट सरकार गठन गरिएको उहाँले दाबी गर्नुभएको हो । अहिले त्यसको दुष्परिणाम प्रकट हुन थालेको भन्दै ओलीले न्यायाधीशहरुमाथि अवाञ्छित साँठगाँठ गरेको गम्भीर आरोपलाई दोहोर्याउनु भएको छ ।

ओलीले प्रधानमन्त्री,सभामुख र प्रधानन्यायाधीशमाथि व्यवस्था सिध्याउन खोजेको आरोप लगाउनुभएको छ ।

ओलीले सभामुख अग्नि सापकोटालाई प्रमुख प्रतिपक्ष दल फुटाउन भूमिका खेलेको विगतदेखिको आरोपलाई विज्ञप्तिमा उल्लेख गर्नुभएको छ । सभामुखले असंवैधानिक,असंसदीय र पदीय मर्यादा विपरितका काम गरेकाले अहिले संसद अवरोधको अवस्था बनेकोमा उहाँको निचोड छ ।

राष्ट्रिय हितको रक्षा गर्न चुकेको, महामारीमा अकर्मण्य बनेको र जनतालाई न्यूनतम राहत दिन असमर्थ भएकाले प्रधानमन्त्री देउवा असफल भएको ओलीले बताउनुभएको हो । अर्थतन्त्रका सबै सूचकहरुले अनिष्टको संकेत गरेको उहाँको भनाइ छ ।

जबकि गत असार २८ गतेसम्म ओलीले नै राज्य सञ्चालन गर्दै आउनुभएको थियो । उहाँको सरकारका अर्थमन्त्री डा. युवराज खतिवडाले तीन वटा आर्थिक वर्षको बजेट घोषणा गरेका थिए । गत जेठमा तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले बजेट घोषणा गर्नुभएको हो । ६ महिनाका आर्थिक परिसूचकले कसरी अनिष्टको संकेत गर्यो भन्ने सम्बन्धमा उहाँले केही पनि उल्लेख गर्नुभएको छैन ।

[pdf-embedder url=”https://sgp1.digitaloceanspaces.com/ahimages/janaaastha/uploads/2022/01/uml-1-converted-1.pdf-1-1.pdf” title=”uml-1-converted.pdf-1″]

टिप्पणीहरू