सिटी फुकेर पैसा सक्दै गंगादेव सरकार,कार्यक्रमबारे अधिकृत नै बेखबर

सिटी फुकेर पैसा सक्दै गंगादेव सरकार,कार्यक्रमबारे अधिकृत नै बेखबर

लुम्बिनी प्रदेश सरकारको महत्वाकांक्षी योजनाका रुपमा हेरिएको मुख्यमन्त्री शैक्षिक सुधार कार्यक्रमले बेथितिको थालनी गरेको छ ।

पूर्ववर्ती सरकारको ‘मुख्यमन्त्री ग्रामीण विकास तथा रोजगार कार्यक्रम’ प्रभावकारी नभएको आरोप लगाउँदै मुख्यमन्त्री कुलप्रसाद केसीको नयाँ योजनामा प्रदेश सरकारले सञ्चालनमा ल्याएको मुख्यमन्त्री शैक्षिक सुधार कार्यक्रमले बेथितिको सुरुवात मुख्यमन्त्रीको गृहजिल्ला रोल्पाबाटै गरेको हो ।

प्रदेश सरकारको विशेष अनुदानअन्तर्गत स्थानीय तहमा सञ्चालन हुने ‘मुख्यमन्त्री शैक्षिक सुधार कार्यक्रम’को कार्यविधि नबन्दै मुख्यमन्त्रीको गृहजिल्लास्थित गंगादेव गाउँपालिकाले पिटी (शारीरिक व्यायाम) सिकाउने नाममा प्रदेशको लाखौं बजेट खर्च गरिसकेको छ ।

कार्यक्रमको बजेट कुन शीर्षकमा कसरी खर्च गर्ने भन्ने तय नहुँदै उक्त गाउँपालिकाले निर्देशिकाबेगर विद्यार्थीहरुलाई पिटी सिकाउने नाममा मोटो रकम खर्च गरेर बजेट दुरुपयोग मात्र गरेको छैन, मुख्यमन्त्रीलाई ऐनासमेत देखाइदिएको छ ।कार्यक्रम सञ्चालनपूर्व प्रदेश सरकारबाट प्राप्त ६० लाख रुपैयाँ बजेट परिचालनका लागि योजना निर्माण गरी अनुमोदन गर्न जिल्ला व्यवस्थापन समिति र मुख्यमन्त्री संयोजक रहेको निर्देशक समितिमा पठाउनुपर्ने प्रावधानलाई मिचेर गाउँपालिकाले योजनाबिनै बजेट सिध्याउन खोजेको देखिएको हो ।

गाउँपालिकाका अध्यक्ष वीरबहादुर खत्रीका निकट मानिने कालिका मावि, बुटवलका खेलकुद प्रशिक्षक तथा पिटी शिक्षक हरिश वलीलाई प्रशिक्षक बनाएर गाउँपालिकाले कार्तिक ११, १२ र १३ गते विद्यार्थीहरुलाई पिटी सिकाएको विवरणमा उल्लेख छ ।

मुख्यमन्त्री शैक्षिक सुधार कार्यक्रमअन्तर्गत गाउँपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाले कार्यक्रम सम्पन्न गरेको महिनौं बितिसक्दा पनि गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत शालिकराम बस्नेत बेखबर भएका हुन् । बस्नेतलाई मोबाइलमा सम्पर्क गर्दा उनले कार्यक्रमबारे आफू बेखबर रहेको जानकारी दिए ।सुरुमा कार्यक्रमको योजना नै चयन नभएकाले कार्यक्रम कार्यान्वयनमा नगएको दाबी गरेका बस्नेतको ‘म्यासेञ्जर’ मा कार्यक्रमको व्यानरसहितको तस्बिर पठाएपछि कार्यक्रम भएकोबारे आफूलाई जानकारी नभएको बताएका हुन् ।

कार्यक्रम कार्यान्वयनको मुख्य जिम्मेवारी रहेका प्रमुख प्रशासकीय अधिकृत नै बेखबर भएर कार्यक्रम सम्पन्न गरेको गाउँपालिकामा अनियमितताको सुरुवात मात्र भएको छैन, सोही कार्यक्रमका लागि प्रदेश सरकारले निर्माण गरेको कार्यविधिको समेत खिल्ली उडाइएको छ ।

शैक्षिक गुणस्तर सुधार्ने प्रदेश सरकारको महत्वाकांक्षी योजनाका रुपमा रहेको मुख्यमन्त्री शैक्षिक सुधार कार्यक्रम जनप्रतिनिधिहरुको मनोमानी प्रदर्शन गर्ने माध्यम बन्दै गएको स्थानीयको आरोप छ ।

कार्यक्रम कार्यविधिलाई लत्याएर कार्यविधि बन्नुपूर्व नै पिटी प्रशिक्षणका नाममा बजेटको दुरुपयोग गरी गंगादेव गाउँपालिका अध्यक्ष वीरबहादुर खत्रीले आफ्नो मनोमानी प्रदर्शन गरेको आरोप लागेको हो ।

प्रदेशको शैक्षिक सुधार गर्ने लक्ष्यका साथ लुम्बिनी प्रदेश सरकारले चालू आर्थिक वर्षबाट सञ्चालनमा ल्याएको मुख्यमन्त्री शैक्षिक सुधार कार्यक्रम गाउँपालिका अध्यक्षहरुका आफन्त रिझाउने माध्यम बन्न थालेपछि कार्यक्रमको औचित्यमाथि नै प्रश्न चिन्ह उठाइएको छ ।

गंगादेव गाउँपालिकाका अध्यक्ष खत्रीले आफ्ना छिमेकी हरिश वलीलाई रिझाउन विद्यार्थीहरुलाई पिटी प्रशिक्षणका नाममा बजेटको दुरुपयोग गरेका हुन् । गाउँपालिकाको वडा नम्बर ६ स्थित जीवनज्योति माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई पिटी प्रशिक्षण कार्यक्रमको आयोजना गरिएको प्रगति विवरणमा उल्लेख छ । यसबाट अनेक हर्कत गरेर पटक पटक विवादित हरिश वलीको कमाई खाने माध्यम शैक्षिक सुधार कार्यक्रम बनेको छ ।

टिप्पणीहरू