जोर-बिजोर लागू नहुँदै सडक आधी खाली,मापसे चेकिङ्ग बन्द

जोर-बिजोर लागू नहुँदै सडक आधी खाली,मापसे चेकिङ्ग बन्द

कोरोना संक्रमणको जोखिम न्यूनीकरणका लागि सरकारले भीडभाडजन्य गतिविधिमाथि नियन्त्रण गर्न थालेसँगै काठमाडौँ उपत्यकामा सवारी चाप घट्न थालेको छ । कोरोना संक्रमितको दर निरन्तर उकालो लागिरहेका बेला उपत्यकामा चल्ने सवारीको संख्या घटेको हो ।

अत्याधिक जाम हुने कोटेश्वर, सातदोबाटो,माइतीघर, न्युरोडलगायतका सडक खुकुलो देखिन थालेको छ । सार्वजनिक यातायातमा यात्रुहरुको चाप पनि निकै कम छ ।

अफिस समयमा अधिकांश मुख्य सडकमा घण्टौ जाम हुन्थ्यो तर केही दिनयता मुख्य सडकखण्डमै जाम घटेको छ । अत्यधिक भीडभाड हुने ठाउँमा भीडभाडसमेत कम देखिन थालेको छ । सरकारले रात्रिकालिन व्यवसाय,डान्सबार,मनोरञ्जनात्मक क्षेत्र बन्द गर्ने निर्णय गरेयता भीड घटेको हो ।

महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रवक्ता सञ्जीव शर्मा दासले अहिले सडकमा गुड्ने सवारीसाधनको संख्यामा कमी आएको बताए । सवारीसाधन मात्र नभई धेरै भीडभाड हुने क्षेत्रमा पनि भीड घटेको उनको भनाइ छ ।

सार्वजनिक यातायातमा स्वास्थ्य मापदण्डको पालना प्रभावकारिताबारे अनुगमन भैरहेको पनि उनले बताएका छन् । मास्क नलगाउने दैनिक ३० देखि ३५ जना प्रहरीको कारवाहीमा परिरहेको पनि प्रवक्ता दासले बताए । कोरोनाको जोखिम बढेपछि ट्राफिक प्रहरीले मापसे चेकिङ भने छोडिदिएको छ ।

उपत्यकाका तिन जिल्लाको प्रमुख अधिकारीहरुको बैठकले आज राति १२ बजेदेखि उपत्यकामा चल्ने सबै प्रकारका सवारी साधनमा जोर-बिजोर प्रणाली लागू गर्ने निर्णय गरेको छ । कोरोनाको जोखिमलाई मध्यनजर गर्दै भिडभाड कम गर्न यस्तो निर्णय गरिएको हो ।

पछिल्लो २४ घण्टामा मुलुकभर १२ हजार तीन सय ३८ जनामा कोरोना संक्रमण देखिएको छ । जसमध्ये झन्डै आधा संक्रमित उपत्यकामा छन् ।

टिप्पणीहरू