पत्रकार महासंघमा कोरोना आतंक

पत्रकार महासंघमा कोरोना आतंक

नेपाल पत्रकार महासंघको केन्द्रीय समितिका पदाधिकारी र सदस्य गरी २२ जनालाई कोरोना संक्रमण भएको छ । अघिल्लो महिनाको अन्तमा कपिलवस्तुको तौलिहवामा डाकिएको केन्द्रीय समितिको पूर्ण बैठकमा सहभागी धेरैलाई कोरोनाले थला पारेको हो ।

हिजो साँझसम्म महासंघ अध्यक्ष विपुल पोखरेल,वरिष्ठ उपाध्यक्ष रमेश बिष्ट,राजीनामा दिएर फेरि सामेल उपाध्यक्ष बाला अधिकारी, उदय जीएम,महासचिव रोशन पुरी संक्रमित भइसकेका छन् । त्यसैगरी सचिवहरु,लेखा संयोजक र केन्द्रीय सदस्य गरी झण्डै दुई दर्जनमा कोरोना संक्रमण पुष्टि भएको छ ।

संक्रमित सबै होम आइसोलेसनमा बसेको बताइन्छ । यसबीच भएको बैठकमा गत मंसिरमा राजीनामा दिएकी उपाध्यक्ष बाला अधिकारी पुनः उपाध्यक्षको हैसियतले उपस्थित भएकी थिइन् । उनको उपस्थितिका कारण तौलिहवामा आयोजित बैठक प्रारम्भमै केहीबेर भाँडिएको थियो ।

काँग्रेसको महाधिवेशनमा सक्रिय सहभागी हुँदै आफूले महासंघको उपाध्यक्षबाट राजीनामा दिएको घोषणा गरेर पनि बैठकमा निसंकोच उपस्थित भएको भन्दै माओवादी निकट पदाधिकारी र सदस्यहरुले बैठक बहिष्कार गरेका थिए ।

अहिले काँग्रेसको महाधिवेशनमा भाग लिन महासंघको उपाध्यक्ष छाडेकी उनै अधिकारीसमेत तौलिहवाबाट फर्केपछि कोरोना संक्रमण भन्दै होम आइसोलेसनमा बसेकी छन् ।

टिप्पणीहरू