कार्की जर्साबको म्याद थपिए के हुन्छ,नथपिए के हुन्छ ?

कार्की जर्साबको म्याद थपिए के हुन्छ,नथपिए के हुन्छ ?

सामान्यतया: सुरक्षा निकायमा आन्तरिक विवादलाई बाह्य बहसको विषय बनाइँदैन । कतिपय अवस्थामा असन्तुष्टिहरु बाहिर आए पनि तत्काल हल हुने गरेको पाइन्छ ।

संगठनका आन्तरिक विवादलाई त्यहिँभित्र समाधान खोज्ने अभ्यास नेपाली सेनाले गर्दै आएको छ । तर, फौजको चेनअफ कमाण्ड नै बिथोलिने गरी उपरथी (मेजर जनरल) अनन्त कार्कीले आफ्नै चिफविरुद्ध हिजो प्रधानमन्त्री कार्यालय र रक्षा मन्त्रालयमा उजुर हालेपछि जंगीअड्डाको विवाद छताछुल्ल भएको छ ।

उपरथी भएर एक कार्यकाल काम गरिसकेका कार्कीको पदावधि अबको दुई हप्तामा सकिंदैछ । त्यसअघि नै कार्यकाल थप गराएर रथीमा बढुवा हुने रहर नाजायज पनि होइन ।

“कथँ सेनापतिको सिफारिस मन्त्री या क्याबिनेटबाट उल्टिएर आयो भने ती जर्नेल र उनका सर्वोच्च कमाण्डरवीचको समन्वय,सहकार्य कसरी जाला ? “

तर, प्रधानसेनापति प्रभुराम शर्माले कार्कीलाई छोडेर अरु दुई जनाको नाम सिफारिस गरेपछि उनी मरता क्या न करता भने झैं हारगुहार गर्दै कहिले बालुवाटार त कहिले सिंह दरवारको दैलो ढक्ढकाउन पुगेका हुन् ।

सेनापतिले आफ्नो म्याद थपनिम्ति सिफारिस नगरेकोविरुध्द मन्त्रालय जाने कार्कीको कदम फौजको चेनअफ कमाण्डविपरित त छँदैछ, साथै उनकै लागि प्रत्युत्पादक बन्ने खतरा पनि छ । कथम सेनापतिको निर्णय मन्त्री या क्याबिनेटबाट उल्टिएर आयो भने ती जर्नेल र उनका सर्वोच्च कमाण्डरवीचको समन्वय,सहकार्य कसरी जाला ?

जंगीअड्डाको सिफारिसका आधारमा मन्त्रालयले प्रक्रिया अघि बढाउने मात्रै हो । त्यसैले मन्त्रालयले जंगीअड्डालाई विवादबारे सोधपुछसम्म गरेपनि चिफको चाहना विपरित निर्णय गर्न नसक्ने भएकाले कार्कीको उजुरीको कुनै अर्थ नहुने जंगीअड्डातिर गाईगुँइ शुरु भैसकेको छ ।

“सेनापतिको सिफारिसविरुद्ध अदालत गएको भए सिफारिसमा परेका उपरथीद्वय सीताराम खड्का र ताराध्वज पाण्डेको पनि एकै लटमा काम रोकिने र अदालत बन्द भएको मौका छोपेर बेला घर्किई माघ २३ गते सबै जना घर जाने स्थिति पनि हुन्थ्यो ।”

आफूभन्दा कनिष्ठलाई पदावधि थपको सिफारिस गरिएको भन्दै न्यायिक उपचारको बाटोमा जाने विकल्प छोडेर मन्त्रालयमा कागज दिने कार्कीको कदमलाई सेनाभित्रै अनौठो मान्नेहरु पनि छन् ।

सेनापतिको सिफारिसविरुद्ध अदालत गएको भए सिफारिसमा परेका उपरथीद्वय सीताराम खड्का र ताराध्वज पाण्डेको पनि एकै लटमा काम रोकिने र अदालत बन्द भएको मौका छोपेर बेला घर्किई माघ २३ गते सबै जना घर जाने स्थिति पनि हुन्थ्यो । ‘यो भनेको कार्कीको अब म्याद थपिने सम्भावना सकिनु हो । सेनापतिलाई माइनस गरेर उहाँको पदावधि कसरी थपिन्छ ?’ जंगीअड्डा स्रोतले भन्यो ।

सेनापति प्रभुराम शर्मासँग विगतमा पंगा लिनुको परिणाम अहिले कार्की सिफारिसमा नपरेको भन्नेहरु पनि छन् । कार्की तत्कालीन सेनापति पूर्णचन्द्र थापाको अत्यन्तै निकट जर्नेलका रुपमा परिचित छन् । त्यतिबेला उनले थापासँग मिलेर शर्मालाई पेल्नु पेलेको सैनिक वृत्तमा ब्यापक चर्चा थियो ।

थापा चिफ हुँदा शर्मा सेकेण्डम्यान थिए । सेनामा सेकेण्डम्यानलाई हरेक निर्णयहरुको जानकारी गराउने अभ्यास रहँदै आएको छ । तर,कार्कीले त्यतिबेलाका चिफलाई उचालेर शर्मालाई कर्नरमा पार्न भूमिका खेलेको बताउने गरिएको छ।

नीतिमा हुँदा पूर्णचन्द्रसँग मिलेर त्यतिबेलाका सेकेण्डम्यान शर्मालाई थाहा नदिई बजेटसम्बन्धी ठूला योजनामा आफू खुशी गरेको आरोप कार्कीमाथि छ । त्यतिमात्र होइन, उपरथी कार्की आफ्नो आचरण र कार्यशैलीका कारण पनि विवादमा पर्ने गरेका छन् । पटक-पटक विवादमा पर्ने सैनिक अफिसरका रुपमा सेनाभित्र उनलाई चिन्ने गरिन्छ ।

“भक्तपुरको जग्गा काण्डमा उनको नाम मुछिएको थियो । त्यस्तै, प्रदेश १ का तत्कालीन मुख्यमन्त्री शेरधन राईको अगाडि उपरखुट्टी लगाएर चुरोट तानेको भन्दै ब्यापक आलोचना पनि भएको थियो ।”

भक्तपुरको जग्गा काण्डमा उनको नाम मुछिएको थियो । त्यस्तै, प्रदेश १ का तत्कालीन मुख्यमन्त्री शेरधन राईको अगाडि उपरखुट्टी लगाएर चुरोट तानेको भन्दै ब्यापक आलोचना पनि भएको थियो ।

आफ्नो स्वार्थका लागि अनावश्यक राजनीति गर्ने गरेको आरोप पनि छ कार्कीमाथि । केपी शर्मा ओली प्रधानमन्त्री हुँदा महेश बस्नेतसँग दोस्ती गरेर उनले अनेक चलखेल गरेको चर्चा उतिबेलै थियो । आफ्नै गाउँ गुन्डुवासी भएकाले पनि कार्कीलाई माथि तान्न बस्नेत खुलेरै लागेका थिए । त्यसको बलमा कार्कीले सेनामा दादागिरी चलाएको जंगीअड्डा स्रोतले बताएको छ ।

अहिले पनि जंगीअड्डामा पुरानै शासन चलाउन खोजेपछि उनी सेनापतिको रोजाइमा नपरेको दाबी गरिएको छ । स्रोतले भनेअनुसार जंगीअड्डामा पुरानै दादागिरी चलाउन खोजेपछि कार्की सिफारिसमा नपरेका हुन् ।

यता,कार्कीले भने आफूमाथि अन्याय भएको बताएका छन् । कनिष्ठलाई सिफारिस गरेर सेनापतिले आफूलाई अन्यायपूर्ण व्यवहार गरेको उनको जिकीर छ । यसबारेको जानकार स्रोतले एक कार्यकाल उपरथी भएर काम गरिसकेका कार्कीको पदावधि थप्ने या नथप्ने विषय संस्थाको तत्कालिन आवश्यकतामा निर्भर हुने भएकाले अन्यायमा परेको भन्नुलाई दुराशय भनेको छ ।

‘अर्को कार्यकाल थप्नै पर्ने कुनै बाध्यात्मक अवस्था छैन । किनभने यसबारे निर्णय गर्ने सम्पूर्ण अधिकार सेनापतिलाई हुन्छ । संस्थालाई आवश्यक पर्यो भने थप्ने हो’,स्रोतले भन्यो।

चिफलाई माइनस गरेर फौजको चेनअफ कमाण्ड तोड्न कार्कीका व्यवहारहरु उध्यत रहेकाले उनी सिफारिसमा नपरेको स्रोतको दाबी छ।

टिप्पणीहरू