डाक्टरी पढेका सँधै धर्नामा

डाक्टरी पढेका सँधै धर्नामा

चीनमा एमबीबीएस अध्ययन गरेका विद्यार्थीहरुले नेपालमा इन्टर्नशीप गर्न पाउनुपर्ने माग राख्दै धर्ना दिएका छन् । उनीहरुले चार दिनदेखि चिकित्सा शिक्षा आयोग, ठिमीमा धर्ना दिएका हुन् ।

‘हाम्रो भविष्यभन्दा आयोगको उपाध्यक्षको दम ठूलो हो ?’ भन्दै उनीहरुले आइतबारबाट धर्ना दिँदै आएका छन् । एमबीबीएस पूरा गरे पनि इन्टर्नशीप गर्न नपाएपछि उनीहरुले महिनौंदेखि प्रर्दशन गरेका हुन् ।

कोरोनाको बिगबिगीमा पनि उनीहरूले आयोगमा धर्ना दिइरहेका छन् । आयोगले प्रहरी परिचालन गरेर विद्यार्थीहरुलाई कार्यालय प्रवेशमा रोक लगाएको बताइएको छ ।आफूहरुले आयोग उपाध्यक्ष श्रीकृष्ण गिरीलाई भेटेर माग सम्बोधन गर्न ध्यानाकर्षण गराउन खोजे पनि प्रवेशद्वारमा प्रहरीहरुले अवरोध गरेको प्रहरीको आरोप छ । चीनमा अध्ययन गर्ने क्रममा सम्पूर्ण रकम बुझाइसकेकाले इन्टर्नशीपको लागि स्वदेशमा थप रकम तिर्नुपर्दा आर्थिक भार थपिने उनीहरुको गुनासो छ ।

उनीहरुले सरकारी अस्पतालमा वा सरकारी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा इन्टर्नशीपको अवसर मिलाइदिन आग्रह गरेका छन् । मन्त्रिपरिषद्द्वारा आयोगको उपाध्यक्षलाई सुम्पिएको कार्यभार अविलम्ब कार्यदल दल गठन गर्न माग गरिएको छ ।गत पुस १४ गतेको मन्त्रिपरिषद् बैठकले चिकित्सा शिक्षाको स्नातक तहमा चीनलगायतका मुलुकमा भर्ना भएका विद्यार्थीको हकमा बाँकी रहेको अध्ययन, प्रयोगात्मक अभ्यास र इन्टर्नशीप स्वदेशमा गर्न सैद्धान्तिक स्वीकृति दिने निर्णय गरेको थियो । तर, उक्त निर्णय कार्यान्वयन गर्न आयोगले चासो नदिएको विद्यार्थीहरुको आरोप छ ।इन्टर्नशीपको व्यवस्थापन नभएसम्म आन्दोलन जारी राख्ने चेतावनी विद्यार्थीहरुले दिएका छन् ।

टिप्पणीहरू