काँग्रेसमा कोरोना सल्कियो

काँग्रेसमा कोरोना सल्कियो

कोरोना भाइरसको संक्रमण तीब्र रुपमा बढिरहेका बेला सत्ताधारी नेपाली काँग्रेसका माथिल्लो तहका आधा दर्जन बढी नेता संक्रमति भएका छन् ।

पदाधिकारीहरुमा महामन्त्री विश्वप्रकाश शर्मा, ​सहमहामन्त्रीद्वय किशोरसिंह राठौर र महालक्ष्मी उपाध्याय (डीना)लाई कोरोना लागेको छ । त्यस्तै, हालै सम्पन्न महाधिवेशनमा महामन्त्रीमा पराजित नेताद्वय डा.प्रकाशशरण महत र प्रदीप पौडेल पनि संक्रमणमा परेका छन् ।

त्यसैगरी, नेतृ डा.डिला संग्रौला र उमा रेग्मीलाई पनि कोरोना देखिएको छ । यसअघि प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवाका प्रमुख स्वकीय सचिव भानु देउवालाई पनि कोरोना लागेको थियो।

पछिल्लो समय सरकारका मन्त्रीदेखि उच्च पदस्थ अधिकारीहरु कोरोनाको शिकार बनेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका मात्रै तीन सचिवसहित तीन दर्जनबढी कर्मचारी संक्रमित भएका छन् । सिंहदरबारभित्र सयौं उच्च तहका कर्मचारीलाई कोरोनाले समातेको छ । सर्वोच्च अदालतदेखि जिल्ला अदालतसम्म न्यायाधीश र त्यहाँ कार्यरत कर्मचारीहरु संक्रमित हुँदा सेवा अवरुद्ध भएको छ ।

देशभरका विभिन्न सरकारी कार्यालयमा कार्यरत कर्मचारीहरुलाई कोरोना लागेका कारण कार्यालय बन्द गर्नुपर्ने अवस्था बनेको छ भने जनप्रतिनिधिहरु संक्रमित हुँदा थुप्रै वडा तथा पालिकाका सेवा प्रभावित भएका छन् ।

पूर्वप्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललगायत विभिन्न पार्टीका शीर्ष नेता पनि संक्रमणमा परेका थिए । प्रमुख पार्टीका दोस्रो तथा तेस्रो तहका नेताहरु पनि धमाधम संक्रमणको शिकार बनिरहेका छन् ।

टिप्पणीहरू