पासपोर्ट बनाइदिनेहरु नै कोरोनाको पेलानमा,काममा कटौती

पासपोर्ट बनाइदिनेहरु नै कोरोनाको पेलानमा,काममा कटौती

परराष्ट्र मन्त्रालयको त्रिपुरेश्वरस्थित राहदानी विभागमा अस्तव्यस्त अवस्था उत्पन्न भएको छ । इ–पासपोर्टको शुभारम्भसँगै कोरोनाको नयाँ भेरिएण्ट अधिकांश कर्मचारीमा सरेअछि पासपोर्टको आवेदन,तयारी र वितरण प्रक्रिया नै अवरुद्ध भएको हो ।

विभागका अधिकांश कर्मचारी कोभिडको आशंकामा त्राहिमाम भएका छन् । झण्डै ७० जना कर्मचारी रहेको विभागमा हिजो दिउँसोसम्म अफिसर सविता नकर्मीलगायत १० जनामा पुष्टि भइसकेको छ । अरुलाई कन्ट्याक्ट ट्रेसिङमा पठाइएको छ । एउटा ठूलो हलमा काम गरेका कारण धेरै जना एकै पटक संक्रमित भएको बताइन्छ । उनीहरुको पनि रिपोर्ट पोजिटिभ आएको अवस्थामा कम्तिमा सात दिन आराम गर्न दिनुपर्ने हुन्छ । त्यसो हुँदा राहदानी वितरण प्रक्रिया थप अप्ठेरोमा पर्ने अवस्था सिर्जना भएको हो ।

विभागको ठूलो हलमा १७ जनाले राहदानीको काम गर्दै आएका छन् । मूलतः उनीहरुले फोटो खिच्ने र सेवाग्राहीसँग नजिक रहेर काम गर्नुपर्ने हुन्छ । अहिले त्यो काम मुश्किलले तीन जनाले गरेका छन् । त्यो पनि डराइ डराइ गर्नु परेकाले काममा कुनै तदारुकता नदेखिएको विभागको भनाइ छ । यतिखेर पहिले बुकिङ लिएकालाई मात्र राहदानीको निम्ति बोलाउन सक्ने अवस्था उत्पन्न भएको हो ।

“हलमा राहदानी आवेदकको मास्क खोलेर फोटो खिच्नुपर्ने भएकाले त्यो ठाउँ कोरोना उत्पादनको कारखाना जत्तिकै भएको हो ।”

विभागको उक्त हलमा राहदानी आवेदकको मास्क खोलेर फोटो खिच्नुपर्ने भएकाले त्यो ठाउँ कोरोना उत्पादनको कारखाना जत्तिकै भएको हो । कन्सुलर सेक्सनतर्फ भने मास्क लगाएर काम गर्न मिल्ने भएकाले कम जोखिम देखिएको हो । विभागतर्फ फोटो खिच्नुपर्ने भएकाले संक्रमणको सम्भावना बढेको हो ।

विभागको पछिल्लो कहालीलाग्दो अवस्थाको बारेमा मन्त्रीसम्म कुरो पुगे पनि खासै केही निर्देशन नआएको स्रोतले बताएको छ । अर्कोतर्फ, भद्रगोल पारा देखेपछि सेवाग्राहीले स्वास्थ्य मापदण्ड पालना नभएको भन्दै चर्को बिरोध र आलोचना गर्ने गरेका छन् ।

पछिल्लो अवस्थालाई ध्यानमा राखेर विभागले इमेलबाट कागजपत्र बुझ्ने व्यवस्था मिलाउने बारेमा पनि सोचेको बताइन्छ । तर,त्यसतर्फ खासै काम अघि बढेको छैन ।

संक्रमण फैलनुअघि विभागले दैनिक १ हजारदेखि ११ सय थानसम्म इ–पासपोर्ट वितरण गर्ने गरेको थियो । महामारीको भयावह अवस्थाका कारण उक्त संख्या घटेर आधामा सीमित हुने देखिएको छ । पछिल्ला दिन विभागमा तीन हजारभन्दा बढी सर्वसाधारणको ओहोरदोहोर देखिएको थियो । यता सरकारले २५ जनाभन्दा बढी एक ठाउँमा जम्मा नहुन निर्देशन दिएकाले थप भद्रगोलको अवस्था देखिन लागेको हो ।

टिप्पणीहरू