पहिले सडक ठप्प अफिस खुल्ला, अहिले अफिस बन्द अन्यत्र खुल्ला

पहिले सडक ठप्प अफिस खुल्ला, अहिले अफिस बन्द अन्यत्र खुल्ला

कोरोना महामारीको तेस्रो लहरका कारण विश्व पुनः एक पटक त्राहिमाम बनेको छ । विश्वका अधिकांश मुलुकमा महामारीबाट संक्रमित हुनेको संख्या तीब्र गतिमा बढिरहेको छ ।

नेपालमा पनि संक्रमणको दर तीव्र गतिमा अघि बढिरहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्कअनुसार मुलुकभर सक्रिय संक्रमितको संख्या झण्डै ३१ हजार पुगेको छ ।

संक्रमण बढ्दै गर्दा अधिक जोखिम देखिएका सरकारी कार्यालय र निकायहरु धमाधम बन्द हुन थालेका छन् । यसअघि पहिलो र दोस्रो लहरको महामारीको समयमा सर्वसाधारणलाई बाहिर निस्कन प्रतिबन्ध लगाइएको थियो । यस पटक भने त्यसको ठीक विपरीत अवस्था देखा परेको छ ।

पहिलो र दोस्रो लहरको संक्रमणमा सरकारले लकडाउन तथा निषेधाज्ञा जारी गर्दा कार्यालय तथा सार्वजनिक सेवाका कार्यालयहरु भने खुल्ला थिए । तर त्यहाँ जाने सेवाग्राहीको संख्या नगण्य देखिन्थ्यो ।

अहिले भने सरकारले हालसम्म निषेधाज्ञा जारी गरेको छैन । यदाकदा स्थानमा स्मार्ट लकडाउन भने पनि त्यसको कुनै पालना देखिँदैन । बरु सरकारले निषेधाज्ञा जारी नगर्दै केही कार्यालय र सरकारी निकायहरु बन्द हुन थालेका छन् । कर्मचारीमा संक्रमण देखिएको भन्दै धमाधम कार्यालयहरु बन्द गरिएका हुन् ।

अस्पतालहरुमा पनि चिकित्सक तथा स्वास्थ्यकर्मीहरुमा संक्रमण देखिएकाले अत्यावश्यक बाहेकका सेवा बन्द गर्न थालिएको छ । यस्तै, कर्मचारीमा कोरोना देखिएका सरकारी कार्यालय, पालिका, बैंक तथा सरकारी निकायहरु निषेधाज्ञा नहुँदै सीमित अवधिका लागि बन्द गरिएको छ ।

हालसम्म प्राप्त जानकारीअनुसार धरान उपमहानगरपालिकाको वडा नम्बर ११ र २० को कार्यालय बन्द भएका छन् । कर्मचारीमा संक्रमण देखिनुका साथै समुदायस्तरमा समेत संक्रमण बढेको भन्दै गत बुधबारबाट ती कार्यालय बन्द भएका हुन् ।

यस्तै, राष्ट्रिय वाणिज्य बैंक सुर्खेत शाखा, अर्घाखाँचीको सन्धिखर्क नगरपालिका, यातायात कार्यालय बुटवल, भेरी अस्पतालको ओपिडी सेवा, कोशी अस्पतालको ओपिडी सेवा, त्रिवि शिक्षण अस्पतालको आईसीयू वार्ड बन्द भएका छन् ।

महामारीको कारण देखाउँदै अर्घाखाँचीको सन्धिखर्क नगरपालिका तीन दिन, यातायात कार्यालय बुटवल चार दिनका लागि बन्द भएका हुन् । यसअघि भने पहिलो र दोस्रो लहरको महामारीका समयमा स्थानीय तह तथा सरकारी निकायहरु बन्द भएका थिएनन् ।

अस्पतालको हकमा भने यसअघि पनि चिकित्सकहरुमा संक्रमण देखिँदा अत्यावश्यक सेवा मात्र सञ्चालन गरिएको थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार भने यस पटक अस्पतालका सेवा बन्द नगर्न सबै अस्पताललाई निर्देशन दिइएको छ । तर, चिकित्सक तथा स्वास्थ्यकर्मी नै संक्रमित हुँदा अत्यावश्यक बाहेकका सेवा भने बन्द हुन थालेका छन् ।

टिप्पणीहरू