बागमतीलाई पराजित गर्दै पुलिस क्लब फाइनलमा

बागमतीलाई पराजित गर्दै पुलिस क्लब फाइनलमा

विभागीय टोली नेपाल पुलिस क्लब प्रधानमन्त्री (पीएम) कप टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आज कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको पहिलो सेमिफाइनलमा बागमती प्रदेशलाई ५० रनले पराजित गर्दै पुलिस उपाधि नजिक पुगेको हो ।

जीतका लागि १ सय ५६ रनको लक्ष्य पछ्याएको बागमती निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै १ सय ५ रनमा सीमित भयो । बागमतीका आदिल खानले सर्वाधिक २७ रन बनाएका छन् । कप्तान ज्ञानेन्द्र मल्लले २३ रनको योगदान गरे । पुलिसका दीपेन्द्रसिंह ऐरीले सर्वाधिक पाँच विकेट लिए । चार ओभर बलिङ गरेका दीपेन्द्रले १० रन खर्चिए । यस्तै सागर ढकालले दुई तथा आरिफ शेखले एक विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पुलिसले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर १ सय ५५ रनको विजय लक्ष्य प्रस्तुत गर्यो । पुलिसका ओपनर पवन सर्राफले अर्धशतकीय इनिङ खेले । पवनले ५४ बलमा तीन चौका र तीन छक्काको मद्दतमा ५९ रन बनाए । यस्तै दिलीप नाथले ३१ रन जोड्दा अनिल साहले २५ रन बनाए ।

बागमतीका नन्दन यादव र रिजन ढकालले समान दुई–दुई विकेट लिँदा प्रतिस जिसीले एक विकेट लिए । दोस्रो सेमिफाइनलमा एपीएफ र आर्मी भिड्नेछन् ।

टिप्पणीहरू