विश्व अर्थतन्त्र : अरुको सुक्यो, चीनको फुक्यो

विश्व अर्थतन्त्र : अरुको सुक्यो, चीनको फुक्यो

चीनको अर्थतन्त्रमा अभूतपूर्व उपलब्धी हात लागेको छ । कोरोना महामारीले विश्वका अधिकांश मुलुकको अर्थतन्त्र सुस्ताउँदा चीनको भने पछिल्लो दशककै सबैभन्दा राम्रो देखिएको हो । सन् २०२१ मा चीनको कूल गार्हस्थ उत्पादन सन् २०११ देखि यताकै सबैभन्दा बढी ८ दशमलव १ प्रतिशतले बृध्दि भएको छ ।

बेलायती समाचार संस्था रोयटर्सका अनुसार पश्चिमा सञ्चारमाध्यमहरुले एक वर्षअघि चीनको कूल गार्हस्थ उत्पादन बृध्दिदर ३ देखि ४ प्रतिशतको बीचमा रहने प्रक्षेपण गरेका थिए । विश्वको दोस्रो ठूलो अर्थतन्त्र भएको चीनले भने ६ प्रतिशतमाथिको बृध्दिदर लक्ष्य राखेको थियो ।

कोरोना महामारीमासमेत चीनले हात पारेको उल्लेखनीय आर्थिक प्रगतिले उसको गरिबी निवारण पूर्वाधार विकासमा थप सहयोग पुग्ने देखिएको छ । वर्षका अघिल्ला महिनामा खासै उत्साहजनक अवस्था नदेखिए पनि पछिल्लो त्रयमासमा उक्त अवस्था देखा परेको हो ।

चीनको उपभोग्य क्षेत्र र रियलस्टेटमा देखिएको मन्दीका कारण पश्चिमा अर्थशास्त्री तथा विश्लेषकहरुले कूल गार्हस्थ उत्पादनमा खासै प्रगति नहुने आकलन गरेका थिए । तर कोरोनाको कारण विश्वका सबै कलकारखाना र उत्पादनमा परेको असर चीनमा भने देखिएन ।

चीनले अघिल्लो वर्षको मध्यदेखि कृषि र औद्योगिक उत्पादनमा उल्लेखनीय बृध्दि गरेपछि उक्त अवस्था देखा परेको हो । चीनमा सन् २०२० मा पछिल्लो ४४ वर्षको सबैभन्दा कम आर्थिक बृध्दि २ दशमलव २ प्रतिशत भएको थियो । कोरोना महामारी शुरु भएको वर्षको तुलनामा अर्को वर्ष चीनले छलाङ्ग मार्दै ८ प्रतिशत नघाएको हो ।

टिप्पणीहरू