बतासको कति मात्रै गर्नु र बयान !

बतासको कति मात्रै गर्नु र बयान !

– वैकुण्ठ ढकाल

मौसममा पश्चिमी वायुको कुरा हुन्छ । रुढीवादलाई मान्ने हो भने काँचो वायुले बित्याँस पारेको कुरा निकै लामो हुन्छ । पशुपालक वायुकै अर्को रुप ‘बान’बाट हैरान छन् । बतासको असर नकारात्मक मात्रै छैन । बतासको अर्को रुप अक्सिजनविना सृष्टि चल्दैन । अक्सिजनको कुरा गर्नेबित्तिकै वन जोडिन्छ । वन भन्नेबित्तिकै धेरैको आँखामा तत्कालीन वन मन्त्री प्रेम आलेले अक्सिजनको सिलिण्डरमा टाँसेका आफ्ना तस्बिर सम्झिन्छन् ।

जतिबेला कोरोना संक्रमण उच्च गतिमा फैलिरहेको थियो, देशभर अक्सिजनको हाहाकार थियो, त्यतिबेलै आले अक्सिजन सिलिण्डरमा आफ्नो तस्बिर टाँसिरहेका थिए । कोरोना संक्रमितले अक्सिजन पाएका थिएनन्, उपचारका लागि अस्पतालमा बेड थिएन । कोरोनाका कारण दैनिक दोहोरो अंकमा नेपाली नागरिकले ज्यान गुमाइरहेका थिए । त्यही बेलातिर पशुपति आर्यघाट पुगेर उनै आले दाउरा अभाव हुन नदिने वाचा गरिरहेका थिए । यसले आलेको कति आलोचना भयो देख्ने–सुन्ने तपाईं–हामी नै हौं ।

अलि टाढा गयो भने धेरै कुरा भेटिन्छन् । त्यता नजाऔं, बतास समूहलाई नारायणहिटी संग्रहालयले त्यहाँभित्र बनिरहेको संरचना अघि नबढाउन पत्राचार ग¥यो । अहिलेका संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री प्रेमबहादुर आलेको निर्देशनमा पत्राचार गरिएको थियो । त्यही संग्रहालयले हो त्यसको एक दिनअगाडि बतास समूहलाई भाडा तिर्न पत्राचार गरेको । बतासको कुरा पत्याउने हो भने पत्राचार गरेको दिनै भाडा ति¥यो । अनि त्यसको भोलिपल्ट संरचनामा डोजर चल्यो ।

यसबाट बतास समूहलाई सरकारले सम्झौता गरेरै नारायणहिटी संग्रहालयको जग्गा भाडामा दिएको पुष्टि हुन्छ । अनि संग्रहालयमा निर्माणाधीन संरचना रोक्न पत्राचार गरेको दोस्रो दिनै डोजर चलाउँछ । हुन त अहिले नारायणहिटीभित्र स्थायी संरचना बनाउन पाइने थिएन बनाइयो, अनि भत्काइयो ।

उसोभए यत्तिका समय नारायणहिटी संग्रहालय के हेरेर बस्यो ? बतास समूहले त्यहाँ संरचना बनाउन थालेकै नौ महिना भइसकेको थियो । त्यो काम रोक्न मन्त्रीकै आदेश कुर्नुपर्ने किन ? त्यही बेलै निर्माण रोक्नुपथ्र्यो कि पर्थेन ? यही कुराले मन्त्री आलेको वाहवाही हुनुपर्ने अनि बतासले धेरैको गाली खानुपर्ने किन ? मन्त्री आले आफैंले भनिरहेका छन् यो पद त केही दिनका लागि हो भनेर ।

मन्त्री आलेले अहिले जे गरिरहेका छन्, त्यो एकदमै ठीक छ भन्ने तहबाट कुरा भइरहेको छ । आलेको देवत्वकरण गर्न लागि पर्नेहरूले बतासको राक्षसीकरण गरिरहेका छन् । वास्तविकता यही हो त ? बतासको नारायणहिटी प्रवेशले धेरै कुरा सतहमा ल्याइदिएको छ । नारायणहिटीको चर्चा सँगसँगै पशुपति धर्मशालाको कुरा आएको छ ।

रामघाटको कुरा आएको छ । मणिपाल अस्पतालको कुरा आयो । हुन त एक दिनमै सयौंको ठेक्का लाग्छ । त्यसमा एक दुई वटा ठेक्का बतासले पाउनु ठूलो कुरा भएन । त्यहाँमाथि ठेक्का पार्न के के गर्नु पर्छ भन्नेमा बतासले धेरै कुरा भनिसकेका छन् । कुरा जे–जे भए पनि अहिले प्रेम आलेचाहिँ दूधले नुहाएको र आनन्द बतासचाहिँ साह्रै खराब भन्ने जुन भाष्य बनाउन खोजिँदै छ त्यो कदापि उचित हैन ।

आले सिंहदरबारका लागि केही दिनका पाहुना हुन्, बतास स्थायी हुन् । सधैं चलिरहन्छ । आनन्द नभए अर्को बतास चल्छ, यसमा शंका भएन । सार्वजनिक कार्यक्रममा मन्त्री आले पर्यटन बोर्डका निलम्बित प्रमुख कार्यकारी अधिकृत धनञ्जय रेग्मीमाथि खनिए । आखिर रेग्मी खुला प्रतिस्पर्धाबाट सिइओ छानिएका हुन् । सिइओ छान्ने प्रक्रिया के थियो, त्यसको अन्तर्य के थियो । त्यसको पाटो पनि खुल्दै जालान् ।

यहीं अर्को प्रसंग पनि जोडिहालौं, शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले इञ्जिनियरलाई ढलको ढक्कन लगाउन जान्दैनन् भनेर इञ्जिनियरको खिल्ली उडाइन् । मन्त्रीले सनक देखाउने हैन, नीति बनाउने हो । त्यसमा आले मात्रै हैन सबैजसो मन्त्री चुकिरहेका छन् । यसले देशले जनताले दुःख पाइरहेका छन् । केहीअघि तत्कालीन स्वास्थ्यमन्त्री पद्माकुमारी अर्यालले वीर अस्पताल पुगेर सफाइ गरिन् । अनि हाम्रो मन्त्री क्या गज्जब भनेर धेरैले स्तुतिगान गाए ।

तर, त्यही वीर अस्पतालमा सरसफाइ कर्मचारीको आन्दोलनले महिनौंसम्म सफाइ रोकिएको पनि समाचार आए । कुनै बेला ऊर्जामन्त्री गोकर्ण बिष्ट विद्युत् महसुल नतिर्नेहरूको लाइन काट्न आफैँ दौडिए । त्यो बेला पनि बिष्टको स्तुति गान गाउने धेरै निस्किए । तर, अहिले पनि अर्बौं विद्युत् महसुल नतिर्नेहरूको सूची लामै छ । बत्ती काटेर समस्या समाधान नहुने रहेछ भन्ने देखियो । मन्त्रीहरू सस्ता स्टन्टबाजीमा मस्त भइरहने तर समस्या हल नहुने नियति छ । यसका लागि नेता, मन्त्री र सरकारी कर्मचारीले दोहोरो चरित्र त्याग्नेबित्तिकै धेरै समस्या समाधान हुन्छ ।

अहिले आनन्दराज बतास सञ्चारमाध्यममा बडो आत्मविश्वासी भएर आफ्ना भनाइ राखिरहेका छन् । मैले जे गरिरहेको छु त्यो ठीक छ । कुनै गल्ती गरेको छैन । सँगसँगै यो पनि भनिरहेका छन् । म ब्युरोक्रेसीमा खेल्न सक्छु, नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले मलाई ज्वाइँ भन्छन् । प्रधानमन्त्री शेरबहादुर देउवा नजिकका हुन् ।

बतास समूहको सल्लाहकार देउवापत्नी डाक्टर आरजू राणा देउवा छिन् । नेताहरूको नजिक हुँदा आफ्नो काम फत्ते गर्न सकिन्छ भन्ने कुरालाई बतासले पुष्टि गरिदिएका छन् । भलै ओलीले झापा पुगेर बतासलाई जवाफ दिएका छन् । प्रधानमन्त्री देउवा यस विषयमा केही बोलिसकेका छन् । हुन त देउवा केही नबोलेर धेरै कुरा गर्छन् ।

अनि रुपमा शेरबहादुर प्रधानमन्त्री भए पनि सारमा आरजू प्रधानमन्त्री हुन् भन्ने धेरै छन् । हुन पनि राज्यका महत्वपूर्ण निकायमा आरजूका व्यावसायिक साझेदार र स्वार्थ बाझिनेहरू नियुक्त भएका छन् । यसले सत्ता र व्यापार कसरी जोडिन्छ भन्ने देखिन्छ । यसले बतास र राज्य सञ्चालकको घाँटी कसरी जोडिन्छ भन्ने छर्लंग भइरहेको छ । बतासको कुरा जति गरे पनि सकिँदैन । अहिलेलाई यत्ति नै !

टिप्पणीहरू