पुसको ठण्डीमा संक्रमित पालमुनि

पुसको ठण्डीमा संक्रमित पालमुनि

बाजुरामा आइसोलेसन कक्ष नहुँदा कोरोना संक्रमितलाई पालभित्र राखिएको छ । कोल्टीमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा गरिएको एन्टिजेन परीक्षणमा संक्रमित फेला परेपछि उनलाई पालभित्र राखिएको हो ।

बुुढीनन्दा नगरपालिका–७ का ३१ वर्षका महेश कार्कीलाई एन्टिजेन परीक्षणमा कोरोना पुष्टि भएको थियो । एन्टिजेन परीक्षणबाट संक्रमित पुष्टि भएका कार्कीलाई आइसोलेसन कक्ष नहुँदा पालभित्र राखिएको छ ।

स्वास्थ्य परीक्षण भएको दिनदेखि अहिलेसम्म खुला चौरको चिसो पालभित्र रहेको उनले बताए । ‘घर जाउँ भने अपहेलना गर्छन, कोरोना भएको हल्ला बजारभरि छ’, उनले थपे । आफूलाई संक्रमण भएको जानकारी दिए पनि नगरपालिकाले वास्ता नगरेको उनको गुनासो छ ।

नगरपालिकासँग बस्न र लत्ताकपडाको व्यवस्था गरीदिन आग्रह गरे पनि उल्टै नगरपालिकाका कर्मचारीले थर्काउँदै आफैँलाई व्यवस्थापन गर्र्न भनेको कार्कीले बताए ।

नगरपालिकमा आइसोलेन कक्ष नहुँदा संक्रमितलाई अहिले आयुर्वेदको भवन नजिकैको पालभित्र राखिएको हो । इलाका प्रहरी कार्यालय कोल्टीले उपलब्ध गराएको पालमा आफू बसिरहेको संक्रमितले बताएका छन् ।

नगरपालिकाका स्वास्थ्य संयोजक जसी विकले भने नगरपालिकाले निर्माण गरेका आइसोलेसन कक्ष टाढा भएका कारण संक्रमित पनि बस्न नमानेको जानकारी दिएका छन् । त्यसैगरी स्वास्थ्यकर्मी पनि चेकजाँचका लागि टाढासम्म जान नमानेका कारण समस्या भएको उनको भनाइ छ ।

टिप्पणीहरू