पत्रकार जहाँ, जे पनि बन्न पाइन्छ

पत्रकार जहाँ, जे पनि बन्न पाइन्छ

-विराट अनुपम

कांग्रेसको चौधौँ महाधिवेशन आउनै लागेको थियो । संयुक्त राष्ट्रसंघको उच्च ओहोदाका एक जागिरे नेपालको एक चर्चित टेलिभिजनमा अन्तर्वार्ता दिन आए । भविष्यवाणी गरे– देउवाविरुद्ध दोस्रो चरणमा मोर्चाबन्दी हुन्छ । उनी सभापति हुँदैनन् ।

राजनीतिक ‘विश्लेषक’को उपमा पाएर गफिन आएका ती पुरुषको दाबी हावादारी ठहरियो । दोस्रो चरणमा देउवाविरुद्ध मोर्चाबन्दी भएन । बरु शेखर कोइरालाबाहेक सबै देउवा कित्तामै समाहित भए । देउवा दोस्रोपटक सभापति छानिए । चुनाव अगाडिको गलत भविष्यवाणी गरेकामा तिनले कुनै माफी मागेनन् । बरु उल्टै अर्को मिडियामा गएर आफ्नो अर्को खाले तर्क दिए ।

हालै एक राष्ट्रिय दैनिकमा अर्को अन्तर्वार्ता आयो । जसमा उनले नेपालमा कुनै प्रतिपक्षी नभएको गफ ठोके । मुद्दादेखि राजनीतिक विचारधाराको आधारमा सडकदेखि सदनसम्म फरक–फरक विचार भएका कैयौँ राजनीतिक शक्ति देखी–देखी उनले प्रतिपक्षी नभएको ठोकुवै गरे । त्यसो गर्दा उनी काम गर्ने संयुक्त राष्ट्रसंघको कुनै निकायको परिचय दिइएन । उनको परिचय उही सजिलो र सस्तो थियो– विश्लेषक ।

हुन त संयुक्त राष्ट्रसंघ वा भनाँै विश्वमा विभिन्न अन्तर्राष्ट्रिय निकाय र संस्थाले कस्तो स्तर राख्छन् भन्नेबारे असरफ घानी प्रकरणले पनि देखाउँछ । २०६३ मंसिर ५ मा नेपाल सरकार र विद्रोही माओवादीबीच विस्तृत् शान्ति–सम्झौता भएपछि नेपाल आएका उनले ०६४ मा नेपालमा द्वन्द्व रोकथामको सूत्र दिएका थिए । युद्धग्रस्त क्षेत्रमा शान्ति स्थापना ‘विज्ञ’ भनिएर आएका घानीले नेपाल सरकार, माओवादी र अन्य दललाई मिल्ने सूत्र सिकाए ।

आफ्नो सूत्र अंग्रेजी भाषाको साप्ताहिक नेपाली टाइम्स्को सन् २००७ अप्रिल २७– मे ३ अंकमा लेखेकै थिए । नेपालमा युद्धबाट उम्कने सूत्र दिएको ठीक चौध वर्षपछि तिनै ‘विज्ञ’ भनिएका घानी सन् २०२१ अगस्ट १५ को दिन काबुल छाडेर कुलेलम ठोके । देशलाई अभिभावकत्व दिनुपर्ने अफगान राष्ट्रपतिको गरिमा कायम राख्न सकेनन् ।

विदेशी निकायका कारिन्दाले गरेको विश्लेषण र विज्ञताको प्रयोगका यी दुई उदाहरण मात्रै हुन् । नेपालमा विश्लेषक, विज्ञ, विद्देखि चिन्तकजस्ता शब्दको यस्तै गरी दुरूपयोग हुने गरेको छ । र, यो दुरूपयोगको केन्द्रमा छन् मिडिया र पत्रकार । कोही राजनीतिमा लागेर फ्लप्ड भयो र यसो गफगाफ दिन सक्यो भने ऊ राजनीतिक विश्लेषक भयो ।

राम्रो एनजिओ वा आइएनजिओ अथवा दातृ निकाय वा भनौँ संयुक्त राष्ट्रसंघीय निकायको हाकिम छ र अलिअलि तर्क गर्न सक्छ भने ऊ विज्ञ र ऊ चिन्तक ठहरियो । अधिकारकर्मी र अभियन्ताको त योभन्दा झन् बिजोक छ । खासगरी पत्रकारसँग राम्रो हिमचिम भएका र पत्रकारलाई साथी बनाएर दिमाग भुट्न सक्नेहरू यस्ता कृत्रिम विज्ञ, चिन्तक, विश्लेषक भैदिँदा सार्वजनिक नेपालमा बौद्धिक शब्दकै बेइज्जति भएको छ ।

विदेशतिर ‘पब्लिक इन्टेलेक्च्युअल’ भनेर जस्ता व्यक्तिलाई मिडिया वा पत्रकारले स्थापित गर्छन्, त्यस्ता समकक्षी अनुहार नेपाली मिडियामा कम आउँछन् । जसरी कुनै कार्यक्रममा केही चन्दा दिएमा तत्काल ऊ ‘समाजसेवी’ बन्छ, त्यसैगरी कोही पत्रकारलाई चित्त बुझ्ने गफ दिएमा जो–कोही पनि नेपालमा ‘विश्लेषक’, ‘विज्ञ’ वा ‘चिन्तक’ बनिहाल्छ ।

सम्बन्धित विषयमा अखबारे र सामाजिक सञ्जालका सूचनालाई आफ्नो गफ मिसाएर मीठोसँग भन्न सकेकै आधारमा विश्लेषक, चिन्तक वा विज्ञ पद्वी पाउनेको गल्ती हैन । पाउने त आफू भएको भन्दा ठूलो अर्थात् ‘लार्जर दान लाइफ’ देखिएकोमा मख्ख पर्ने नै भयो । दिने पत्रकार र मिडियाको गल्ती हो ।

झन् रमाइलो त यो छ कि एकै व्यक्ति एक ठाउँमा विज्ञ हुन्छ । अर्को ठाउँमा चिन्तक । र, अर्कोमा विश्लेषक । भन्नेले त भनिगए । भनिनेहरूलाई पनि लाज लाग्नुपर्ने हो । आफैँलाई प्रश्न गर्नुपर्ने हो । विदेशी संस्थाको हाकिमदेखि कन्सल्ट्यान्सी गर्नेहरूलाई मास मिडियामा विश्लेषक, विज्ञ र चिन्तक भन्नु कत्ति जायज हो? निश्चित उद्देश्य प्राप्त गर्न बनेका त्यस्ता निकायमा बस्नेको भनाइ तटस्थ नभएर त्यही संस्था वा निकायको पक्षमा हुँदैन भनेर नपत्याउने आधार के छ? प्रश्न अनेकन छन् ।

टिप्पणीहरू