देउवा समूह बालुवाटारमै पराजित

देउवा समूह बालुवाटारमै पराजित

प्रधानमन्त्रीको सरकारी निवाससँगै जोडिएको मुलुकको केन्द्रीय बैंकमा प्रधानमन्त्री तथा नेपाली काँग्रेस सभापति शेरबहादुर देउवा समूह पराजित भएको छ । काँग्रेस निकट नेपाल वित्तीय संस्था कर्मचारी संघको १२ औं केन्द्रीय अधिवेशनमा कोइराला समूहले देउवा समूहलाई हराएको हो ।

हिजो भएको निर्वाचनको मत परिणामअनुसार देउवा समूहका सबैजना हारेका छन् । कोइराला समूहले तीन गुणा बढी मत ल्याएर विजयी भएको निर्वाचन समितिका एक जना सदस्यले बताएका छन् ।

परिणामअनुसार कोइराला समूहका राजीव शर्मा रेग्मीले २ सय ७० मत प्राप्त गर्दा देउवा समूहका तिलकबहादुर थिङले ८४ र महासचिवमा हरिकृष्ण भट्टराईले २ सय ३४ मत ल्याउँदा देउवा समूहका प्रविन सुवेदीले ८२ मत ल्याएका छन् ।वरिष्ठ उपाध्यक्षमा प्रशान्तवल्लभ पन्तले २ सय १३ मत ल्याएका छन् भने उनका प्रतिद्वन्दी गोविन्द कार्कीले १ सय ४३ र द्वितीय उपाध्यक्षमा कुमार पण्डितले २ सय ४५ मत ल्याउँदा देउवा समूहका शशीदेवी कर्णले १ सय ५ मत ल्याएकी छन् ।

उपमहासचिवमा कोइराला समूहका सञ्जिव बख्रेलले २ सय ४२ मत ल्याएका छन् । उनका निकटतम प्रतिद्वन्दी यमबहादुर रानाभाटले १ सय २ मत पाएका छन् । कोइराला समूहबाट सचिवमा रागिनी सिंह, कोषाध्यक्षमा ईश्वर गिरी र सदस्यमा १२ जना सबै सोही समूहले जितेको छ ।

नवनिर्वाचित अध्यक्ष रेग्मीले बैंकको उच्च व्यवस्थापनले राजनीतिक सुझबुझपूर्ण तवरले अघि बढेमा आफूहरुको संस्था हातेमालो गर्न तयार रहेको बताएका छन् । ‘तर, बैंकका सम्पूर्ण कर्मचारीलाई असर पर्ने विभागमा कनिष्ठ कर्मचारी राखेर तर मार्ने योजना बनाइएको हो भने त्यसलाई रोक्न सबै कर्मचारीको साथमा आन्दोलन गर्नुको विकल्प छैन,’ उनले भने ।

टिप्पणीहरू