ठूलाबडाबाटै मापदण्डको उल्लंघन, सरकारको आदेश सिंहदरबारको गेटमा धुलिसात

ठूलाबडाबाटै मापदण्डको उल्लंघन, सरकारको आदेश सिंहदरबारको गेटमा धुलिसात

भारतलगायत विश्वका अधिकांश मुलकमा कोरोनाको तेस्रो लहर शुरु भएसँगै अस्पतालमा बिरामीको चाप बढेको छ । नेपालमा पनि सर्वसाधारण र राजनीतिक दलका नेताहरुमा पनि संक्रमण देखिन थालेको छ । यसैबिच सरकारले सार्वजनिक स्थानमा २५ जनाभन्दा धेरै भेला हुन रोक लगाएको छ । तर, त्यसको २४ घण्टा नबित्दै देशका उच्चपदस्थ व्यक्तिबाट सरकारले जारी गरेको निर्देशनको उल्लंघन भएको छ ।

नेपालमा पछिल्लो समय कोरोना संक्रमितको संख्या एकाएक बढिरहेको छ । सोमबारको तुलनामा मंगलबार संक्रमणको दर करिब ८० प्रतिशतले वृद्धि भएको छ । मंगलबार दुई हजार चार सय ४४ मा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै हिजो ३ हजार ७५ कोरोना संक्रमण पुष्टि भएको छ । अझ त्योभन्दा डरलाग्दो त कुल संक्रमितमध्ये आधाभन्दा धेरै काठमाडौं उपत्यकामा छन् । यसरी हेर्दा धेरै भीडभाड हुने ठाउँ पनि काठमाडौं उपत्यका नै हो । सजगता नअपनाइए उपत्यकमा कोरोना महामारीको अवस्था भयावह हुनसक्छ ।

कोभिड– १९ संकट व्यवस्थापन समन्वय केन्द्र सिसिएमसिसीले आइतबार तीव्र गतिमा बढ्दै गएको संक्रमणप्रति सचेतना अपनाउन १३ बुँदे निर्देशनात्मक प्रस्ताव सरकारसमक्ष पेस गरेको थियो । त्यसलगत्तै सोमबार गृह मन्त्रालयले सार्वजनिक स्थानमा २५ जनाभन्दा धेरै भेला हुन रोक लगायो ।

मंगलबार उपत्यकाका तीनवटै जिल्लाका सिडिओहरूले पनि त्यही निर्देशनलाई अनुमोदन गरेर कार्यन्वयनका लागि पठाएका थिए । तर मंगलबार पृथ्वीनारायण शाहको तीन सयौं जन्मजयन्तीको अवसरमा सिंहदरबार अगाडिको मूल गेटमा राष्ट्रपति विद्यादेवी भण्डारी, पूर्वराजा ज्ञानेन्द्र शाहलगायत विभिन्न राजनीतिक दलका नेताहरुले स्वास्थ्य मापदण्डको धज्जी उडाउँदै हजारौंको भीड जम्मा गरिदिए ।

मंगलबार पृथ्वीनारायणको सालिकमा माल्यार्पण गर्न राष्ट्रपति भण्डारी सिंहदरबारमा सुरक्षागार्ड सँगै पुग्नुभयो । लगतै त्यहाँ उत्सव मनाउन सर्वसाधारणको भीड लाग्न थाल्यो । कोरोना जोखिमलाई ख्यालै नगरी राजनीतिक दलका नेता र सारोकारवालाहरुले बाग्लो भीड जम्मा पारेका थिए ।

पूर्वराजा ज्ञानेन्द्र शाह उपस्थित हुँदा उनका समर्थकको निकै ठूलो भीड जम्मा भयो । यति मात्रै होइन राप्रपाका नेता तथा कार्यकर्ताहरु नारा–जुलुससहित त्यहाँ पुग्दा गृह प्रशासनले जारी गरेका निर्देशन सिंहदरबारकै मुल ढोकामा धुलिसात भएको थियो ।

सार्वजनिक यातायातहरुमा पनि यात्रुहरुको उस्तै भीड देखिन्छ । सरकारले सिटभन्दा बढी यात्रु नराख्न आग्रह गर्दासमेत त्यो लागु भएको छै्रन ।

सिसिएमसीको सिफारिसअनुसार गृह मन्त्रालयले सोमबार नै यससम्बन्धी निर्णय गरी ७७ जिल्लालाई नै परिपत्र गरेको थियो । सोहीअनुसार उपत्यकाका तीनवटै प्रशासन कार्यालयले १८ बुँदे आदेश जारी गरी सावधानी अपनाउन आग्रह गरेका थिए ।

उपत्यकाका तीनवटै प्रशासन कार्यालयका प्रमुख तथा सुरक्षा अधिकारीको मंगलबार बसेको बैठकले स्वास्थ्य सुरक्षा सावधानीसहितका आदेश जारी गरेको थियो । प्रशासनले २५ जनाभन्दा बढी मानिसको उपस्थिति हुने गरी कुनै पनि किसिमको मेला, भेला तथा महोत्सव एवम् सामाजिकलगायतका काम गर्न नहुने भनेको छ । तर उक्त आदेश जारी भएकै दिन उच्चपदस्थ व्यक्तिहरूले नै यसको अवज्ञा गरेका छन् । उनीहरुले हजारौंको भीड जम्मा पारेर तामझामका साथ पृथ्वी जयन्ती मनाएका हुन् ।

प्रशासनको आदेशअनुसार घर बाहिर वा सार्वजनिकस्थलमा निस्कँदा सबैले अनिवार्य मास्कको प्रयोग गर्ने, भौतिक दूरी कायम गर्ने, साबुन पानीले हात धुनेलगायत स्वास्थ्य मापदण्डको पालना गर्न सबैलाई आग्रह गरिएको छ । उद्योग व्यवसायहरुमा समेत कार्यरत मजदुरलाई जनस्वास्थ्यका मापदण्ड अनिवार्य पालना गर्न निर्देशन दिइएको छ । त्यो पनि निर्देशनमा सीमित भएको देखिएको छ ।

यस्तै राजनीतिक, आर्थिक, सामाजिक, व्यवसायिक तथा अन्य गतिविधि सञ्चालन गर्दा स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्न भनिएको छ । सार्वजनिक ठाउँमा राजनीतिक तथा धेरै मानिस उपस्थित हुने गरी प्रशासनिक तथा सामाजिक कार्यक्रम नगर्न निर्देशनमा उल्लेख गरिएको छ । त्यो अधिकांशले कार्यान्वयन गरेको पाईंदैन ।

केही अत्यावश्यक कार्यक्रम गर्नु परेमा प्रशासनको अनुमति लिएर मात्र गर्ने सकिने व्यवस्था छ । माघ ७ गतेदेखि जिल्लाभित्रका सबै सार्वजनिक निकायमा सेवा प्राप्त गर्न खोप कार्ड अनिवार्यसमेत गरिएको छ । यसमा मोबाइलमा फोटोमात्रै भए पनि हुने प्रशासनले जनाएको छ । उक्त आदेश प्रभावकारी पालना गराउन सुरक्षा निकायबाट नियमित तथा आकस्मिक अनुगमन गरिने बताइएको छ ।

प्रशासनले उक्त आदेशको पालन नगरेमा संक्रमण ऐन २०२० अनुसार कारबाही गर्ने चेतावनी पनि दिइएको छ ।

टिप्पणीहरू