एमाले संखुवासभा अध्यक्षमा घिमिरे

एमाले संखुवासभा अध्यक्षमा घिमिरे

नेकपा एमाले संखुवासभाको अध्यक्षमा जीतबहादुर घिमिरे सर्वसम्मत निर्वाचित भएका छन् । दुई दिनदेखि मानेभञ्ज्याङको कृषि बजारमा जारी आठौँ जिल्ला अधिवेशनको बन्दसत्रले आज घिमिरेको नेतृत्वमा ९८ सदस्यीय जिल्ला कमिटी सर्वसम्मत चयन गरेको हो ।

जिल्ला कमिटी उपाध्यक्षमा कृष्ण तामाङ, सचिवमा खड्ग राई, उपसचिवमा ओङ्दावे भोटे र भरत खड्का चुनिएका छन् । उपसचिव खड्का माओवादी केन्द्रबाट केही दिनअघि एमालेमा प्रवेश गरेका हुन् ।

नेतृत्व चयनमा सहमति कायम गर्न हिजो र आज दुई दिनसम्म प्रयास गरिएको थियो । आज साँझ नेतृत्वको घोषणा गरिएको हो ।

सोमबारदेखि सुरु आठौं जिल्ला अधिवेशनमा एक हजार जनाभन्दा बढी प्रतिनिधिको सहभागिता रहेको थियो । नवनिर्वाचित पदाधिकारीहरूलाई आजै पद तथा गोपनीयताको शपथ गराइएको निर्वाचन समितिका प्रमुख भविश्वर गुरुङले बताए ।

टिप्पणीहरू