भिडभाड बन्द गर्न आदेश गरेका सिडिओ महोत्सवमा रमाउँदै

भिडभाड बन्द गर्न आदेश गरेका सिडिओ महोत्सवमा रमाउँदै

कोरोना भाइरस संक्रमणको जोखिम बढेको भन्दै जिल्लामा सञ्चालित मेला, महोत्सव बन्द गर्न आदेश दिएका चितवनका प्रमुख जिल्ला अधिकारी (सिडिओ) अस्मान तामाङ आज आफैं चितवन महोत्सव घुम्न पुगेका छन् ।

गत सोमबार सर्वदलीय बैठकको निर्णयअनुसार जिल्लामा सञ्चालन भएका र सञ्चालनको तयारीमा रहेका सबै मेला महोत्सव बन्द गर्न आफैँले जारी गरेको आदेशविपरित सिडिओ तामाङ महोत्सव हेर्न पुगेका हुन् ।

भरतपुर महानगरपालिकाकी प्रमुख रेणु दाहाल, उपप्रमुख पार्वती शाह, चितवनका प्रहरी प्रमुख एसपी ओमप्रसाद अधिकारीसहित उनी महोत्सवस्थल पुगेका थिए ।

यसअघि जिल्ला प्रशासनले चितवन महोत्सव सञ्चालन भइसकेकाले दुई दिन व्यवस्थापनको काम गर्न दिएर अरु सबै महोत्सव रोक्न आदेश गरेको थियो । रत्ननगर महोत्सव, खिचरा महोत्सव र देवघाटमा लाग्ने माघे संक्रान्तिको मेला नगर्न विज्ञप्तिमार्फत आदेश गरिएको थियो ।

मेला महोत्सव बन्द गर्न आदेश दिएर आफै महोत्सव घुम्न पुगेपछि सिडिओ तामाङको चर्को आलोचना भएको छ । विद्यालय बन्द गर्न हतार गर्ने प्रशासन महोत्सव सञ्चालनमा लचक देखिएकाे स्थानीयकाे आराेप छ । यति मात्रै नभएर सिडिओ, एसपी र जनप्रतिनिधि नै संक्रमण फैलाउन मेला महोत्सवमा सहभागी भएको गुनासो पनि स्थानीयको छ ।

त्यसो त, सिडिओ तामाङ बेला बखत यस्तै चर्चा र आलोचनामा परिरहने पात्र हुन् । केही दिन अघिमात्रै चितवनको एक माछा पसलेले आफ्नी श्रीमतीलाई महँगोमा माछा बिक्री गरेको भन्दै फ्रिज सिल गरी व्यापारीलाई धम्काएको आरोप उनीमाथि लागेको थियो ।

टिप्पणीहरू