‘मेडिकल कलेजका सञ्चालकलाई पक्राउ गर्नुपर्छ’

‘मेडिकल कलेजका सञ्चालकलाई पक्राउ गर्नुपर्छ’

विद्यार्थीको भविश्यमाथि खेलबाड गर्न खोज्ने नोबेल मेडिकल कलेजका सञ्चालकलाई पक्राउ गर्न माग गरिएको छ । शिक्षाजस्तो अत्यावश्यक सेवालाई आफ्नो चंगुलमा राखि विद्यार्थीको भविश्यमाथि अंकुश लगाउन खोजेको आरोप लगाउँदै विद्यार्थी संगठनले नोबेलका सञ्चालकहरुलाई कारबाहीको माग गरेका हुन् ।

चिकित्सा शिक्षा अध्यापन गराउने तीन कलेजले मापदण्डविपरीत बढी शुल्क लिएकोप्रति आपत्ति जनाउँदै विभिन्न सात विद्यार्थी संगठनले गृहमन्त्रीको ध्यानाकर्षणसमेत गराएका छन् ।काठमाडौं मेडिकल कलेज सिनामंगल, नोबेल मेडिकल कलेज मोरङ र मणिपाल मेडिकल कलेज कास्कीले बढी शुल्क लिएको र नोबेल मेडिकल कलेजले धम्कीपूर्ण शैलीमा शुल्क असुलेको भन्दै उनीहरूले संयुक्त रूपमा विज्ञप्ति निकाल्दै आपत्ति जनाएका हुन् । विद्यार्थीहरुमाथि देखाइएको दादागिरी र ठगीविरुद्ध कानुनबमोजिम कारबाही गर्न माग गरिएको हो ।

नेपाल विद्यार्थी संघ, अनेरास्ववियु, अखिल क्रान्तिकारीलगायत विद्यार्थी संगठनद्वारा जारी विज्ञप्तिमा सुरक्षा गार्डको भेषमा कलेजले गुण्डा राखी विद्यार्थीमाथि ढुंगामुढा गरेको आरोप लगाएका छन् । साथै, उनीहरुले विद्यार्थीलाई सुरक्षाको प्रत्याभूति दिलाउनसमेत माग गरेका छन् ।

टिप्पणीहरू