संक्रमणदर बढ्यो, काठमाडौं हटस्पट

संक्रमणदर बढ्यो, काठमाडौं हटस्पट

दुई साता अघिसम्म स्थीर रहेको कोरोना संक्रमण दर पुनः उकालो लागेको छ । त्यो बेलासम्म दैनिक तीन सयको हाराहारीमा रहेको संक्रमित संख्या आज दुई हजार बढीमा देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा मुलुकभर दुई हजार चार सय ४४ जना कोरोना संक्रमित भेटिएका छन् ।

१५ हजार ३३ जनामा नमूना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित भेटिएको हो । थपिएकामध्ये काठमाडौंमा मात्रै नौ सय ८० जना छन् । त्यस्तै, भक्तपुरमा ८५ र ललितपुरमा दुई सय २१ जना संक्रमित थपिएका छन् ।

यो अवधिमा तीन सय १३ जना संक्रमणमुक्त भएका छन् । हाल मुलुकभर कोरोना संक्रमण निको हुने दर ९७ दशमलव ५ प्रतिशत रहेको छ । योसँगै मुलुकभर अझै नौ हजार पाँच सय २२ जना सक्रिय संक्रमित छन् ।

कोरोनाबाट आजसम्म मृत्यु हुनेको संख्या ११ हजार छ सय सात पुगेको मन्त्रालयले जनाएको छ । आज कोरोनाको कारण एक जनाले ज्यान गुमाएका छन् ।

गत २४ घण्टामा थपिएका संक्रमितमध्ये छ सय ३६ जना युवायुवती छन् भने एक सय ७५ जना किशोर किशोरी हुन् । त्यस्तै, ११ वर्ष मुनिका ४० जना संक्रमित थपिएका छन् । ९७ जना वृद्धवृद्धामा कोरोना संक्रमण पुष्टि भएको छ ।

काठमाडौंमा आज दुई हजार छ सय ५५ जना सक्रिय संक्रमित छन् । त्यसैगरी, भक्तपुरमा छ सय ३३ र ललितपुरमा नौ सय जना संक्रमित छन् ।

टिप्पणीहरू