पत्रकारलाई तलब नदिने दुई सञ्चार गृहमाथि कारवाहीको चेतावनी

पत्रकारलाई तलब नदिने दुई सञ्चार गृहमाथि कारवाहीको चेतावनी

पत्रकारहरुलाई सेवा सुविधा नदिने सञ्चारमाध्यमका विरुद्ध नेपाल पत्रकार महासंघ संघर्षमा उत्रने भएको छ । अन्नपूर्ण पोष्ट दैनिक र इमेज च्यानल टेलिभिजनले श्रमजीवी पत्रकारलाई सेवा सुविधा नदिएको भन्दै महासंघले आन्दोलनको चेतावनी दिएको हो ।

महासंघले पत्रकारलाई सेवा सुविधा नदिएको भन्दै यी दुवै सञ्चारमाध्यमका विरुद्ध कानुनी लडाई लड्ने पनि बताएको छ । लामो समयदेखि श्रमजीवी पत्रकारहरुको सेवा सुविधाका सन्दर्भमा महासंघले पटक-पटक सम्वोधन गर्न गरेको आग्रह अटेरी गरेकाले यी दुवै सञ्चार गृहमाथि कानुनी र संघर्षका दुवै कार्यक्रम गर्न बाध्य भएको महासंघले जनाएको छ ।

संघर्षका कार्यक्रमअन्तर्गत पुस २८ गते दिउँसो १ः०० अन्नपूर्ण पोष्टको कार्यालय तीनकुने र दिउँसो ३ः०० बजे इमेज टेलिभिजनको कार्यालय लाजिम्पाटमा धर्ना दिने कार्यक्रम महासंघले तय गरेको छ । उपत्यका, प्रतिष्ठान प्रदेश समिति र तीनवटै जिल्ला शाखाका सदस्यहरुलाई धर्नामा उपस्थित हुन अनुरोध गरिएको छ ।

‘अन्नपूर्ण पोष्ट दैनिक र इमेज च्यानल टेलिभिजनमा लामो समयदेखि कार्यरत श्रमजीवी पत्रकारहरुको सेवा सुविधाका सन्दर्भमा महासंघले पटकपटक सम्वोधन गर्न पत्राचार गरेको थियो’, महासंघले भनेको छ,”उक्त आग्रह र धैर्यतालाई बेवास्ता गरिएकोले महासंघले श्रमजीवी पत्रकारहरुको हकहितका लागि महासंघ अब कानुनी र संघर्षका दुबै कार्यक्रम गर्न बाध्य भएको छ ।’

महासंघले यसअघि पनि श्रमजीवी पत्रकारलाई सेवा सुविधा नदिएको भन्दै विभिन्न सञ्चारमाध्यममा धर्ना दिएको थियो ।

टिप्पणीहरू