अर्घाखाँचीका युवा नेताले एमाले छाडे

अर्घाखाँचीका युवा नेताले एमाले छाडे

नेकपा एमालेमा प्रवेश गर्नेसङ्गै परित्याग गर्नेहरुको संख्या पनि थपिँदै गएको छ । नारायणीको तीरदेखि जिल्ला जिल्लाका अधिवेशनसम्म सर्वसम्मत नेतृत्व चयनका नाममा माथिबाट थोपरिएको भन्दै पार्टी परित्याग गर्नेहरुको भीड थपिएको हो । अर्घाखाँचीका युवा गोविन्द भुषाल तिनैमध्येमा पर्दछन् ।

पार्टीको महाधिवेशन तथा जिल्ला अधिवेशनसम्म आइपुग्दा पार्टीभित्र चरम चरम गुटबन्दी,व्यक्तिवादी मनोमानी,चरम अवसरवाद,नातावाद कृपावाद र नेतृत्वमा देखिएको निरंकुशतालगायतका प्रवृत्तिबाट आजित भई एक युवा नेताले एमाले राजनीतिबाट साधरण सदस्यसमेत नरहने गरी राजीनामा दिएका छन् ।

यसरी राजीनामा दिएर हिड्ने अवस्थामा पुगेका हुन् अर्घाखाँची जिल्लाका इञ्चार्ज गोविन्द भु्षाल । भुषाल नेकपा एमाले निकट रास्ट्रिय युवा संघ नेपालको केन्द्रीय कमिटी सचिवको भूमिकामा समेत रही पार्टी र संगठनका हितमा काम गर्दै आइरहेका थिए ।  हिजोमात्र सम्पन्न एमाले अर्घाखाँचीको आठौं अधिवेशनले पिताम्बर भुसाललाई अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित गरेको थियो ।

चितवनमा सम्पन्न महाअधिवेशन,सो अघि भएका पालिका महाअधिवेशनदेखि हिजो सम्पन्न जिल्ला महाअधिवेशनसम्म् आइपुग्दा पार्टीभित्र चरम गुटबन्दी,व्यक्तिवादी मनोमानी,चरम अवसरवाद ,नातावाद कृपावाद र नेतृत्वमा देखिएको निरंकुशताजस्ता प्रवृत्तिबाट हामी जस्ता इमान्दार र निष्ठावान नेता तथा कार्यकर्ताहरु एमाले पार्टी र यसका जनवर्गीय संगठनमा निरन्तर काम गर्न सक्ने अवस्था नदेखिएकाले आजका मितिदेखि राष्ट्रिय युवा संघ नेपालको केन्द्रीय सचिवलगायतका सम्पूर्ण जिम्मेवारीबाट राजीनामा गर्दै नेकपा (एमाले) को साधारण सदस्यसमेत नरहेको घोषणा गर्दछु ।

भुषालले सामाजिक सञ्जालबाटै राजीनामा ठोकेका हुन् । यसअघि जिल्ला अधिवेशनकै मुखमा सिन्धुपाल्चोकका पुराना कम्युनिष्ट नेता सुवास कर्माचार्यले सो पार्टीबाट विद्रोह गरेर निस्किएका छन् । उनी ठूलो दलबलसहित एकीकृत समाजवादी पार्टीमा समाहित हुने तयारी गर्दैछन् ।

यस्तै पाल्पामा पूर्वसांसद यादवबहादुर रायमाझीले एमालेबाट विद्रोह गरेर एकीकृत समाजवादीमा प्रवेश गरिसकेका छन् । एमाले सुनसरीका पूर्वइञ्चार्ज तथा पूर्वकेन्द्रीय सदस्य धर्मराज निरौलाले उसैगरी ओलीको साथ छाडेका छन् ।

डडेल्धुराबाट ताराप्रसाद जोशीले उसैगरी विद्रोह गरी एकीकृत समाजवादीमा समाहित भइसकेका छन् । नेतृत्वको तानाशाही शैलीका कारण हरेक जिल्ला जिल्लामा एमाले पार्टी त्यागेर हिड्नेको संख्या बढ्दै छ ।

टिप्पणीहरू