एमालेको लुम्बिनी अधिवेशनमा केन्द्रको ह्वीप टुहुरो

एमालेको लुम्बिनी अधिवेशनमा केन्द्रको ह्वीप टुहुरो

नेकपा एमालेको ७७ वटै जिल्लामा नयाँ नेतृत्वको निम्ति धमाधम अधिवेशन भइरहेको छ । शुक्रबार काठमाण्डौंबाट पार्टी अध्यक्ष केपी शर्मा ओलीले एकैसाथ भर्चुअल उद्घाटन गर्नुभएको थियो ।

अधिकांश जिल्लामा प्रमुख अतिथि बनेका नेताहरुले मञ्चमै बसेर प्रतिनिधिसँगै हलमा राखिएका टेलिभिजन स्क्रिनमा अध्यक्षको मन्तव्य सुने । करिब आधा घण्टा बोल्नुभएका अध्यक्षले पार्टीमा कसैमाथि अन्याय नहुने,नयाँ नेतृत्व प्रतिनिधिले नै चयन गर्ने,जिल्ला नेतृत्व चयन गर्दा नेताहरुले हस्तक्षेप नगर्ने आश्वासन दिनुभएको थियो । उहाँको भाषणपछि ७७ वटै जिल्लाका प्रतिनिधिहरुले ताली पिटेका थिए । उनीहरुले आगामी नेतृत्व आफूहरुले चयन गर्न पाइनेमा रमाउँदै खुशी साटे ।

तर रुपन्देहीमा त्यो खुशी ६ घण्टा पनि टिकेन । विष्णुप्रसाद पौडेल, घनश्याम भुसाल,छविलाल विश्वकर्मा,खिमलाल भट्टराई,राधा ज्ञवाली,लीला गिरी,भूमिश्वर ढकाल जस्ता प्रभावशाली नेताहरु समेत सहभागी भएको जिल्ला अधिवेशनको बन्दसत्रमा नेताहरुले उम्मेदवारी मनोनयनको लागि तालिकासहित निर्वाचन कार्यक्रम प्रकाशन गरिदिए । निर्वाचन कार्यक्रमअनुसार उद्घाटन सत्रको साँझ ४ सय ४० जनाले उम्मेदवारीको फर्म लगे । पदाधिकारीसहित १ सय ५१ सदस्यीय जिल्ला कमिटीको लागि धेरै युवाले तीब्र आकांक्षी हुँदै फर्म भरे ।

“त्यसपछि हलमा तालीभन्दा चर्को स्वरमा नाराबाजी भयो । नेतृत्वले स्वेच्छाचारी कदम चालेको,खल्तीका मानिसलाई सदस्य बनाएको, निरंकुश शैली अपनाएको भन्दै विशेषगरी युवाहरुले नारबाजी गरेका हुन् ।”

तर हिजो साँझ नेताहरु विश्वकर्मा, भट्टराई,ज्ञवाली,गिरी,ढकाल, शिवराज सुवेदीको रोहवरमा एमाले जिल्ला कमिटीको सर्वसम्मत नाम भन्दै १ सय ५१ जनाको घोषणा गरियो । अध्यक्षमा तेजेन्द्र के.सी,उपाध्यक्षमा जागेश्वर चौधरी,सचिवमा यज्ञ गैरे र उपसचिवद्वयमा हितराज पन्थी, चित्रबहादुर कार्कीसहितको नाम रहेको सदस्यहरु समेत घोषणा गरियो ।

तर त्यसपछि हलमा तालीभन्दा चर्को स्वरमा नाराबाजी भयो । नेतृत्वले स्वेच्छाचारी कदम चालेको,खल्तीका मानिसलाई सदस्य बनाएको, निरंकुश शैली अपनाएको भन्दै विशेषगरी युवाहरुले नारबाजी गरेका हुन् । नाराबाजीको कारण पुनः उम्मेदवारी दिएकाहरुलाई निर्वाचनमा जाने वातावरण बनाउने भन्दै निर्वाचन मण्डलले आश्वासन दिएपछि हिजै राति अबेर सबै प्रतिनिधि लाखापाखा लागेका हुन् ।

तर आज बिहानदेखि नेताहरुले घोषणा गरेको नाममा सहमति जनाउन प्रतिनिधिलाई चौतर्फी दबाब र प्रभावको कोशिस गरिएको छ । ती सबै प्रयास असफल भएपछि अहिले रातभर सर्वसम्मत भएको भन्दै बधाईको ओइरो थापेका,सामाजिक सञ्जालमा बधाईका रंगीन पोष्टहरुले छपक्क ढाकिएका अध्यक्षका उम्मेदवार तेजेन्द्र के.सी र सचिवका उम्मेदवार यज्ञ गैरेमाथि नैतिक संकट आइपरेको छ । सर्वसम्मत नहुँदै,निर्वाचन आयोगले घोषणा नगर्दै बधाई थापे पनि पुनः निर्वाचनमा होमिनुपर्ने अवस्था उत्पन्न भएको छ ।

सामाजिक सञ्जालमा केसीलाई सर्वसम्मत भनेर प्रचार प्रसार गरिए पनि निर्वाचन आयोगका अनुसार निवर्तमान अध्यक्ष पुरुषोत्तम घिमिरेले अध्यक्षमा उम्मेदवारी दर्ता गरेका छन् । सचिवमा खेम लुईंटेलले उम्मेदवारी दिएका छन् ।

एमाले रुपन्देही क्षेत्र नम्बर २ का संयोजक रहेका केसीभन्दा वरिष्ठ घिमिरे विगतमा अध्यक्ष ओलीले संसद विघटन गर्दा त्यसविरुध्द सडकमा उत्रिएका थिए । एमाले नेताहरु पौडेल,विश्वकर्मा,गिरीको जोडबलमा केसीलाई सर्वसम्मत अध्यक्ष बनाउने प्रयास भइरहेको छ । अध्यक्षका प्रत्यासी घिमिरे र सचिवका उम्मेदवार खेम लुईंटेल नेता घनश्याम र भोजप्रसाद श्रेष्ठ निकट मानिन्छन् ।

विगतमा ओली सरकारले गरेको संसद विघटनको विरुध्दमा लागेका एमाले नेताहरु यतिबेला रुपन्देहीको जिल्ला कमिटीबाट आउट हुने अवस्था देखिएको छ । उनीहरुलाई एमाले विरोधी भन्दै जिल्ला कमिटीको सदस्य समेत बनाउन नहुने एकपक्षीय नेताहरुको मत बनेको छ । भुसाल र श्रेष्ठ निकट नेता कार्यकर्तालाई रुपन्देही जिल्ला कमिटीका सदस्य नबनाउने गरी रणनीति तय भएको हो ।

शुरुमा क्लस्टरअनुसार जिल्ला सदस्य छान्ने गरी कार्यक्रम गरिएको बताइन्छ । अन्तमा अधिकांश बुटवलको भूगोललाई केन्द्रमा राखेर सदस्यको नाम घोषणा गरिएपछि असन्तुष्टी बढेको हो । हलमा रहेका केन्द्रीय नेताहरुको आदेशलाई नकार्दै प्रतिनिधिहरुले हिम्मतका साथ उम्मेदवारी दर्ता गराएका छन् ।

टिप्पणीहरू