पत्रकार महासंघमा पनि बतास,ओम्नी र यति ?

पत्रकार महासंघमा पनि बतास,ओम्नी र यति ?

केही पत्रकारलाई पुरस्कार वितरण गर्ने सहमति फेर्दै नेतृत्वले मिडिया अवार्डतिर लगेपछि नेपाल पत्रकार महासंघमा भाँडभैलो मच्चिएको छ । वरिष्ठ उपाध्यक्ष रमेश बिष्टले सामाजिक सञ्जालमा लामो स्टाटस हालेसङ्गै उक्त रहस्य बाहिरिएको हो ।

उनले सामाजिक सञ्जालमा, ‘केही दिनदेखि पत्रकार महासंघसमेत जोडिएको भनिएको मिडिया अवार्डसम्बन्धी समाचार,सामाजिक सञ्जालका पोष्ट र फोन कलले मथिङ्गल हल्लाएको,’ लेखेका छन् ।

महासंघमा केही पत्रकारलाई पुरस्कृत गर्ने,महासंघको कोभिड कोषमा सहयोग गर्ने र पुरस्कार वितरणमा महासंघले सामान्य संयोजन मात्र गरिदिने अनौपचारिक छलफललाई तोडमोड गर्नु र अवार्डमा परिणत गर्नुलाई बिष्टले गम्भीर भूल हो भनेका छन् ।

“कपिलवस्तुमा महासंघको बैठक गर्ने भनेर स्थानीय निकायलाई पत्र पठाई आर्थिक (चन्दा) उठाउन शुरू गरिएको रहेछ । बैठक गर्न जाँदा त्यसरी खर्च नै उठाउनु पर्ने भए राजधानीमा बैठक गरे हुँदैन ? यस्तै हो, भने महासंघको सदस्यताबाट बाई गर्नु पर्ने अवस्था नआउला भन्न सकिँदैन ।’

उनले आर्थिक संकलन वा सहयोग संकलनमा महासंघ कहिँ कतै संलग्न हुँदैन र त्यस्तो कामको पक्ष लिँदैन भन्ने कुरामा हामी पहिले नै प्रष्ट थियौं र छौं पनि भनेका छन् ।

उनको त्यही स्टाटसमा कमेन्ट लेखेका सञ्जय पन्थीले गम्भीर विषय उठाएका छन् । उनले भनेका छन्, ‘महासंघलाई केन्द्रमा मात्र नभएर मोफसलमा पनि खेती गर्नेहरूले बदनाम गराइरहेका छन् ।कपिलवस्तुमा महासंघको बैठक गर्ने भनेर स्थानीय निकायलाई पत्र पठाई आर्थिक (चन्दा) उठाउन शुरू गरिएको रहेछ । बैठक गर्न जाँदा त्यसरी खर्च नै उठाउनु पर्ने भए राजधानीमा बैठक गरे हुँदैन ? यस्तै हो, भने महासंघको सदस्यताबाट बाई गर्नु पर्ने अवस्था नआउला भन्न सकिँदैन ।’

पत्रकारलाई पुरस्कृत गर्ने र मिडिया अवार्ड प्रदान गर्ने कुरा नितान्त फरक रहेको बिष्टले स्वीकारेका छन् । उपाध्यक्ष बिष्टले कुनै व्यक्ति,गुठी वा संस्थाको सहयोगमा पुरस्कृत गर्ने कुरा सामान्य प्रचलन र अभ्यासमै हुँदै आएको उल्लेख गरेका छन् । त्यसलाई पुरस्कार वितरणको स्रोत व्यवस्थापनका रूपमा बुझिनुपर्ने उनको तर्क छ ।

तर व्यापारिक घराना,बैंक तथा वित्तीय संस्था,स्थानीय तह र सरकारी संस्थाहरुसँग रकम तोकेरै चन्दा माग्ने,महासंघको नाम,लोगो, पदाधिकारीको हस्ताक्षर प्रयोग गरेर दबाब दिने काम भएको गुनासो व्यापक रुपमै आएको बिष्टले बताएका छन् । ‘यदि यस्तो भएको हो भने यो अक्षम्य अपराध हो,’ उनले सामाजिक सञ्जालमा प्रष्टसँग लेखेका छन् ।

त्यस्तो नियम र कानुन विपरित गर्ने अधिकार महासंघको केन्द्रीय समितिलाई समेत नभएको अवस्थामा सामान्य सहकार्य गरेको भनिएको कम्पनीलाई कसरी भयो ? उनको प्रश्न छ ।

पैसो देखेपछि महादेवको तीन नेत्र भनेझैँ अहिले पत्रकार महासंघ फस्नै नपर्ने विवादमा फसेको उपाध्यक्षको आरोप छ । महासंघका आफ्नै एजेण्डा र प्राथमिकतामा थुप्रै कामहरु गर्न नसकिएको उनले स्वीकारेका छन् ।

तर,पुरस्कार वितरणको नाममा अवार्ड माफियाहरुले १३ हजार बढी पत्रकारहरुको छाता संस्थालाई सडकमा पुर्याएकोमा आफूलाई पीडा बोध भएको उनको भनाइ छ ।

महासंघको नेतृत्वप्रति व्यंग्य कस्दै बिष्टले, ‘मानिसको नियतलाई बुझ्न नसक्नु र महासंघलाई नै सही ढंगबाट बुझ्न र चिन्न नसक्नु हाम्रो ठूलो कमजोरी हो,’ भनेर स्पष्टसँग लेखेका छन् । बिष्टको पोष्टमा कमेण्ट गर्दै डिल्ली बसेलले पत्रकार महासंघमा पनि बतास,यति र ओम्नी समूह प्रवेश गराएकोमा उत्तरोत्तर प्रगतिको कामना लेखेका छन् ।

टिप्पणीहरू