सबै छक्क पर्ने गरी अवैध रकम तस्करी

सबै छक्क पर्ने गरी अवैध रकम तस्करी

मोटरसाइकलको टयाङ्कीभित्र लाखौं रुपैयाँ फेला परेको छ । एकाध हजार रुपैयाँको पेट्रोल अटाउने मोटरसाइकलको टयाङ्कीमा हिजो दिउँसो ३८ लाख ३५ हजार रुपैयाँ फेला परेको हो ।

भारतबाट नेपालतर्फ लुकाएर ल्याउँदै गरिएको उक्त पैसाको बिटो नम्बर २ छिन्नमस्ता बाहिनी महोत्तरी र बीओपी जटहीको संयुक्त टोलीले फेला पारेको हो ।

धनुषाको लक्ष्मीनियाँ गाउँपालिका १ का २३ बर्षीय अमितकुमार यादवले मोटरसाइकलको ट्याङ्कीमा लुकाएर ल्याउँदै गरेको उक्त रकम सशस्त्र प्रहरी बलले फेला पारेको हो ।

यादव सवार प्रदेश २–०२००१ प ०४७७ नम्बरको मोटरसाइकल धनुषाको नगराइन नगरपालिकास्थित जटहीमा जाँच गर्दा मोटरसाइकलको टयाङ्कीभित्र त्यति धेरै रकम फेला परेको थियो ।

रकम फेला परेपछि सशस्त्र प्रहरीले यादवलाई पक्राउ गरि जिल्ला प्रहरी कार्यालय धनुषामा बुझाएको हो । यता, जिल्ला प्रहरी कार्यालय धनुषाले भने पक्राउ परेका यादवलाई आफूहरुले अनुसन्धान गर्न नमिल्ने बताएको छ ।

जनआस्थासँग कुराकानी गर्दै धनुषाका प्रहरी नायव उपरिक्षक जितेन्द्रकुमार बस्नेतले यादवमाथि सोधपुछ तथा अनुसन्धान सीमा भन्सार कार्यालयले गर्ने बताउनुभयो ।

उहाँका अनुसार यादवले जस्तै अरुले पनि यसअघि मोटरसाइकलको टयाङ्कीमा रकम तस्कर गर्दै आएको हुनसक्ने आशंका गर्नुभएको छ । विरलै मात्रामा सुनिने यस्ता घटना आफूले पहिलो पटक सुनेको र देखेको उहाँले जानकारी दिनुभयो ।

यादवलाई सशस्त्रको टोलीले मोटरसाइकलको टयाङ्कीमा बिर्कोको सट्टा नटबोल्ट लगाएपछि शंका लागेर जाँच गर्दा ठूलो परिमाणमा स्रोत नखुलेको रकम भेटेको थियो ।

टिप्पणीहरू