पाँचदलीय गठबन्धनको झकिझकाउ,एमालेको सट्याकसुटुक

पाँचदलीय गठबन्धनको झकिझकाउ,एमालेको सट्याकसुटुक

-पूजा लम्साल

सत्ताधारी पाँचदलीय गठबन्धनका उम्मेदवारहरुले तामझामसहित उम्मेदवारी मनोनयन गराइरहँदा सुटुक्क उम्मेदवारी दर्ता गराउन निर्वाचन कार्यालय पुगेको नेकपा एमालेलाई राष्ट्रियसभामा जित हासिल गर्न निक्कै गाह्रो देखिएको छ ।

पहिले झापाका देवराज घिमिरे भनिए पनि पछि मोरङका गुरु बरालसहित झापाकी सुमित्रा भण्डारीले महिला र सोलुखुम्बुका ग्याल्जेन शेर्पाले अल्पसंख्यकमा एमालेबाट प्रदेश १ मा उम्मेदवारी दर्ता गराएका छन् ।

काँग्रेस, माओवादी,एकीकृत समाजवादी, जनता समाजवादी र संघीय लोकतान्त्रिक मञ्चको गठबन्धन बलियो भएको बताउन थालिएको छ । राप्रपाले अलग्गै उम्मेदवारी दर्ता गराएपछि आफैंले पहिले जितेको तीन सिटमा पुनः जित निकाल्न एमालेलाई धौ धौ पर्ने देखिएको हो ।

प्रदेश १ मा १ सय ३७ पालिकाका प्रमुख र उपप्रमुखमध्ये दुई जनाको मृत्यु भएकोले जम्मा २ सय ७२ जना मतदाता छन् । प्रदेश १ मा ४८ मतभार रहेका जम्मा ९२ जना प्रदेश सांसद छन । ९२ मध्ये एमाले ४१, राप्रपाको १, गठबन्धनमा रहेका काँग्रेसको २१ एकीकृत समाजवादीको १०, माओवादी केन्द्रको १५, जनता समाजवादीको ३ र संघीय लोकतान्त्रिक मञ्चको १ जना सांसद छन् ।

यसैगरी १८ मतभार रहेका २ सय ७२ जनप्रतिनिधिमध्ये एमालेका १ सय ४२ राप्रपाको ४ र गठबन्धनको १ सय २६ जना छन । प्रदेश १ मा जम्मा ३ सय ६४ जना मतदाताको जम्मा ९ हजार ३ सय १२ मतभार छ । जसमा एमालेको ४ हजार ५ सय २४, गठबन्धनमा रहेका दलहरुमध्ये काँग्रेसको २ हजार ७ सय २६, माओवादीको १ हजार ७ सय २६, एकीकृत समाजवादीको ६ सय ७८, जनता समाजवादीको २ सय १६, संघीय लोकतान्त्रिक मञ्चको ४८ सहित जम्मा ४ हजार ६ सय ६८ र राप्रपाको १ सय २० मतभार छ ।

प्रदेश १ मा गठबन्धनबाट काँग्रेसका झापा निवासी गोपालबहादुर बस्नेतले,एकीकृत समाजवादीबाट भोजपुरकी जयन्ती राईले महिला कोटामा र जनता समाजवादीबाट भोजपुरकै हेमराज राईले अल्पसंख्यक कोटामा उम्मेदवारी दर्ता गराएका हुन् । राप्रपाबाट झापाका अमर विष्टले अन्यबाट र झापाकै रञ्जु प्याकुरेलले महिला कोटामा उम्मेदवारी दिएका छन् ।

टिप्पणीहरू