प्रमुख दलहरुको महाधिवेशन कति स्वस्थ,कति अस्वस्थ ?

प्रमुख दलहरुको महाधिवेशन कति स्वस्थ,कति अस्वस्थ ?

सञ्जोग नै भनौं मुलुकका प्रायः सबै ठूला राजनीतिक दलहरुले यो वर्षलाई महाधिवेशन पर्वको रुपमा मनाएका छन् । एक महिनाको अवधिमा ठूला चार राजनीतिक दलले महाधिवेशन सम्पन्न गरेका छन् । यी महाधिवेशनमा चारखाले विविधता फेला परेको छ । पार्टीअनुसार महाधिवेशनमा देखा परेका विषयहरुले सर्वसाधारणसमेत चकित छन् ।

यो वर्ष नेकपा एमाले,माओवादी केन्द्र,नेपाली काँग्रेस र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आफ्नो महाधिवेशन सम्पन्न गरेका हुन् । नेपाल परिवार दललगायत संसदभित्र र बाहिर रहेका पार्टीहरु पनि महाधिवेशनको तरखरमा जुटेका छन् ।

तर,दलहरुले महाधिवेशन गरिरहँदा भने स्वस्थ र पारदर्शिता कतै पनि भेटिएको छैन । महाधिवेशनलाई पार्टीको सर्वोच्च निकायका रुपमा लिइए पनि स्वस्थता कायम हुन नसक्दा आफ्नै पार्टीभित्रका कार्यकर्ताहरुले खल्लो महसुस गरेको बताउँदै आएका छन् ।

महाधिवेशन प्रतिनिधिहरुको मुख्य जिम्मेवारी रहने समयमा पार्टीभित्र देखिएको टीके प्रवृत्तिले दलहरु महाधिवेशनको नियम र पध्दति विपरित गएको पाइएको विश्लेषकहरुले बताएका छन् ।

गत मंसिर १० गते चितवनमा सम्पन्न एमालेको १० औं महाधिवेशनको नेतृत्व चयन प्रक्रियालाई लिएर पार्टीभित्र र बाहिर चर्को विवाद सिर्जना भयो । महाधिवेशनमा केन्द्रीय कमिटी चयन गर्ने विषय स्वयम् पार्टी अध्यक्षको विशेषाधिकारमा रहन गयो । उक्त विशेषाधिकार विधान विपरित रहेको भन्दै दलभित्रैका नेताहरु असन्तुष्ट बने । अन्तिममा टीके प्रवृत्तिको चर्को आलोचना भएपछि केपी शर्मा ओली र नेता भीम रावलबीच प्रतिस्पर्धा भयो । पूर्णरुपमा लोकतान्त्रिक पार्टी बन्न एमाले चुके पनि डिजिटल भोटिङ गराउँदै ऊ प्रविधिमैत्री पार्टी बन्यो ।

यता,राजासहितको प्रजातन्त्रको पछाडि दौडिरहेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पनि आफ्नो पहिलो एकता सम्मेलन सम्पन्न गरेको छ । मंसिर १५ गते काठमाडौंको भृकुटीमण्डपमा शुरु भएको महाधिवेशनमा राप्रपा राजावादी पार्टी भए पनि पूर्ण लोकतान्त्रिक पार्टीका रुपमा परिचित भयो । महाधिवेशनअघि तीन टुक्रामा रहेको पार्टीले स्वच्छ प्रतिस्पर्धामार्फत राजेन्द्र लिङदेनलाई अध्यक्षमा चयन गर्यो । यद्यपि एकरुपताका साथ अगाडि बढ्ने भनिए पनि चुनावी प्रतिस्पर्धामा जाने क्रममा एकले अर्कालाई होच्याउने प्रवृत्तिहरु देखा परे ।

अन्ततः राजेन्द्र लिङदेन पार्टी अध्यक्षमा विजयी भएकामा पराजित पूर्वअध्यक्ष कमल थापा रुष्ट बने । महाधिवेशनपश्चात् पूर्व राजपरिवार र थापाबीचको विवाद ट्विटरमा सार्वजनिक हुनाले महाधिवेशनमा खटपट भएको भन्दै विज्ञहरुले औंल्याएका छन् ।

एमाले महाधिवेशनलाई ओलीवेशन भन्दै आएको नेपाली काँग्रेसले पनि आफ्नो १४ औं महाधिवेशन सम्पन्न गरेको छ । कैयौंपल्ट आफ्नो महाधिवेशन सार्दै आएको काँग्रेसले मंसिर २७ गते काठमाडौंको भृकुटीमण्डपमा महाधिवेशन सम्पन्न गर्यो । टीके प्रवृत्तिको सिको नगरेको काँग्रेस पूर्णरुपमा प्रतिस्पर्धामा गएर लोकतान्त्रिक पार्टी बने पनि प्रविधिको विकाससँगै हिँड्न भने सकेन । महाधिवेशनस्थलमा मतपेटिकाका रुपमा राखिएका अजंगका पानी ट्याङ्कीका कारण उसले आलोचना खेप्नु पर्यो ।

त्यस्तै, एमाले महाधिवेशनको प्रक्रियाभन्दा अघि सुरु भएको तर, ढिला सम्पन्न काँग्रेस महाधिवेशनमा विभिन्न अवरोध देखिए । स्थानीय तहका अधिवेशनदेखि नै अवरोध भएकाले पार्टीभित्रको गुट विवाद, क्रियाशील सदस्यता विवादलगायतका कारण केही जिल्लामा ढुंगामुढा प्रहार तथा गोली नै चलेको हो ।

रौतहट, सिन्धुपाल्चोक तथा पार्टी सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्लाबाट अधिवेशनको विरोध गर्दै पार्टी केन्द्रीय कार्यालयमा धर्ना तथा रिले अनसन भयो । रुपन्देहीमा देउवा र पौडेल पक्षबीच झडप हुँदा प्युठान र सर्लाहीमा महाधिवेशनकै क्रममा गोली समेत चल्यो । सोही कारण एमाले अधिवेशनलाई ओलीवेशन भन्दै गिज्याएको काँग्रेसको गोलीवेशन भयो भन्दै सामाजिक सञ्जालमा टिकाटिप्पणी नै भयो ।

अन्ततः काँग्रेस महाधिवेशनमा देखिएको लोकतान्त्रिक अभ्यासका कारण पार्टीभित्र कैयौं युवा पुस्ताले स्थान पाएको भन्दै उक्त विषयको सकारात्मक चर्चा भयो । तर गुटबन्दीका कारण पार्टी सभापतिमा देउवा पुनः निर्वाचित भएको विषयले आलोचना भने खेप्नुपर्यो ।

अन्य दलहरुले जस्तै, सत्ताधारी गठबन्धनमा आवद्ध अर्को राजनीतिक दल नेकपा माओवादी केन्द्रले पनि महाधिवेशन सम्पन्न गरेको छ । सुरुवाती चरणमा महाधिवेशन गर्ने वा प्रथम राष्ट्रिय सम्मेलन गर्ने भन्ने विषयमा अन्योलमा रहेको पार्टीले आठौं महाधिवेशनको पूर्वसन्ध्यामा उक्त निर्णय लिएको थियो ।

महाधिवेशन प्रतिनिधिहरुको व्यवस्थापनमा चर्चा कमाएको पार्टीले टीके प्रवृत्ति अपनाउँदा आलोचना खेपेको विज्ञहरुले बताएका छन् । लोकतान्त्रिक प्रणालीमा नजाँदा पार्टीले युवा पुस्ता पाउन नसकेको बताइएको छ । जसका कारण पार्टीभित्रैका केही नेता तथा कार्यकर्ताहरु रुष्ट रहेको बुझिएको छ ।

माओवादी केन्द्रको आठौं महाधिवेशनअन्र्तगत प्रदेश अधिवेशनमा पनि स्वस्थ प्रतिस्पद्र्या भएको पाइएन । लुम्बिनी प्रदेश अधिवेशनमा विवाद सिर्जना हुँदा हात हालाहालको अवस्था सिर्जना भएको हो । माओवादी केन्द्रले गत साता आठौं महाधिवेशन सम्पन्न गरेको हो ।

यसरी प्रमुख चार राजनीतिक दलका महाधिवेशनलाई हेर्दा कतै पनि स्वस्थ प्रतिस्पर्धा नगरेको र गरेको भए पनि विधानलाई कुल्चेर अस्वस्थ प्रतिस्पर्धाको दौडमा कुदेको विश्लेषकहरुको ठहर छ । उनीहरुका अनुसार महाधिवेशनमै चुक्ने अधिकांश राजनीतिक दलको परिपाटीका कारण सत्ता सञ्चालनमा गहिरो प्रभाव पर्दै आएको छ । पुराना नीति, विचार तथा चिन्तन हावी हुँदा देश विकासमा समेत नकारात्मक असर परेको हो भन्न सकिन्छ ।

टिप्पणीहरू