मनमोहनले थालेको काम, मिलाएरै जाम

मनमोहनले थालेको काम, मिलाएरै जाम

सरकारले यस वर्षदेखि पुस ११ गतेलाई राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका रूपमा मनाउन थालको छ । स्वर्गीय मनमोहन अधिकारी प्रधानमन्त्री भएका बेला ज्येष्ठ नागरिकलाई मासिक भत्ता वितरण गर्ने कार्यक्रम नै यस क्षेत्रको सबैभन्दा प्रगतिशील कदम थियो ।

संयुक्त राष्ट्रसंघको आह्वानमा सन् १९९१ देखि हरेक वर्ष अक्टोवर १ लाई अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको रूपमा मनाउने गरिन्छ । तथ्यांकले भन्छ– विश्वमा प्रत्येक सेकेण्ड दुई जना ६० वर्षे ज्येष्ठ नागरिकमा प्रवेश गर्छन् । अहिले ९० करोड हाराहारीमा रहेका ज्येष्ठ नागरिक सन् २०५० सम्म डेढ अर्ब पुग्ने प्रक्षेपण गरिएको छ ।

०५० पछि विश्वको कूल जनसंख्याको २२ प्रतिशत जनसंख्या ज्येष्ठ नागरिकको हुनेछ । १५ वर्षमुनिको उमेर समूहभन्दा ६० वर्ष उमेर समूहको जनसंख्या धेरै हुनेछ । स्वास्थ्य र जनचेतनामा सकारात्मक परिवर्तनका कारण नेपालीको सरदर बाँच्ने आयुदर वृद्धि हँुदै गएको छ । पूर्वाधार विकासका कारण शिक्षा, स्वास्थ्यमा जनताको पहँुच पुगेको छ ।

त्यसैले अकाल मृत्यु र कुपोषणबाट नेपाली समाज विस्तारै मुक्त हुँदै गएको छ । विज्ञान र प्रविधिको विकास तथा चेतनाका कारण जनसंख्या वृद्घिदर घट्नु र औसत आयु बढ्नुजस्ता कारणले ज्येष्ठ नागरिकको जनसंख्या बढ्दो क्रममा छ । त्यति मात्र होइन, चेतनास्तर वृद्धिसँगै व्यस्त जीवनका कारण पनि एक वा दुईभन्दा बढी सन्तान जन्माउन छाडिएको छ ।

राष्ट्रिय जनगणना २०६८ अनुसार नेपालको जनसंख्या वृद्धिदर २.१ प्रतिशत थियो भने ज्येष्ठ नागरिकको ३.४ प्रतिशत देखिन्छ । नेपालको जनसंख्याको ८.१३ प्रतिशत अर्थात् २५ लाखभन्दा बढी ज्येष्ठ नागरिक छन् । पुरुषभन्दा महिलाको संख्या उच्च छ ।

ज्येष्ठ नागरिकले आफ्नो जीवनकालमा संगालेका ज्ञान, सीप र अनुभव नयाँ पुस्ताका लागि मार्गदर्शन हुन् । नेपालमा ६० वर्ष उमेर पुगेका नागरिकलाई ज्येष्ठ नागरिक र ७० वर्ष उमेर पूरा गरेकालाई वरिष्ठ ज्येष्ठ नागरिकका रूपमा परिभाषित गरिएको छ । नेपालको संविधानको धारा ४१ मा ‘ज्येष्ठ नागरिकलाई राज्यबाट विशेष संरक्षण तथा सामाजिक सुरक्षाको हक हुनेछ’ भन्ने उल्लेख छ ।

तर, हाम्रो सन्दर्भमा बृद्धबृद्धाप्रति सन्ततिको कर्तव्यबोध र जिम्मेवारीको भावना क्रमशः ह्रास हुँदै गएको छ । सनातनबाट चल्दै आएको ज्येष्ठ नागरिकप्रतिको संरक्षण र सम्मानमा विचलन आउन थालेको छ । संयुक्त परिवारबाट एकल परिवारमा बस्ने चलन बढ्दै गएको परिवेशमा आर्थिक, सामाजिक र मानसिक रूपमा ज्येष्ठ नागरिक रमाउने वातावरणमा ह्रास आउँदै गएको महसुस हुँदै छ । पारिवारिक स्नेहबाट अग्रज विमुख हुँदै छन् ।

जुन बेला शारीरिक असक्तता, परनिर्भरता र आशामा बाँच्नुपर्छ त्यही बेला हेलाँ, घृणा र दुव्र्यवहारको सिकार बनेका घटना पनि नभएका होइनन् । अधिकांश ज्येष्ठ नागरिक बाल्यावस्थाजस्तै बृद्ध हुँदा पनि माया, ममता स्नेह र आधारभूत आवश्यकतामा परनिर्भर हुन्छन् । तर, यहाँ यसको उल्टो ज्येष्ठ नागरिक परिवारबाटै अपहेलित हुन पुगेका छन् ।

ज्येष्ठ नागरिकका इच्छा र चाहनामा कतिपयको ध्यान पुग्न सकेको छैन । दुःख, पीडा र हीनताबोधजस्ता निराशाजनक जीवन जिउन विवश बृद्धबृद्धाको संख्या बढ्दो छ । यसतर्फ गम्भीर हुनु जरुरी छ । काम गर्न सके सबैका प्रिय र नसके अपहेलित हुनु दुर्भाग्य हो । आजका बालक भोलिका ज्येष्ठ नागरिक हुन् भन्ने भुल्नु हुँदैन । हाम्रो पनि त्यही अवस्था आउँछ भन्ने सबैले हेक्का राख्नु जरुरी छ ।

ज्येष्ठ नागरिक एकातिर स्याहारसुसारको आवश्यकता महसुस गर्दै घरमै समय व्यतित गर्न बाध्य छन् भने अर्कोतिर शारीरिक, मानसिक अवस्थाका पीडा बोक्दै बसेका छन् । यस्तो अवस्थामा उनीहरूलाई सबैतिरबाट माया, प्रेम र सद्भावको खाँचो छ । ज्येष्ठ नागरिकमा उत्पन्न समस्याको समाधान आफ्नै घरपरिवारबाट मात्र सम्भव छ । ‘पितृ देवो भव’, ‘मातृ देवो भव’ को भावना घरघरमा जागृत हुन आवश्यक छ ।

ज्येष्ठ नागरिक ऐन तथा नियममा भएका कल्याणकारी प्रावधानको प्रभावकारी कार्यान्वयनका लागि घरपरिवार संघ, प्रदेश र स्थानीय तीनै तहका सरकारबीच सहकार्य र जिम्मेवारी बोध हुनुपर्छ । दिवा सेवा तथा दिवा मिलन केन्द्र, अशक्त स्याहार केन्द्रलगायत सामाजिक सुरक्षा कार्यक्रम सञ्चालन र सहकार्यमा सरकारी र गैरसरकारी संघसंस्थाको सद्भाव, सहयोग, सहकार्य र समन्वयमा मात्र ज्येष्ठ नागरिकका लागि गरिएको कल्याणकारी कामले सार्थकता पाउन सक्छन् ।

युवा पुस्ताले ज्येष्ठ नागरिकको सम्मान गरे मात्र आउँदो पुस्ताले पनि ज्येष्ठ नागरिकको सम्मान गर्ने हो । ज्येष्ठ नागरिक समाजका अमूल्य निधि र पथप्रदर्शक हुन् भन्ने नभुलौँ र सम्मान गर्न नचुकौँ ।

– लेखनाथ खतिवडा शिकारु

 

टिप्पणीहरू